जे.एफ. सेक्युरिटिजको १ अर्बको कर्जा सुविधालाई ‘केयर-एनपी ए४’ रेटिङ, मार्जिन ट्रेडिङका लागि ऋण उपयोग गरिने

Oct 07, 2026 12:54 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सदस्य दलाल कम्पनी जे.एफ. सेक्युरिटिज कम्पनी प्राइभेट लिमिटेड (ब्रोकर नं. ०७) ले १ अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जा सुविधाका लागि क्रेडिट रेटिङ प्राप्त गरेको छ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले कम्पनीको प्रस्तावित १ हजार मिलियन (१ अर्ब) रुपैयाँको अल्पकालीन कर्जा सुविधालाई ‘केयर-एनपी ए४’ (CARE-NP A4) रेटिङ प्रदान गरेको हो।

किन लिन लागियो १ अर्बको कर्जा ?

केयर रेटिङ्स नेपालको प्रतिवेदनअनुसार जे.एफ. सेक्युरिटिजले यो कर्जा मुख्यतया आफ्ना ग्राहकहरूलाई ‘मार्जिन ट्रेडिङ सुविधा’ (Margin Trading Facility - MTF) उपलब्ध गराउन तथा त्यसको पोर्टफोलियो व्यवस्थापनका लागि वाणिज्य बैंकहरूबाट लिन लागेको हो।

धितोपत्र बोर्ड (SEBON) बाट मार्जिन कारोबार सञ्चालनको अनुमति पाइसकेको कम्पनीले यस ऋणमार्फत लगानीकर्तालाई शेयर खरिदका लागि कर्जा सुविधा दिनेछ।

हाल कम्पनीको कुल सञ्चालन आम्दानीको करिब ९९ प्रतिशत हिस्सा शेयर ब्रोकरेज कमिसनमा मात्र निर्भर रहेको छ। मार्जिन ट्रेडिङ कर्जा प्रवाह गरेपछि त्यसबाट प्राप्त हुने ब्याज आम्दानी (Interest Income) मार्फत आम्दानीको स्रोत विविधीकरण गर्ने र व्यवसाय विस्तार गर्ने कम्पनीको योजना रहेको छ। साथै, यस कर्जाअन्तर्गतको गैर-कोषमा आधारित सीमा नेप्से र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई आवश्यक पर्ने बैंक ग्यारेन्टीका लागि प्रयोग हुनेछ।

रेटिङका आधार र वित्तीय अवस्था

केयर रेटिङ्सका अनुसार जे.एफ. सेक्युरिटिजको झन्डै तीन दशक लामो व्यावसायिक अनुभव, अनुभवी सञ्चालक तथा व्यवस्थापन र न्यून ऋणको भार (Gearing Ratio ०.३६ गुणा) लाई रेटिङको सबल पक्ष मानिएको छ। सन् १९९६ मा स्थापित यस कम्पनीमा हाल ८६ हजारभन्दा बढी सक्रिय ग्राहक आबद्ध छन्। नेपालमा सञ्चालित ९२ वटा ब्रोकर कम्पनीमध्ये यो कम्पनी ४४औँ स्थानमा रहेको छ।

यद्यपि, कम्पनीको आम्दानी पूर्ण रूपमा शेयर बजारको उतारचढाव र दैनिक कारोबार रकममा निर्भर हुनुलाई भने मुख्य जोखिमका रूपमा औँल्याइएको छ।

कम्पनीले आर्थिक वर्ष २०२५ मा १० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी र ३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। तर, आर्थिक वर्ष २०२६ मा शेयर बजारको समग्र कारोबारमा आएको गिरावटसँगै कम्पनीको आम्दानी ३० प्रतिशतले घटेर ७ करोड ३० लाख रुपैयाँ र खुद नाफा २ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल नेटवर्थ २५ करोड २० लाख रुपैयाँ रहेको छ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।