सरकारले सञ्चालन गरेको ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रमार्फत बिग मार्टबाट किनमेल गरेका जनकपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको रोचक सहभागिता रहेको थियो। कार्यक्रमस्थलबाटै १० लाख रुपैयाँको बम्पर उपहार जित्ने उपभोक्तालाई प्रत्यक्ष टेलिफोन सम्पर्क गरिएको थियो। पुरस्कारबारे सुरुमा अनविज्ञ रहेका ती विजेताले आफू नेपाल प्रिमियर लिग (एनपिएल) मा ‘जनकपुर बोल्ट्स’को समर्थक रहेको बताएका थिए। संयोगवश कार्यक्रममै उपस्थित जनकपुर बोल्ट्स तथा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललितनारायण राजवंशीले विजेतासँग फोनमा कुराकानी गर्दै बधाई दिएका छन्। आफ्नै टोलीका खेलाडीबाट १० लाखको पुरस्कार जितेको खबर पाएपछि उत्साहित बनेका ती विजेताले पुरस्कार रकमले आफ्नो घर बनाउने खुसी व्यक्त गरेका छन्।
विजेता उपभोक्ताले गत कात्तिक ५ गते बिग मार्टबाट सामान खरिद गरी बिलको विवरण प्रणालीमा प्रविष्ट गरेका थिए। उनलाई खरिद गरिएको सक्कल बिल लिएर जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी कागजी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। प्रक्रिया पूरा भएपछि आगामी मङ्सिर १ गते काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा अर्थमन्त्रीको हातबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिने आयोजकले जनाएको छ।
उपभोक्तामाझ सामान किन्दा अनिवार्य बिल लिने संस्कृतिको विकास गर्न सरकारले यो योजना अघि सारेको हो। योजना अन्तर्गत कात्तिक १ देखि १५ गतेसम्म प्रविष्ट भएका बिलहरूमध्येबाट १५ जना दैनिक विजेता र १ जना बम्पर विजेता गरी कुल १६ जना भाग्यशाली विजेता घोषित भएका छन्।
कार्यक्रममा बोल्दै क्रिकेटर राजवंशीले प्रत्येक खरिदबिक्रीमा बिल लिने बानीको ठूलो महत्त्व रहेको बताएका छन्। उनले एकपटक रेस्टुरेन्टमा खाना खाँदा अर्का एक व्यक्तिले बिलको फोटो खिचिरहेको देखेपछि प्यान नम्बरसहितको बिल प्रणालीमा चढाउँदा पुरस्कार जित्न सकिने जानकारी पाएको आफ्नै अनुभव समेत सुनाएका थिए। राजवंशीले करदाता प्रोत्साहन कार्यक्रमबारे सहरी क्षेत्रमा मात्र नभई दैनिक किनमेल गर्ने ग्रामीण भेगका सर्वसाधारणसम्म पनि व्यापक सूचना पुर्याउनुपर्ने सुझाव दिएका छन्।
अर्का क्रिकेटर दिलीप नाथले नागरिकलाई आफूले पाएका प्रत्येक बिल सुरक्षित राख्न आग्रह गरेका छन्। बिल सुरक्षित राख्दा उपभोक्ता अधिकार सुरक्षित हुनुका साथै यस्तै ठूला पुरस्कार जित्ने अवसरसमेत प्राप्त हुने उनको भनाइ छ। त्यस्तै, ब्याटर लोकेश बमले विगतमा कर छलीका विषय सुनिने गरेको स्मरण गर्दै अहिले नागरिक स्वयंले बिल खोज्ने र माग्ने क्रम बढ्नुले अर्थतन्त्र र पूँजी निर्माणमा सकारात्मक सन्देश दिएको बताएका छन्।
कार्यक्रमको अन्त्यमा क्रिकेटर राजवंशीले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) लाई सफल बनाउन मैदानमै पुगेर अथवा डिजिटल माध्यमबाट नेपाली क्रिकेटलाई साथ र हौसला दिन खेलप्रेमीहरूसँग अनुरोध गरेका छन्।