सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब ६३ अर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.२८ प्रतिशत : नेपाल राष्ट्र बैंक प्रतिवेदन

Oct 30, 2026 11:31 AM Merolagani



नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले आर्थिक वर्ष २०८२/८३ को ‘सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गरेको छ।

प्रतिवेदन अनुसार समीक्षा वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु. ४ खर्ब ६३ अर्ब ८९ करोड (करिब रु. ४ खर्ब ६४ अर्ब) पुग्ने र राष्ट्रिय अर्थतन्त्रमा यस प्रदेशको हिस्सा ७.०३ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय स्तरमा उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएकोमा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने प्रक्षेपण छ। प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र (कृषि, वन तथा मत्स्य) को योगदान ३३.६५ प्रतिशत, द्वितीय क्षेत्र (उद्योग) को योगदान १३.६९ प्रतिशत र तृतीय क्षेत्र (सेवा) को योगदान ५२.६६ प्रतिशत रहने देखिएको छ।

कृषि उत्पादनमा सामान्य वृद्धि, कर्जा भने घट्यो
प्रतिवेदन अनुसार समीक्षा वर्षमा प्रदेशभित्र मुख्य कृषि बालीले ढाकेको भू–क्षेत्र २.११ प्रतिशतले ह्रास आई कुल ४ लाख १८ हजार ५७९ हेक्टरमा सीमित भएको छ भने उत्पादनमा ०.८२ प्रतिशतको सामान्य वृद्धि भएको छ। खाद्य तथा अन्य बालीतर्फ दलहन (११.८६ प्रतिशत), तेलहन (९.५२ प्रतिशत), भटमास (९.५२ प्रतिशत), आलु (७.०१ प्रतिशत) र उखुको उत्पादन बढेको छ भने फापर (६३.२४ प्रतिशत) र जौको उत्पादन (३२.०१ प्रतिशत) उल्लेख्य घटेको छ।

पशुजन्य उत्पादनतर्फ दूध ११.३० प्रतिशत, मासु ६.९१ प्रतिशत, ऊन ५.८० प्रतिशत, अन्डा २.२४ प्रतिशत, छाला ०.८० प्रतिशत र माछा उत्पादन ०.७६ प्रतिशतले बढेको छ। सिँचाइतर्फ खेती गरिएको कुल भू–भागमध्ये ४१.३७ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ। २०८३ असार मसान्तसम्म यस प्रदेशमा प्रवाह भएको कुल कर्जाको ९.५६ प्रतिशत हिस्सा (रु. १५ अर्ब ६२ करोड ४४ लाख) कृषि क्षेत्रमा गएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.१३ प्रतिशतले कम हो। कृषि कर्जाको सबैभन्दा बढी ६७.७५ प्रतिशत हिस्सा कैलाली जिल्लामा केन्द्रित छ।

उद्योगको क्षमता उपयोग ५१.२९ प्रतिशत
अध्ययनका लागि नमुना छनोटमा परेका १४ वटा उद्योगहरूको औसत क्षमता उपयोग ५१.२९ प्रतिशत रहेको छ। जसमध्ये जी.आई. तार, इँट्टा र खानेतेल उद्योगको क्षमता उपयोग उच्च (६० देखि ७० प्रतिशत) पाइएको छ भने साबुन (२६.५२ प्रतिशत) र रोजिन (३६.०४ प्रतिशत) को क्षमता उपयोग न्यून देखिएको छ।

समीक्षा वर्षसम्म प्रदेशमा औद्योगिक कर्जा ३.७२ प्रतिशतले वृद्धि भई रु. २७ अर्ब ७१ करोड ५१ लाख पुगेको छ, जसको ७८.८७ प्रतिशत हिस्सा कैलाली जिल्लामा मात्र प्रवाह भएको छ। आर्थिक वर्ष २०८२/८३ को चैतसम्म प्रदेशमा १ हजार ५९९ वटा उद्योग दर्ता भई ५ हजार ४५२ जनाले रोजगारी पाएका छन्। साथै, चुरे गाउँपालिकामा सञ्चालित ‘द अर्गानिक भ्याली प्रा.लि.’ ले स्थानीय अदुवा प्रशोधन गरी वार्षिक करिब रु. ५ करोड मूल्यबराबरको सुकेको अदुवा जर्मनी निर्यात गरेको सकारात्मक तथ्य पनि प्रतिवेदनमा समेटिएको छ।

सेवा क्षेत्र, पर्यटन तथा घरजग्गा कारोबार
नमुना छनोट गरिएका ११ वटा पर्यटकीय होटलहरूको औसत अकुपेन्सी ३४.६९ प्रतिशत रहेको छ। समीक्षा अवधिमा १८ हजार ८२२ जना बाह्य पर्यटक (भारतीय १७,९९७, चिनियाँ ९४ र तेस्रो मुलुकका ७३१) ले प्रदेश भ्रमण गरेका छन्। भारतीय पर्यटक आगमनमा १७ प्रतिशतले वृद्धि भएको छ।

यस अवधिमा घरजग्गा रजिस्ट्रेसन संख्या ११.४१ प्रतिशतले बढेको छ भने रजिस्ट्रेसन राजस्व १७.२९ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ४४ करोड पुगेको छ। घर/भवनको स्थायी नक्सा पास संख्या ९.२५ प्रतिशतले बढेको छ, जसमा सबैभन्दा बढी कैलालीमा १ हजार ६११ वटा नक्सा पास भएका छन्।

२०८३ असार मसान्तसम्म प्रदेशमा वाणिज्य बैंकका ३३३, विकास बैंकका ५१, वित्त कम्पनीका ६ र लघुवित्तका ४५४ गरी कुल ८४४ बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालनमा रहेका छन्। कुल निक्षेप संकलन १८.५६ प्रतिशतले बढेर रु. २ खर्ब ६ अर्ब ९ करोड ९५ लाख र कर्जा प्रवाह ३.८२ प्रतिशतले बढेर रु. १ खर्ब ६३ अर्ब ४१ करोड २८ लाख पुगेको छ। निक्षेप र कर्जा दुवैमा कैलाली जिल्लाको हिस्सा क्रमशः ४८.५० प्रतिशत र ६८.३७ प्रतिशत रहेको छ।

पूर्वाधार, ठूला आयोजना र रोजगारी
प्रदेशमा ८७.३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ र विभिन्न जलविद्युत आयोजनाहरूबाट कुल १६९ मेगावाट विद्युत् उत्पादन भएको छ। समीक्षा वर्षको चैत मसान्तसम्म प्रदेश सरकारबाट कुल ५६ किलोमिटर सडक निर्माण भएको छ, जसमा ११ कि.मी. कालोपत्रे, २६ कि.मी. ग्राभेल र १९ कि.मी. माटे सडक रहेको छ।

राष्ट्रिय गौरवका आयोजनाहरूतर्फ महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति ३०.०६ प्रतिशत रहेको छ। रानी जमरा कुलरिया सिँचाइ आयोजनाको संशोधित लागत रु. ५१ अर्ब ३४ करोड पुगेको छ र यसको भौतिक प्रगति ७५.५ प्रतिशत तथा वित्तीय प्रगति ७२.१७ प्रतिशत पुगेको छ। यस्तै, महाकाली नदीमा चार लेनको पुल निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ भने कैलालीको चिसापानी–राजकाँडा जोड्ने जाल्पा देवी केबलकारको ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ।

रोजगारीतर्फ, समीक्षा वर्षमा यस प्रदेशबाट ६२ हजार ७३६ जना (पुरुष ५६,९६१ र महिला ५,७७५) ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५३.७९ प्रतिशतको उच्च वृद्धि हो। आन्तरिकतर्फ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८७ स्थानीय तहका १ हजार ४४६ आयोजनाबाट ७ हजार जनाले औसत ७८.५ दिनको रोजगारी प्राप्त गरेका छन्।

बजेट खर्च स्थिति
आर्थिक वर्ष २०८२/८३ का लागि सुदूरपश्चिम प्रदेश सरकारले कुल रु. ३३ अर्ब ४७ करोड बजेट विनियोजन गरेकोमा ६१.९४ प्रतिशत अर्थात् रु. २० अर्ब ७३ करोड मात्र खर्च भएको छ। यसमध्ये चालूतर्फ विनियोजित बजेटको ६७.०८ प्रतिशत र पुँजीगततर्फ विनियोजित बजेटको ५८.४० प्रतिशत खर्च भएको छ। प्रदेशका ५ वटा ठूला नगरपालिकाहरूको अध्ययन गर्दा कुल विनियोजित बजेट रु. ७ अर्ब २४ करोडमध्ये ६१.७८ प्रतिशत अर्थात् रु. ४ अर्ब ४७ करोड खर्च भएको प्रतिवेदनले देखाएको छ।