आइटीको जागिरदेखि ‘रेडी–टू–कुक’ तरकारीसम्म, राकेशको फरक व्यवसायिक यात्रा

Oct 07, 2026 11:02 AM Merolagani



निशा ढकाल

बजारबाट तरकारी किनेर घर ल्याएपछि सुरु हुन्छ अर्को झन्झट-केलाउने, माटो र फोहोर हटाउने, पटक–पटक पानीले पखाल्ने, काट्ने अनि बल्ल पकाउन तयार पार्ने।

 व्यस्त जीवनशैलीमा धेरैका लागि खाना पकाउनुभन्दा पहिलेको यही तयारी समय र मेहनत खर्चिने काम बन्न थालेको छ। यही दैनिक झन्झटलाई व्यवसायको अवसरका रूपमा देखेर सुरु भएको हो ‘दैनिकी’।

कोरोना महामारीका कारण व्यवसाय र रोजगारीका धेरै क्षेत्र प्रभावित भइरहेका बेला पूर्व आइटी इन्जिनियर राकेश कर्माचार्यले भने आफ्नो लामो पेशागत अनुभवभन्दा बिल्कुलै फरक क्षेत्रमा पाइला चाले। २४ वर्षभन्दा बढी समय भू–उपग्रह टेलिकम क्षेत्रमा प्रमुख आइटी अधिकृतका रूपमा तथा आउटसोर्सिङ क्षेत्रमा इन्जिनियरिङ अनुभव हासिल गरेका कर्माचार्यले सूचना प्रविधिको क्षेत्र छाडेर तरकारी प्रशोधन र ‘रेडी–टू–कुक’ अर्थात् सिधै पकाउन मिल्ने तरकारीको व्यवसाय सुरु गरे।

यो निर्णय कुनै लामो व्यावसायिक योजनाबाट आएको थिएन। महामारीका क्रममा दैनिक जीवनमा देखिएका सामान्य समस्याले उनलाई नयाँ सोचतर्फ डोर्‍यायो। त्यतिबेला पानीको अभाव, बजारबाट ल्याएको तरकारी सफा गर्नुपर्ने झन्झट र तरकारी केलाउने तथा काट्ने काममा लाग्ने समयले उनलाई सोच्न बाध्य बनायो, यदि बजारबाटै सफा, काटिएको र सिधै पकाउन मिल्ने तरकारी घरसम्म पुग्न सक्यो भने कस्तो होला ?

 

यही प्रश्नबाट ‘दैनिकी’को अवधारणाले आकार लिन थाल्यो। काठमाडौंका कालिमाटी, बानेश्वर र चाबहिलजस्ता प्रमुख तरकारी बजारबाट ताजा तरकारी संकलन गर्ने, त्यसलाई आवश्यक प्रक्रियाबाट प्रशोधन गर्ने, सफा गर्ने, काट्ने र सुरक्षित रूपमा प्याकेजिङ गरेर उपभोक्तासम्म पुर्‍याउने मोडल तयार भयो। उद्देश्य केवल तरकारी बेच्नु थिएन, उपभोक्ताको भान्सामा पुग्ने झन्झट नै घटाउनु थियो।

तरकारी बजारबाट ल्याएर प्याकेटमा हालेर बेच्ने काम मात्रै ‘दैनिकी’को मोडल होइन। कम्पनीले तरकारीलाई उपभोगका लागि तयार पार्न विभिन्न चरणको प्रशोधन प्रक्रिया अपनाउने गरेको छ। सुरुमा तरकारीको प्रारम्भिक धुलाई र ट्रिमिङ गरिन्छ। त्यसक्रममा नचाहिने तथा बिग्रिएका भाग हटाइन्छन् र प्रारम्भिक सफाइ गरिन्छ। त्यसपछि ओजोन प्रविधिको प्रयोग गरिन्छ। एफडीए स्वीकृत व्यावसायिक ओजोन प्रविधिबाट तरकारीमा रहेका कीटाणु तथा विषादीका अवशेष घटाउने प्रक्रिया अपनाइन्छ।

त्यसपछि आरओ अर्थात् रिभर्स अस्मोसिस प्रविधिबाट प्रशोधित पानीले तरकारीलाई पुनः पखालिन्छ। सफाइपछि तरकारीमा रहेको अतिरिक्त पानी हटाउने प्रक्रिया पूरा गरिन्छ। अन्ततः उपभोक्ताले घरमा फेरि लामो समय लगाएर केलाउन, सफा गर्न वा काट्न नपर्ने गरी पकाउन तयार अवस्थामा तरकारी प्याकेजिङ गरिन्छ।

यसको अर्को विशेषता हो—तरकारीको प्रयोगमा फोहोर कम हुनु। सामान्य बजारबाट तरकारी किनेर घर लैजाँदा बोक्रा, डाँठ, बिग्रिएको भाग वा अन्य फोहोर छुट्याएर फाल्नुपर्ने हुन्छ। ‘दैनिकी’को उद्देश्य भने उपभोक्तालाई सकेसम्म शतप्रतिशत प्रयोग गर्न मिल्ने तरकारी उपलब्ध गराउनु हो। अर्थात्, बजारबाट तरकारी किनेर घर ल्याएपछि सुरु हुने तयारीको कामलाई नै कम्पनीले आफ्नो जिम्मेवारीमा लिन्छ।

व्यवसाय सुरु गर्दा भने आजको अवस्था जस्तो थिएन। सुरुवाती चरणमा एउटा आउटलेटमार्फत व्यवसाय सञ्चालन गर्दा दैनिक कारोबार ३–४ हजार रुपैयाँको हाराहारीमा सीमित थियो। नयाँ अवधारणा भएकाले उपभोक्तालाई यसको आवश्यकता बुझाउन र विश्वास दिलाउन पनि समय लाग्यो। मानिसहरूका लागि तरकारी आफैं बजारबाट किनेर घरमा सफा गर्नु सामान्य दिनचर्या थियो। त्यसैले सफा र काटिएको तरकारीका लागि अतिरिक्त पैसा तिर्नुपर्ने अवधारणा तत्कालै सबैका लागि सहज बन्न सकेन।

तर कर्माचार्यले त्यहीँबाट व्यवसायको मोडल परिवर्तन गर्न थाले। प्रत्यक्ष उपभोक्तामै सीमित हुनेभन्दा व्यवसायदेखि व्यवसाय अर्थात् बीटुबी मोडलतर्फ जाने रणनीति अघि सारियो। ठूला मार्ट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य बढाउँदै उत्पादनलाई ठूलो बजारसम्म पुर्‍याउने प्रयास भयो। होराइजन मार्टजस्ता स्टोरसँगको सहकार्यले ‘दैनिकी’का उत्पादनलाई उपभोक्तासम्म पुग्ने अर्को बाटो खोल्यो।

सँगै अनलाइन होम डेलिभरीलाई पनि प्राथमिकता दिइयो। अहिलेको व्यस्त जीवनशैलीमा मानिसहरू बजारसम्म पुगेर सामान किन्नेभन्दा मोबाइलबाट अर्डर गरेर घरमै मगाउनेतर्फ आकर्षित भइरहेका छन्। यही परिवर्तनलाई ध्यानमा राख्दै ‘दैनिकी’ले आफ्नो उत्पादनलाई अनलाइन माध्यमबाट पनि उपभोक्ताको भान्सासम्म पुर्‍याउने प्रयास गरिरहेको छ।

‘दैनिकी’को यात्रा केवल एउटा नयाँ तरकारी ब्रान्डको कथा मात्र होइन, दैनिक जीवनमा देखिने सामान्य समस्यालाई व्यवसायिक अवसरमा बदल्न सकिने उदाहरण पनि हो। २४ वर्षसम्म आइटी क्षेत्रमा काम गरेका कर्माचार्यका लागि तरकारी व्यवसाय पूर्ण रूपमा नयाँ क्षेत्र थियो। तर प्रविधि र व्यवस्थापनमा लामो समय काम गरेको अनुभवलाई उनले नयाँ व्यवसायमा प्रयोग गरे। परम्परागत तरकारी बिक्रीभन्दा फरक तरिकाले उत्पादनको सरसफाइ, प्रशोधन, प्याकेजिङ र वितरणलाई व्यवस्थित गर्ने प्रयास त्यसैको परिणाम हो।

स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै यस्तो उत्पादनप्रतिको चासो पनि विस्तार हुँदै गएको छ। विशेषगरी आफूले खाने खाद्य सामग्रीको सरसफाइ र सुरक्षित प्रयोगलाई प्राथमिकता दिने उपभोक्ताका लागि तरकारी कसरी प्रशोधन भएको छ भन्ने विषय महत्वपूर्ण बन्न थालेको छ। यही कारण स्वास्थ्यप्रति सचेत नागरिकदेखि क्यान्सर सर्भाइभरहरूसम्मले ‘दैनिकी’का उत्पादनप्रति विश्वास देखाएको संस्थापक कर्माचार्यको भनाइ छ।

तर ‘रेडी–टू–कुक’ भन्दैमा बजारको तुलनामा अत्यधिक महँगो उत्पादन हुनुपर्ने आवश्यकता नरहेको कर्माचार्य बताउँछन्। उपभोक्ताले तरकारी किन्दा तिर्ने मूल्यसँगै त्यसलाई सफा गर्न लाग्ने समय, पानी, श्रम र फालिने फोहोरलाई पनि हिसाब गर्ने हो भने यसको मूल्यलाई व्यावहारिक रूपमा हेर्न सकिने उनको तर्क छ। बजारबाट तरकारी ल्याएर घरमा सफा गर्ने, काट्ने र फोहोर व्यवस्थापन गर्ने समय बचत हुनु पनि यसको मूल्यको एउटा हिस्सा हो।

आज मानिसको जीवनशैली बदलिएको छ। काम, पढाइ, व्यवसाय र परिवारबीच समय व्यवस्थापन गर्नुपर्ने बाध्यता बढ्दै गएको छ। यस्तो अवस्थामा खाना पकाउने समयभन्दा पहिलेको तयारीमा लाग्ने समय घटाउने उत्पादनको माग स्वाभाविक रूपमा बढ्न सक्छ। ‘दैनिकी’ले यही बदलिँदो आवश्यकतालाई आफ्नो व्यवसायको आधार बनाएको छ।

२४ वर्षको आइटी करियरपछि तरकारीको व्यवसाय रोज्नु राकेश कर्माचार्यका लागि सामान्य पेशागत परिवर्तन थिएन। तर एउटा सामान्य समस्या तरकारी केलाउने, धुने र काट्ने झन्झट—लाई समाधान गर्ने सोचले उनलाई नयाँ यात्रामा ल्यायो। महामारीको संकटमा जन्मिएको यो अवधारणा अहिले बजार, मार्ट र अनलाइन डेलिभरी हुँदै उपभोक्ताको भान्सासम्म पुग्ने प्रयासमा छ।

बजारबाट तरकारी किनेर घरमा ल्याएपछि सुरु हुने कामलाई नै यदि कसैले आफ्नो व्यवसाय बनाइदियो भने त्यसले उपभोक्ताको समय मात्रै बचाउँदैन, दैनिक जीवनको एउटा सानो झन्झट पनि हटाइदिन्छ। ‘दैनिकी’को कथा यही सानो झन्झटलाई अवसरमा बदल्ने प्रयासको कथा हो—जहाँ २४ वर्षको आइटी अनुभवपछि एउटा इन्जिनियरले कम्प्युटरको स्क्रिनबाट भान्साको टेबलसम्म पुग्ने नयाँ व्यवसायिक यात्रा सुरु गरेका छन्।।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।