नेप्से सीईओ छनोट: चारै उम्मेदवारको अन्तर्वार्ता सम्पन्न, सिफारिस र नियुक्ति  कहिले ? संयोजकले यसो भने

Oct 15, 2026 06:08 AM Merolagani



  • छनोट समितिका संयोजक महेश आचार्य भन्छन् : ‘अन्तर्वार्ता सकियो, अब बाँकी प्रक्रिया दसैँपछि मात्रै टुङ्गिन्छ।’

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सर्टलिस्टमा परेका चारै जना उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भएको छ। तर, मन्त्रिपरिषदमा सिफारिस गरिने तीन जनाको नाम छनोट र नियुक्तिको प्रक्रिया भने अब दसैँपछि मात्रै हुने भएको छ।

अर्थ मन्त्रालयद्वारा गठित ‘प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समिति’ले कार्यविधिको मापदण्ड अनुसार खुला प्रतिस्पर्धाबाट सर्टलिस्टमा परेका चार उम्मेदवारहरूलाई गत असोज २३ गते मन्त्रालयमा अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको थियो। निर्धारित कार्यतालिका अनुसार चारै जना प्रतिस्पर्धीको प्रस्तुतीकरण र अन्तर्वार्ता सकिए पनि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस हुन बाँकी छ।

अन्तर्वार्ता सम्पन्न भएसँगै चार जनामध्ये कुन तीन जना मन्त्रिपरिषदमा सिफारिस हुन्छन् र को बाहिरिन्छ भन्ने विषयमा पूँजी बजार वृत्तमा व्यापक चासो र अड्कलबाजी भइरहेको छ।

यसै सन्दर्भमा छनोट समितिका संयोजक महेश आचार्यले अन्तर्वार्ताको चरण सकिए तापनि सिफारिस र नियुक्तिको प्रक्रिया दसैँअघि नटुङ्गिने स्पष्ट पारेका छन्। चार जनामध्ये को बाहिरियो र सिफारिस कसको हुँदैछ भन्ने जिज्ञासामा संयोजक आचार्यले भने—‘अहँ, त्यो केही भएको छैन। उम्मेदवारहरूको अन्तर्वार्ता सकिएको छ। अब दसैँपछि मात्रै त्यो विषयमा थप प्रक्रिया अगाडि बढ्छ र सिफारिसको काम हुन्छ।’

संयोजक आचार्यका अनुसार चाडपर्व सुरु भइसकेकाले छनोट समितिले उम्मेदवारहरूको शैक्षिक योग्यता, व्यावसायिक कार्ययोजना र अन्तर्वार्ताको प्राप्ताङ्क जोडेर उत्कृष्ट तीन जनाको नाम तयार पार्ने र मन्त्रिपरिषदमा पठाउने कार्य अब दसैँको बिदा सकिएपछि मात्रै गर्नेछ।

यी हुन् चार दाबेदार

नेप्सेको नयाँ नेतृत्वका लागि सर्टलिस्टमा परेका चार प्रतिस्पर्धीहरूमा दुई जना पूर्वप्रशासक र दुई जना वित्तीय तथा संस्थागत क्षेत्रका अनुभवी व्यक्तिहरू छन्:

प्रताप सुवेदी : कृषि विकास बैंक लिमिटेडका बहालवाला नायब महाप्रबन्धक (डीजीएम) सुवेदी ‘क’ वर्गको वाणिज्य बैंक तथा ठूलो पब्लिक लिमिटेड कम्पनीको माथिल्लो व्यवस्थापकीय अनुभव भएका उम्मेदवार हुन्। उनलाई कर्पोरेट बजारले व्यावसायिक दाबेदारका रूपमा हेरेको छ।

अनिल राज पौडेल : युवा तथा साना व्यवसायी स्वरोजगार कोषका पूर्व कार्यकारी उपाध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डमा लामो समय वित्तीय व्यवस्थापन र संस्थागत सुशासनमा काम गरेको अनुभव भएका व्यक्ति हुन्।

नवराज सापकोटा : गृह मन्त्रालय मातहत विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिवका रूपमा २७ वर्ष निजामती सेवामा बिताएका सापकोटासँग व्यवस्थापनमा फाइनान्स (वित्त) विषयमा विशिष्टीकरण गरेको शैक्षिक पृष्ठभूमि छ।

नारायण प्रसाद सापकोटा : निजामती सेवामा झण्डै ४० वर्ष बिताएका पूर्व सहसचिव सापकोटासँग विभिन्न जिल्लाको सीडीओ र स्थानीय तहहरूमा कार्यकारी प्रमुख भएर लामो प्रशासनिक जिम्मेवारी सम्हालेको अनुभव छ।

अब मन्त्रिपरिषद्को कोर्टमा निर्णय

कार्यविधिअनुसार सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा चारमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद् बैठकले ती तीन जनामध्ये उपयुक्त ठानेका एक जनालाई आगामी चार वर्षका लागि नेप्सेको नेतृत्व सुम्पनेछ।

दैनिक अर्बौँ रुपैयाँको कारोबार हुने, ६० लाखभन्दा बढी लगानीकर्ता प्रत्यक्ष जोडिएको र मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबरको बजार पूँजीकरण धान्ने संवेदनशील संस्था भएकाले नेप्सेले कस्तो नेतृत्व पाउँछ भन्ने विषयलाई पूँजी बजारले निकै चासोका साथ हेरेको छ। प्रशासनिक पृष्ठभूमिभन्दा प्रविधि, आधुनिक वित्तीय औजार र पब्लिक कम्पनीको मर्म बुझेको व्यावसायिक नेतृत्व आउनुपर्ने माग बजारमा उठिरहेका बेला सरकारले गर्ने अन्तिम निर्णय भने अब दसैँपछि मात्रै सार्वजनिक हुने भएको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।