भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबीमार्फत २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको हो।
यसअघि बीमा प्राधिकरणले नै करिब २५ अर्बको बीमा दाबी परेको तथ्यांक सार्वजनिक गरेको थियो अहिले भने कम्पनीहरुमा परेको दाबी तथ्यांकलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीले बताइन् ।
बाढीबाट ठूलो परिमाणमा भौतिक संरचना, सवारीसाधन र जलविद्युत् आयोजनामा क्षति पुगेपछि परेको यस दाबीमध्ये हालसम्म बीमकहरूले अग्रिम (पेश्की) समेत गरी जम्मा ६७ लाख ४८ हजार रुपैयाँ मात्र भुक्तानी गरेका छन्।
सम्पत्ति बीमामा सबैभन्दा धेरै रकमको दाबी, संख्यामा मोटर बीमा अगाडि
बीमालेखको प्रकारअनुसार रकमका आधारमा सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमातर्फ ५१८ वटा दाबीमार्फत ९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति दाबी गरिएको छ, जसमा हालसम्म ३८ लाख १४ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।
त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम (सीएआर) बीमातर्फ १६५ वटा दाबीबाट ४ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ बराबरको क्षति मूल्याङ्कन गरिएको छ।
दाबी संख्याका आधारमा भने मोटर बीमा सबैभन्दा अगाडि देखिएको छ। बाढीले सवारीसाधन बगाएको र क्षति पुर्याएको भन्दै १ हजार ६६ वटा मोटर बीमाको दाबी परेको छ, जसको रकम ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ बराबर छ। मोटर बीमातर्फ २४ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ।
यसबाहेक, परिवहन (ट्रान्जिट) बीमातर्फ १०४ वटा दाबीमार्फत २ अर्ब ४८ करोड ५१ लाख, अन्य विविध बीमातर्फ २९९ दाबीबाट १ अर्ब ३६ करोड ८५ लाख र स्वास्थ्य बीमातर्फ २८ वटा दाबीबाट २२ करोड ५२ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
कम्पनीतर्फ : हिमालयन एभरेष्टमा ६ अर्ब २७ करोडको दाबी
कम्पनीगत आधारमा हेर्दा सबैभन्दा धेरै आर्थिक दायित्व हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ। यस कम्पनीमा १५९ वटा दाबीमार्फत ६ अर्ब २७ करोड ५१ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
दोस्रो स्थानमा रहेको सानिमा जीआईसी इन्स्योरेन्समा २४२ वटा दाबीमार्फत ३ अर्ब ५० करोड ७९ लाख रुपैयाँको दाबी परेको छ। त्यस्तै, दाबी संख्याका आधारमा सबैभन्दा अगाडि रहेको शिखर इन्स्योरेन्समा ४०१ वटा दाबी दर्ता भएका छन्, जसको कुल रकम २ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ छ। शिखरले हालसम्म २६ लाख ६२ हजार रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ।
त्यसैगरी, सगरमाथा लुम्बिनीमा १ अर्ब ९३ करोड ६८ लाख (२०७ दाबी), सिद्धार्थ प्रिमियरमा १ अर्ब १२ करोड ३१ लाख (२०५ दाबी) र नेको इन्स्योरेन्समा १ अर्ब १ करोड ३६ लाख रुपैयाँ (२४० दाबी) बराबरको क्षति दाबी गरिएको छ। आईजीआई प्रुडेन्सियल, युनाइटेड अजोड, दि ओरिएन्टल, नेपाल इन्स्योरेन्स, प्रभु, एनएलजी तथा लघु बीमा कम्पनीहरूमा पनि करोडौँका दाबीहरू दर्ता भएका छन्।
बाढीका कारण प्रभावित बीमितहरूलाई तत्काल राहत दिन नेपाल बीमा प्राधिकरणले हालै मात्र संक्षिप्त कार्यविधि जारी गरी ५ लाखसम्मको दाबी तत्कालै फछ्र्यौट गर्न र ठूला दाबीमा ५० प्रतिशतसम्म अग्रिम (पेश्की) भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ। प्राधिकरणमा कम्पनीहरूबाट क्षतिको विवरण आउने क्रम अझै जारी रहेकाले दाबी रकम थप बढ्न सक्ने अनुमान गरिएको छ।