नेप्सेसँगै बढ्यो कारोबार रकम

Oct 15, 2026 03:10 PM Merolagani



बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्लो ५ कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४९ स्टकको ३८ हजार ८६१ पटकको कारोबारमा ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४० रुपैयाँ ९० पैसा बढेर ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। बेनी हाइड्रोपावरको शेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आएको हो। त्यस्तै, यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य र लक्ष्मी उन्नती कोषको इकाईमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।