यस सम्बन्धमा असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको हो । साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्टका तर्फबाट मनन तुलाधरले हस्ताक्षर गरे ।

साझेदारीअन्तर्गत ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा एपमार्फत सुविधा लिन सक्नेछन् । रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।
रिलायन्स फाइनान्सले स्कुटर खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ । ग्राहकले उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्ताबन्दीमा चुक्ता गर्न सक्नेछन् ।
ग्राहकले इसेवा एपबाटै आवश्यक प्रक्रिया पूरा गरी डिजिटल माध्यमबाट द्यल्एी सुविधा लिन सक्नेछन् । यसले एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै किस्तामा भुक्तानी गर्ने विकल्प उपलब्ध गराउने इसेवाले जनाएको छ ।
इसेवाका अनुसार यो साझेदारीले डिजिटल वित्तीय सेवा र विद्युतीय यातायातको प्रयोगलाई प्रोत्साहन गर्नेछ । विद्युतीय सवारीसाधनको प्रयोगमार्फत प्रदूषण न्यूनीकरण, दिगो यातायात प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्र निर्माणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
इसेवाले ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै आगामी दिनमा थप नवीन डिजिटल समाधान विस्तार गर्दै जाने जनाएको छ ।