पेट्रोलियम पदार्थ (डिजेल) को मूल्यमा उल्लेख्य गिरावट आएपछि यातायात व्यवस्था विभागले स्वचालित भाडा समायोजन प्रणालीअनुसार यात्रुवाहक तथा मालवाहक दुवै सवारी साधनको भाडामा २ प्रतिशत कटौती गरेको हो।
विभागले एक सूचना जारी गर्दै नयाँ भाडादर २०८३ असार १८ गतेदेखि नै लागू हुने जनाएको छ। राष्ट्रिय स्तरका रुट (दुई वा सोभन्दा बढी प्रदेश भएर गुड्ने) मा चल्ने यात्रुवाहक सवारी, पहाडी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधन सबैमा समान २ प्रतिशतका दरले भाडा घटाइएको छ। तर, विद्युतीय सवारी साधनको हकमा भने यसअघि (२०८१ पुस २२) कायम गरिएको भाडादर नै यथावत् रहने विभागले स्पष्ट पारेको छ।
किन घट्यो भाडा?
वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले थपघट भएमा स्वचालित रूपमा भाडा समायोजन गर्ने व्यवस्था छ।
यसअघि भाडा निर्धारण गर्दा डिजेलको औषत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेकोमा असार १७ गते घटेर प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएको थियो। विगतमा पूर्ण रूपमा बढ्नुपर्ने भाडादर नबढाइएको अवस्था र हाल इन्धनमा प्रतिलिटर ४२ रुपैयाँले आएको भारी गिरावटलाई सन्तुलन मिलाएर हाललाई २ प्रतिशत भाडा घटाइएको विभागले जनाएको छ।
कहाँ कति घट्यो? (प्रतिकिलोमिटर दर)
नयाँ समायोजनअनुसार:
-
तराईको लामो दूरी (२५० किमीभन्दा बढी): पक्की तथा ग्राभेल बाटोमा प्रतिव्यक्ति प्रतिकिलोमिटर भाडा ३ रुपैयाँ ५९ पैसाबाट घटेर ३ रुपैयाँ ५२ पैसा कायम भएको छ।
-
२५ देखि २५० किमीसम्मको दूरी: प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ ६४ पैसाबाट घटेर ३ रुपैयाँ ६१ पैसा कायम भएको छ।
-
काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्ड: प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ ९७ पैसाबाट घटेर ३ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।
-
मालवाहक सवारी (तराई): प्रतिटन प्रतिकिलोमिटर ९ रुपैयाँ ३८ पैसाबाट घटेर ९ रुपैयाँ १९ पैसा भएको छ।
-
मालवाहक सवारी (पहाड): प्रतिटन प्रतिकिलोमिटर १८ रुपैयाँ ८७ पैसाबाट घटेर १८ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।
अनिवार्य नियम : टिकट नकाट्ने र बढी भाडा लिनेलाई कारबाही
विभागले नयाँ भाडादर कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ।
-
डिलक्स र सुपर डिलक्स: विभागबाट स्तर प्रमाणीकरण गराएका डिलक्स बसले साधारण भाडामा २० प्रतिशत र सुपर डिलक्सले डिलक्सको भाडामा थप २० प्रतिशत रकम लिन पाउनेछन्।
-
सहुलियत अनिवार्य: विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र जनआन्दोलनका घाइतेहरूलाई तोकिएको छुट दिनैपर्नेछ। छुटका नाममा निश्चित कोटा वा समय तोक्न पाइने छैन।
-
टिकट र भाडासूची: यात्रुलाई भाडा रकम र गन्तव्य स्पष्ट खुलाई अनिवार्य रूपमा टिकट दिनुपर्नेछ। सवारी साधन तथा टिकट काउन्टरमा भाडासूची देखिने गरी टाँस्नुपर्नेछ।
-
दुई चालक: लामो दूरीका रात्रि बसमा अनिवार्य रूपमा कम्तीमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ।
तोकिएको भन्दा बढी भाडा लिएमा, टिकट जारी नगरेमा वा नियम पालना नगरेमा ट्राफिक प्रहरी तथा स्थानीय प्रशासनले तत्काल कडा कानुनी कारबाही गर्ने विभागले चेतावनी दिएको छ। बढी भाडा लिएको पाइएमा प्रधानमन्त्री कार्यालयको हेलो सरकार (टोल फ्री नम्बर ११११), ट्राफिक प्रहरी (१०३) वा यातायात व्यवस्था विभागमा सिधै उजुरी गर्न यात्रुहरूलाई आग्रह गरिएको छ।
कहाँको कति ?
