चाडपर्वमा कालोबजारी र बढी भाडा असुल्नेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

Oct 09, 2026 02:58 PM Merolagani



सरकारले दसैँलक्षित बजारमा कृत्रिम अभाव, कालोबजारी र सार्वजनिक यातायातमा बढी भाडा असुल्नेहरूमाथि तत्काल कानुनी कारबाही गर्न निर्देशन दिएको छ। मुख्यसचिवको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७५औँ बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले खाद्यान्न, ग्यास, इन्धन तथा औषधिको सहज आपूर्ति सुनिश्चित गर्न र अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रण गर्न आकस्मिक बजार अनुगमन तीव्र बनाउने भएको छ।

यस्तै, लामो दूरीका सवारीसाधनमा तोकिएभन्दा बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कडा कारबाही गर्न ट्राफिक प्रहरी र नियामक निकायलाई निर्देशन दिइएको छ।