जब जब बैंकको रिपोर्ट आउँछ, त्यसपछि शेयर बजार किन घट्छ ? आज घट्नुको कारण यस्तो

Nov 02, 2026 05:38 PM Merolagani



सुवास निरौला

सोमबार बिहान शेयर कारोबार सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमा वाणिज्य बैंकहरूको वित्तीय विवरणलाई लिएर निकै चर्चा चल्यो। बजारका सक्रिय लगानीकर्ता सुभाषचन्द्र भट्टराईले उत्साहित हुँदै लेखे—

“बचत र FD बाट पाउने % घटेको, कम्पनीहरूको Yield बढेको, बैंकहरूले ४३% Growth (Q1) गरेका छन्! हेरौँ बजारले कसरी Entertain गर्ने रहेछ आज....”

तर, उक्त स्टाटसमा अर्का प्रयोगकर्ता दीपक श्रेष्ठले गरेको छोटो टिप्पणी—“जब जब बैंकको रिपोर्ट आउँछ, बजार घटेको इतिहास छ,” नै अन्ततः दिनभरको कारोबारमा अक्षरशः सत्य साबित भयो। बैंकहरूको खुद नाफा ४५ प्रतिशतले बढेको विवरण सार्वजनिक भएको भोलिपल्टै नेप्से परिसूचक ३२.६५ अङ्क (१.२१ प्रतिशत) ले ओरालो लागेर २ हजार ६५७.५० बिन्दुमा ओर्लिएको छ।

दिनभर तीव्र उतारचढाव देखिएको बजारमा अन्तिम समयसम्म २५२ वटा कम्पनीको शेयर मूल्य घट्दा जम्मा २१ वटा कम्पनीको मात्र मूल्य बढ्यो। यद्यपि, बजार घटे पनि कारोबार रकममा भने उत्साहजनक सहभागिता देखिएको छ। दिनभरिमा ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता शेयर कुल ७० हजार २२८ पटक किनबेच हुँदा ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

‘बजार घट्नुपर्ने कुनै नकारात्मक कारण छैन, प्रफिट बुकिङ मात्रै हो’ : छोटेलाल रौनियार

बैंकहरूको उत्साहजनक रिपोर्ट आउँदा पनि बजार घट्नुको भित्री कारणबारे नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बजार घट्नुपर्ने कुनै गम्भीर वा नकारात्मक कारण नरहेको स्पष्ट पारेका छन्।

कुराकानीका क्रममा पूर्वअध्यक्ष रौनियारले भने, “बैंकहरूको वित्तीय रिपोर्ट ओभरअलमा राम्रै आएको छ। बजारमा रिपोर्ट खराब आएको वा कुनै सेन्सेटिभ नकारात्मक घटना भएर बजार घटेको बिल्कुलै होइन। अघिल्ला दिनहरूमा धेरै खरिद (बाइङ) भइसकेको हुनाले लगानीकर्ताले झट्ट नाफा सुरक्षित (प्रफिट बुक) गरिहालौँ भन्ने मनोविज्ञानले गर्दा आज बिक्री चाप बढेको देखिन्छ।”

बजार घटे पनि बैंकिङ क्षेत्रप्रतिको आकर्षण कायमै रहेको उनको दाबी छ। “अस्ति-अस्ति रिपोर्ट आउनासाथ बैंकहरूको मूल्य अलिअलि बढेको थियो, आज समग्र बजार घट्दा पनि एनआईसी एसिया लगायतका केही बैंकहरूको मूल्य बढेको छ। ग्लोबल आइएमई बैंककै मात्र १० लाख कित्ताभन्दा बढी शेयर किनबेच हुनुले कारोबार मजबुत रहेको देखाउँछ,” रौनियारले भने।

उनले घटेको बजारलाई नयाँ लगानीकर्ताका लागि ‘अवसर’ का रूपमा चित्रण गरेका छन्। “किन्ने मान्छेका लागि त यो घटेको समय एउटा राम्रो अपर्चुनिटी (अवसर) हो। बजारको समग्र दिशा (Trend) सकारात्मक नै छ, आगामी दिनमा बजार राम्रै गतिमा अघि बढ्छ,” उनले उल्लेख गरे।

किन दोहोरिन्छ रिपोर्टपछि बजार घट्ने इतिहास?

आजको बजार विश्लेषण गर्दा शेयर बजारमा स्थापित ‘हल्लामा किन्नु, समाचार आएपछि बेच्नु’ (Buy the rumour, sell the news) भन्ने मान्यताले मुख्य भूमिका खेलेको देखिन्छ। पहिलो त्रैमासमा बैंकहरूको वित्तीय स्थिति सुध्रिने अनुमानका आधारमा अल्पकालीन कारोबारीहरूले पहिले नै शेयर सङ्कलन गरेका थिए। आइतबार साँझ अधिकांश वाणिज्य बैंकहरूको रिपोर्ट सार्वजनिक हुनासाथ उनीहरूले सोही समाचारलाई अवसर बनाएर नाफा सुरक्षित गर्दा चौतर्फी बिक्री चाप देखियो।

यसबाहेक, खुद नाफा ४५ प्रतिशतले बढेर १९ अर्ब १४ करोड रुपैयाँ नाघेको देखिए तापनि इम्पेयरमेन्ट चार्ज, खराब कर्जा (NPL) र नियामकीय जगेडाका कारण अधिकांश बैंकहरूको ‘वितरणयोग्य नाफा’ (Distributable Profit) अझै कमजोर रहनुले समेत लाभांशमुखी लगानीकर्तालाई केही सतर्क बनाएको छ।

कारोबार विवरण

घट्दो बजारमा पनि विन नेपाल लघुवित्त (BENH) को शेयर मूल्यमा १३.५८ प्रतिशतको उच्च वृद्धि देखियो। त्यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर ८.७७ प्रतिशत र एनआईसी एसिया बैंक (NICA) को शेयर मूल्य ३.०२ प्रतिशतले बढेर ३४१ रुपैयाँ पुग्यो।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर (GHL) ३७ करोड ६३ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। ग्लोबल आइएमई बैंक (GBIME) को २९ करोड ४२ लाख, कुमारी बैंक (KBL) को २७ करोड ९१ लाख र लुम्बिनी विकास बैंक (LBBL) को २३ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो।

वित्तीय आधारहरू (घट्दो ब्याजदर र तरलता) सकारात्मक रहेकाले आजको गिरावट तात्कालिक नाफा सुरक्षित गर्ने नियमित प्राविधिक समायोजन (Correction) मात्र रहेको र दीर्घकालीन लगानीकर्ताका लागि यो समय उपयुक्त अवसर बन्न सक्ने बजार जानकारहरूको भनाइ छ।