असोजमा भित्रिए ३ हजार ६९५ ईभी, बीवाइडी र डोङफेङको हिस्सा ५५ प्रतिशत

Oct 31, 2026 11:22 AM Merolagani



चालु आर्थिक वर्ष २०३/८४ को असोज महिनामा नेपालमा ३ हजार ६९५ युनिट विद्युतीय कार (ईभी) आयात भएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार असोजमा विभिन्न २२ वटा ब्रान्डका विद्युतीय कार आयात भएका छन् ।

जसमध्ये आधाभन्दा बढी हिस्सा दुई चिनियाँ ब्राण्ड बीवाइडी र डोङफेङले ओगटेका छन् । असोजमा बीवाइडी र डोङफेङका मात्रै २ हजार १९ युनिट विद्युतीय कार नेपाल भित्रिएका छन् । यो महिनाभरि आयात भएका कुल ईभीको ५४.६४ प्रतिशत हो । बाँकी ४५.३६ प्रतिशत हिस्सा अन्य २० ब्राण्डका कारले ओगटेका छन् ।

असोजमा सबैभन्दा धेरै ईभी आयात गर्ने ब्राण्ड बीवाइडी बनेको छ । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले एक महिनामै १ हजार १७८ युनिट कार आयात गरेको छ । कम्पनीले कोरला नाका हुँदै यी कार नेपाल भित्र्याएको हो ।

साइमेक्सले असोजमा बीवाइडीका एटो १, एटो २ र एटो ३ मोडल आयात गरेको छ । तीमध्ये एटो २ को संख्या सबैभन्दा धेरै ६३८ युनिट छ । त्यस्तै, एटो १ का ३५० र एटो ३ का १५० युनिट आयात भएका छन् ।

दोस्रो स्थानमा रहेको डोङफेङ ब्राण्डका ८८१ युनिट ईभी नेपाल भित्रिएका छन् । एमएडब्लू वृद्धि अटोकर्पले आयात गरेका यी कारमध्ये ८२९ युनिट नामी भिगो र ५२ युनिट नामी बक्स रहेका छन् ।

तेस्रो स्थानमा भारतीय ब्राण्ड टाटा रहेको छ । सिप्रदी ट्रेडिङले असोजमा टाटाका ५३४ युनिट विद्युतीय कार आयात गरेको छ । यसमध्ये पन्च ईभी ३३३, टियागो ईभी ९९, नेक्सन ईभी ७४ र एक्सप्रेस टी २८ युनिट छन् । एक्सप्रेस टी ट्याक्सीका रूपमा प्रयोग हुने विद्युतीय कार हो ।

चौथो स्थानमा चेरी ब्राण्ड रहेको छ । नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले असोजमा चेरी समूहका २७६ युनिट विद्युतीय कार भित्र्याएको छ । कम्पनीले आइकार भी २३ एसयूभी १२५, जेको जे सिक्स ५१ तथा जेको जे फाइभ र चेरी क्यूका समान ५०र५० युनिट आयात गरेको छ ।

पाँचौं स्थानमा मलेसियन ब्राण्ड प्रोटोन रहेको छ । जगदम्बा मोटर्सले असोजमा प्रोटोनका १३७ युनिट ईभी आयात गरेको छ । कम्पनीले इमास ५ र इमास ७ एसयूभी नेपाल भित्र्याएको हो ।

त्यसैगरी, छैटौं स्थानमा रहेको लिपमोटरका १२२ युनिट ईभी आयात भएका छन् । सांग्रिला मोटर्सले बी०३ एक्स, बी १० र सी १० मोडल भित्र्याएको हो ।

सातौं स्थानमा रहेको चीनमा उत्पादित एमजीका ११५ युनिट कार पारामाउन्ट मोटर्सले आयात गरेको छ । कम्पनीले एमजी एस५, एस६ लगायतका मोडल ल्याएको हो ।

आठौं स्थानमा केई ब्राण्ड रहेको छ । लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले संयुक्त रूपमा ८० युनिट केई ईभी आयात गरेका छन् ।

नवौं स्थानमा भारतमा उत्पादित एमजीका ६० युनिट कार रहेका छन् । जीओ अटोमोबाइल्सले विण्डसर ईभी, कोमेट ईभी र हेक्टर टोमहक ईभी आयात गरेको हो ।

अन्य ब्राण्डमध्ये जेएमईभीका ५५, ग्रेटवाल मोटरका ५४, दीपलका ४५, हुन्डाईका ४०, आर्कफक्सका ३९, महिन्द्राका ३५ र वुलिङका ३० युनिट आयात भएका छन् । यसबाहेक बीएडब्लूका २०, स्काइवेलका १७, सिट्रोनका १०, जिलीका ८, सुटलेजका २ र होङ्छीको एउटा युनिट नेपाल भित्रिएको भन्सार तथ्यांकमा उल्लेख छ ।

असोजको आयात विवरणले नेपाली विद्युतीय कार बजारमा बीवाइडी र डोङफेङको बलियो उपस्थिति देखाएको छ । कुल आयातको आधाभन्दा बढी हिस्सा यी दुई ब्राण्डले ओगट्दा टाटा, चेरी र प्रोटोन क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा देखिएका छन् ।