नेतृत्वको लागि १०३ पटकसम्म मतदानदेखि ४९ दिनसम्म चलेका महाधिवेशनहरुः पार्टी महाधिवेशनको रौनकता र भद्रगोलपन

Oct 09, 2026 02:33 PM Merolagani



तीन दिनको लागि आयोजना गरिएको नेपाली कांग्रेसको महाधिवेशन लम्बिएकाे छ ।

महाधिवेशन कहिले सकिन्छ, यकिन छैन । नयाँ नेतृत्वको निर्वाचनको अन्तिम परिणाम आउन एक सातासम्म लाग्न सक्ने नेताहरुले बताएका छन् । आधुनिक युगमा डिजिटल प्रविधि र व्यवस्थित विधानका कारण महाधिवेशनहरू ३ देखि ५ दिनभन्दा बढी लम्बिँदैनन्, तर दक्षिण एसियाली देशहरू नेपाल, भारत, पाकिस्तानलगायतका देशमा भने क्रियाशील सदस्यता विवाद, फर्जी प्रतिनिधि र गुटगत भागबण्डाका कारण महाधिवेशनका पूर्व-सन्ध्याका प्रक्रियाहरू (वडा, पालिका र जिल्ला अधिवेशन) महिनौँसम्म लम्बिने र धकेलिने साझा रोग देखिन्छ।

 

 

यसो त महाधिवेशन छिटो छरितोरुपमा सम्पन्न भएका घटना नेपालमा विरलै पाइन्छन् । महाधिवेशनका अरु प्रकृयाहरुभन्दा निर्वाचन र मतगणनाको लागि समय धेरै खर्च हुने गरेको छ । तर, तपाईलाई थाहा छ ? राजनीतिक पार्टीका महाधिवेशनहरु भद्रगोल हुने नेपालमा मात्र होइन, विकसित भनिएका देशहरुमा समेत हुन्छ । विश्व राजनीतिमा पार्टीभित्रको कडा गुटबन्दी, वैचारिक फाटो र शक्ति सङ्घर्षका कारण आयोजना गरिएका महाधिवेशनहरू ऐतिहासिक रूपमा भद्रगोल र लामा बनेका रोचक उदाहरणहरू छन्।

नेतृत्वको लागि १०३ पटक मतदान भएको अमेरिकाको डेमोक्र्याटिक पार्टीको महाधिवेशन

पार्टी महाधिवेशनमा नेतृत्वको लागि कतिसम्म हानथाप हुन्छ र त्यसले कतिसम्म विवाद सृजना गर्न सक्छ भन्ने कुराको प्रमाण हो, अमेरिकाको डेमोक्रेटिक पार्टीको सन् १९२४ मा भएको महाधिवेशन ।

न्यूयोर्कमा जुन २४ देखि जुलाई ९ सम्म भएको महाधिवेशनमा पार्टीभित्र दुई प्रमुख गुट (सहरी र उदारवादी गुट तथा ग्रामीण र परम्परागत गुट) बीच तीव्र विवाद भयो। राष्ट्रपतिको उम्मेदवार चयन गर्नका लागि प्रतिनिधिहरूले १०३ पटक सम्म मतदान गर्नुपरेको थियो। पार्टीभित्र दुई वटा गुट बनेका थिए—एउटा न्युयोर्कका क्याथोलिक र मदिरा प्रतिबन्ध विरोधी अल स्मिथ को गुट र अर्को दक्षिणरपश्चिमका प्रोटेस्टेन्ट र मदिरा प्रतिबन्धका समर्थक विलियम जिब्स म्याकाडुको गुट।

राष्ट्रपति उम्मेदवार चयन गर्न दुई-तिहाइ बहुमत चाहिन्थ्यो। तर दुवै उम्मेदवार पछि हट्न तयार भएनन्। प्रतिनिधिहरूले न्युयोर्कको उखरमाउलो गर्मीमा १०३ पटक सम्म मतदान गर्नुपरेको थियो। महाधिवेशनको क्रममा दुई गुटका पक्ष र विपक्ष समर्थकहरूबीच हलभित्रै गालीगलौज र कुटाकुटसम्मको स्थिति सिर्जना भएको थियो।

१६ दिनको तानातान र भद्रगोलपछि दुवै प्रमुख दाबेदारले नाम फिर्ता लिए। १०३ औँ पटकको मतदानमा तेस्रो व्यक्ति जोन डब्लु. डेभिसलाई सम्झौताको उम्मेदवार बनाइयो। तर यो विभाजनका कारण सो चुनावमा डेमोक्र्याटिक पार्टीले लज्जास्पद हार व्यहोर्नुपर्‍यो।

त्यसअघि सन १८६० मा भएको पार्टीको महाधिवेशन पनि त्यस्तै भद्रगोल भएको थियो । ५७ पटक मतदानपछि विवाद समाधानको प्रयास गरिए पनि महाधिवेशन लगत्तै डेमोक्रेटिक पार्टी फुटेको थियो, जस्को फाइदा उठाउँदै अब्राहम लिंकन राष्ट्पतिमा निर्वाचित भएका थिए ।

४९ दिन चलेको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन

सन् १९४५ को त्यो महाधिवेशन अप्रिल २३ देखि जुन ११ सम्म—करिब ४९ दिन चलेको थियो। त्यसअघि पार्टीको छैटौँ महाधिवेशन २३ दिन चलेको थियो।

सन् १९४५ को चीन आजको चीन थिएन। गृहयुद्ध, जापानी आक्रमण र क्रान्तिकारी संघर्षको पृष्ठभूमिमा पार्टीको राजनीतिक दिशा, सैन्य रणनीति, संगठन र भविष्यको सत्ता संरचना निर्धारण गर्ने गम्भीर काम त्यो महाधिवेशनको केन्द्रमा थियो। 

२० दिनमा सकिएको अफ्रिकाको एएनसीको महाधिवेशन

दक्षिण अफ्रिकाको अफ्रिकन नेशन पार्टी (एएनसी) को उदाहरण अझ रोचक छ। एएनसीको ५५औँ राष्ट्रिय सम्मेलन २०२२ डिसेम्बर १६ देखि २० सम्म पाँच दिनका लागि तय भएको थियो । तर सबै काम त्यहीँ सकिएन । फलस्वरुप बीचमा केही दिन रोकेर २०२३ जनवरी ५ मा मात्र सम्पन्न भयो।

विश्वका अन्य देशहरूमा महाधिवेशनको प्रक्रिया र समयावधि विश्वभरिका लोकतान्त्रिक र गैर लोकतान्त्रिक दुवै ढाँचाका दलहरूमा महाधिवेशनको आफ्नै विशिष्ट प्रक्रिया र निश्चित समयावधि हुन्छ । संयुक्त राज्य अमेरिकामा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको महाधिवेशन हरेक ४ वर्षमा राष्ट्रपति निर्वाचनभन्दा केही महिना अघि आयोजना हुन्छ। महाधिवेशन हुनुअघि नै विभिन्न राज्यहरूमा महिनौँसम्म प्राथमिक निर्वाचनमार्फत प्रतिनिधि छानिन्छन्। अमेरिकी पार्टी महाधिवेशनहरू जम्मा ३ देखि ४ दिन सम्म मात्र चल्छन्। यसमा नीति अनुमोदन गर्ने, उपराष्ट्रपति र राष्ट्रपतिको उम्मेदवारलाई औपचारिक अनुमोदन गर्ने काम हुन्छ। त्यहाँ कार्यतालिका मिनेट मिनेटमा तय गरिएको हुन्छ र समय सीमा उल्लङ्घन हुँदैन।

चीन

चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशन हरेक ५ वर्षमा आयोजना हुन्छ। देशभरिबाट छनोट भएका करिब २,३०० भन्दा बढी प्रतिनिधिहरू राजधानी बेइजिङमा भेला हुन्छन्। यो महाधिवेशन साधारणतया ७ दिनसम्म चल्छ। महाधिवेशनमा केन्द्रीय कमिटी, पोलिटब्युरो र महासचिव (सर्वोच्च नेता) को चयन हुनुका साथै आगामी ५ वर्षको देशको सामाजिक आर्थिक नीतिको मार्गचित्र पारित गरिन्छ।

भारत

भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टीलगायतका पार्टीहरुमा राष्ट्रिय अधिवेशनमा प्रतिनिधिहरू तल्लो तहबाट चुनिएर आउँछन् । महाधिवेशनहरू सामान्यतया २ देखि ३ दिन भित्रै सम्पन्न हुन्छन्। निर्वाचन प्रक्रिया पहिले नै सम्पन्न भइसकेको हुन्छ वा अधिवेशनको अवधिभित्रै औपचारिक रूपमा नयाँ अध्यक्षको घोषणा र नीतिगत प्रस्तावहरू पारित गरिन्छ।

बेलायत र युरोपेली देशहरू

बेलायतका कन्जर्भेटिभ र लेबर पार्टीले नेतृत्व चयनका लागि महाधिवेशनको हलमा भन्दा पनि अनलाइन तथा हुलाक मत मार्फत सम्पूर्ण साधारण सदस्यहरूले भाग लिने परिपाटी बढ्दो छ। यी अधिवेशनहरू ३ देखि ४ दिन सम्म चल्छन्, जहाँ मुख्यतया नीतिगत बहस र नेताहरूको सम्बोधन हुने गर्छ।