प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता (२०८२ चैत १३ देखि २०८३ कात्तिक १२ सम्म) को अवधिमा मात्रै सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।
खुला सीमाको फाइदा उठाउँदै हुने राजस्व छली, तस्करी र सीमापार अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले विशेष रणनीति अपनाएपछि यो सफलता मिलेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
हातहतियार र लागूऔषध कारोबारविरुद्ध आक्रामक कारबाही
उक्त सात महिनाको अवधिमा सीमा क्षेत्रबाट १७ नाल अवैध हातहतियार बरामद गरिएको छ भने सो कार्यमा संलग्न आठ जनालाई पक्राउ गरिएको छ।
त्यसैगरी, सीमापार लागूऔषध ओसारपसारमा संलग्न ४२१ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट ठूलो परिमाणमा गाँजा, चरेस, अफिम, खैरो हेरोइन (ब्राउन सुगर) का साथै विभिन्न प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सनहरू बरामद गरी कानुनी कारबाहीको दायरामा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।
मानव बेचबिखनको जोखिमबाट ११८ बालबालिकासहित १६७ को उद्धार
सीमा क्षेत्रलाई अवैध ओसारपसारका साथै मानव तस्करहरूले प्रयोग गर्न नदिन सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ। यस अवधिमा मानव बेचबिखन तथा ओसारपसारको गम्भीर जोखिममा परेका १६७ जनाको सकुशल उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन्। मानव बेचबिखन तथा ओसारपसारको धन्दामा संलग्न ९१ जना अभियुक्तलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ।
दशगजाबाट २३७ अवैध संरचना हटाइयो
सीमा अतिक्रमण नियन्त्रण तथा दशगजा क्षेत्रको संरक्षणतर्फ पनि उल्लेख्य कार्य भएको छ। सशस्त्र प्रहरीको सक्रियतामा दशगजाका ३५ स्थानमा गैरकानुनी रूपमा निर्माण गरिएका २३७ वटा संरचना हटाइएको छ।
त्यस्तै, १७ वटा स्थानमा दशगजा मिचेर गरिएको ७.४४८ बिघा जग्गाको खेतीपाती हटाई क्षेत्र खाली गराइएको छ। यसैगरी, सीमास्तम्भ तथा दशगजाको संरक्षणका लागि २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ।
सीमावासीसँग सम्बन्ध विस्तार र नागरिक सहायता
सुरक्षा कडाइका साथसाथै सीमावर्ती क्षेत्रका बासिन्दासँग सुमधुर सम्बन्ध कायम राख्न सशस्त्र प्रहरीले जनचेतनामूलक अभियानलाई समेत प्राथमिकतामा राखेको छ। यस अवधिमा सीमावासीसँगको सहकार्य र जनचेतना अभिवृद्धिका लागि २ हजार ८०६ वटा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएका छन्।
यसका अतिरिक्त, सीमा क्षेत्रमा सञ्चालित १४१ वटा सहायता कक्ष (Help Desk) मार्फत ३ लाख ४९ हजार ९०८ जना सर्वसाधारणले प्रत्यक्ष सेवा तथा सहायता प्राप्त गरेका छन् भने १३ वटा पर्यटक सहायता कक्षमार्फत १० हजार ६५४ जना विदेशी तथा आन्तरिक पर्यटक लाभान्वित भएको विवरणमा उल्लेख छ।