दशैं–तिहारका लागि अग्रिम टिकट बुकिङ शुक्रवारदेखि खुल्ने

Oct 06, 2026 02:47 PM Merolagani



नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायको उच्चस्तरीय बैठकले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले उनीहरूको सहज यात्राका लागि विभागले यातायात व्यवसायी, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिसँग छलफल गरेको थियो।

छलफलपछि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीले जानकारी दिए।

यस वर्षको दशैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ। अग्रिम टिकट बुकिङको औपचारिक निर्णय नहुँदा यात्रुहरूमा अन्योल देखिएको थियो। केही यातायात कम्पनीले भने यसअघि नै अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका थिए।

बैठकले चाडपर्वका बेला यात्रुको सुरक्षा र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न निर्णयसमेत गरेको छ। जसअनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, टिकट काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्ने निर्णय भएको छ। टिकट बिक्री गर्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था पनि गरिएको छ।

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले टिकट बिक्रीदेखि सवारी सञ्चालनसम्मका गतिविधिलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको हो।

विभागले यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई तोकिएका मापदण्ड पालना गरी यात्रुलाई सुरक्षित, सहज र भरपर्दो सेवा उपलब्ध गराउन आग्रह गरेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।