अब जग्गासम्बन्धी सेवा स्थानीय तहबाटै, एक महिनाभित्र सबै पालिकामा लागू गर्ने सरकारको तयारी

Nov 02, 2026 11:01 AM Merolagani



अब जग्गासम्बन्धी प्रशासनिक सेवा लिन मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म राज्य र नागरिकबीचको दूरी घटाउनु रहेको उल्लेख गरेका छन् । राज्यका सेवा सुविधा लिन नागरिक टाढाका कार्यालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यक कार्यालय र सेवा नागरिकसम्म पुर्‍याउनु यसको लक्ष्य रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको अभिन्न अंगका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने लक्ष्य राखिएको छ ।