आर्थिक दृष्टिकोणबाट हेर्दा तिहारमा पुजिने देवी लक्ष्मीसँग शेयर बजारको गहिरो सम्बन्ध रहेको देखिन्छ। तिहारमा धनकी देवी लक्ष्मीको पूजा गरेर घरमा धन, सम्पत्ति र समृद्धिको कामना गरिन्छ। त्यसैले तिहार र शेयर बजारबीच आर्थिक समृद्धि, धनको परिचालन र भविष्यप्रतिको आशासँग आम लगानीकर्ताहरूको मनोवैज्ञानिक तथा व्यावहारिक सम्बन्ध जोडिएको हुन्छ।
हाम्रो समाजमा तिहारलाई उज्यालो, खुसी र समृद्धिको पर्वका रूपमा लिइन्छ। घरघरमा दीप प्रज्वलन गरिन्छ, धनकी देवी लक्ष्मीको आराधना गरिन्छ र घरमा धनधान्यको अभाव नहोस् तथा आर्थिक अवस्था बलियो बनोस् भन्ने कामना गरिन्छ। वर्षभरि गरेको मेहनतबाट आर्थिक सफलता प्राप्त होस् भन्ने अपेक्षा यस पर्वमा गरिएको हुन्छ।
यही समृद्धिको चाहना शेयर बजारका लगानीकर्ताले पनि गरेका हुन्छन्। लगानीकर्ताहरूले आफ्नो लगानीबाट राम्रो प्रतिफल प्राप्तिको कामना गरेका हुन्छन्। दोस्रो बजारमा गरिएको लगानीबाट आम्दानी बढाउने हरेक लगानीकर्ताको चाहना हुन्छ। दोस्रो बजारलाई 'पैसा कमाउने भन्दा पनि पैसा बनाउने' क्षेत्रको रूपमा व्याख्या गर्ने गरिएको पाइन्छ भने तुलनात्मक रूपमा यो जोखिमपूर्ण क्षेत्र पनि हो।

बजार बढेर सम्पत्ति वृद्धि हुने अपेक्षा गरे झैँ लक्ष्मीपूजा पनि समृद्धिको चाहना राखेर नै गरिएको हुन्छ। तिहारमा लक्ष्मीको पूजा धार्मिक आस्था र परम्परासँग सम्बन्धित हुन्छ भने शेयर बजारमा 'लक्ष्मी' भित्र्याउन लगानी, अध्ययन, धैर्य र सही निर्णयको खाँचो पर्छ। पूजा गरेर धनको कामना मात्र गरेर पुग्दैन, बजारमा सम्पत्ति सिर्जना गर्न कम्पनीको वास्तविक अवस्था र लगानीको जोखिम बुझ्न अनिवार्य हुन्छ।
धन परिचालनको साझा उद्देश्य
बजारलाई सामान्य अर्थमा पैसाको कारोबार हुने क्षेत्र मानिए तापनि यहाँ शेयरको किनबेच मात्र नभई सम्पत्ति तथा लगानी व्यवस्थापनको काम पनि भइरहेको हुन्छ। यसले लगानीलाई विभिन्न क्षेत्रमा परिचालन गर्ने अवसर दिएको हुन्छ। कम्पनीहरूले व्यवसाय विस्तार गर्न पूँजी जुटाउँछन् भने लगानीकर्ताले कम्पनीको स्वामित्वमा सहभागी भएर प्रतिफल प्राप्त गर्ने सम्भावना खोजेका हुन्छन्। सोही कारण पूँजी बजारलाई अर्थतन्त्रको महत्त्वपूर्ण अङ्गको रूपमा मान्यता दिइएको पाइन्छ।
तिहारमा लक्ष्मीपूजा गर्दा पनि धनको सदुपयोग, आर्थिक स्थिरता र समृद्धिको कामना गरिन्छ। धार्मिक मान्यताअनुसार आस्था र विधिबिना गरिएको पूजाले फल दिँदैन, उल्टै अपजस वा हानी हुन सक्छ। त्यसैगरी, शेयर बजारलाई पनि धन परिचालन र सम्पत्ति निर्माणको माध्यमका रूपमा बुझ्नुपर्छ। बजारमा प्रवेश गर्नु र सम्पत्ति निर्माण गर्नु सही निर्णय भएमा लगानीले मनग्य प्रतिफल दिन सक्छ, तर गलत निर्णय भएमा वर्षौंसम्मको लगानी समेत गुम्न सक्ने उच्च जोखिम हुन्छ। अनुशासनविना लक्ष्मीपूजा गर्दा वा शेयर बजारमा अन्धाधुन्ध लगानी गर्दा दुवै अवस्थामा धनको नाश हुन पुग्छ भन्ने मान्यता यहाँ मेल खान्छ।
शेयर बजारमा लक्ष्मी भित्र्याउन के गर्ने?
शेयर बजारमा 'लक्ष्मी' भन्नु नै लगानीको प्रतिफल हो। दोस्रो बजारबाट प्रतिफल पाउनको लागि बजारसँग सरोकार राख्ने गतिविधिहरूको बारेमा पूर्ण जानकार हुनुपर्छ। बजारमा लगानी गर्ने प्रत्येक व्यक्तिको उद्देश्य नाफा कमाउनु नै हो, तर बजारका सबै लगानीकर्ताले सधैँ नाफा कमाउँछन् भन्ने छैन। धेरैजसो लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था नबुझी वा सामाजिक सञ्जालमा आएका हल्लाका आधारमा मात्र खरिदबिक्रीको निर्णय गर्ने गरेका छन्। नेपाली बजारमा अरूले कमाएको नाफा देखेर सोही कम्पनीमा आँखा चिम्लेर लगानी गर्ने गलत परिपाटी पनि विद्यमान छ। लगानीकर्ताका यस्ता प्रवृत्तिले नै जोखिम निम्त्याउने गर्छ।
त्यसैगरी, नेप्से सूचक उकालो लाग्गिरहेको समयमा महँगो मूल्यमा किन्ने र बजार घट्न थाल्दा आत्तिएर घाटामा बिक्री गर्ने प्रवृत्तिले लगानीकर्तालाई थप नोक्सानी पुर्याउँछ। त्यसैले, बजारमा लक्ष्मी भित्र्याउने पहिलो आधार भनेको कम्पनीको आधारभूत पक्ष (Fundamental Analysis) बुझ्नु हो।
लगानीकर्ताले सम्बन्धित कम्पनीको प्रतिशेयर आम्दानी (EPS), प्रतिशेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात (PE Ratio), खुद नाफा, ऋणको अवस्था र व्यवसाय विस्तारको योजनाबारे जानकारी राख्नुपर्छ। साथै, विगतको लाभांश इतिहाससँगै भविष्यमा आम्दानी गर्न सक्ने क्षमताको पनि ख्याल गर्नुपर्छ। यसका साथै, प्राविधिक विश्लेषण (Technical Indicators) का संकेतहरूलाई पनि नजरअंदाज गर्नु हुँदैन भने सरकार र नियामक निकायले जारी गरेका नीतिगत व्यवस्थाहरूको बारेमा पनि लगानीकर्ता सचेत हुनुपर्छ।
जुवाको दाउ र शेयर बजार: लक्ष्मी भित्र्याउने कि गुमाउने?
तिहारमा रमाइलो र मनोरञ्जनका लागि जुवा, तास वा कौडा खेल्ने चलन पनि समाजमा रहेको पाइन्छ। यस्ता खेललाई पनि छिटो धन कमाउने परम्परागत माध्यमका रूपमा लिइन्छ, जहाँ थोरै रकम लगाएर धेरै जित्ने आशा गरिन्छ। तर, जुवामा एक पक्षले जि तिरहँदा अर्को पक्षले ठूलो हार व्यहोर्नुपरिरहेको हुन्छ।
यस अर्थमा, जुवा र शेयर बजारको सट्टेबाजीबीच केही समानता देखिन्छ किनकि दुवैमा छिटो पैसा कमाउने अपेक्षा हुन्छ। जुवामा जितेको रकम तत्काल प्राप्त हुन्छ भने हार्दा सबै गुम्छ। शेयर बजारमा पनि कारोबार गर्दा एक पक्षलाई नाफा हुँदा अर्को पक्षलाई नोक्सानी भइरहेको हुन्छ। यही कारणले कतिपयले शेयर बजारलाई जुवाको संज्ञा दिने गरेका छन्।
तर, जुवा र शेयर बजारको प्रकृति आधारभूत रूपमा फरक छ। जुवामा कुनै उत्पादनशील व्यवसाय वा सम्पत्ति सिर्जना हुँदैन, यो विशुद्ध भाग्य र जोखिमको खेल हो। शेयर बजारमा भने लगानीकर्ताले कुनै वास्तविक कम्पनीको स्वामित्व (शेयर) खरिद गरेका हुन्छन्। बजारमा गरिएको अल्पकालीन सट्टेबाजीलाई मात्र जुवाको भाष्यसँग दाँज्ने गरिएको हो।
तिहारमा लक्ष्मीपूजा गरेर घरमा धनसम्पत्ति र समृद्धिको कामना गरेझैँ, बजारमा पनि छिटो कमाउने लोभ वा 'लक्ष्मी भित्र्याउने' नाममा जुवाको जस्तो अन्धो जोखिम लिनु हुँदैन। बजारमा वास्तविक लक्ष्मी त्यतिबेला भित्रिन्छिन्, जतिबेला लगानीकर्ताको सम्पत्ति बढ्छ, कम्पनीको व्यवसाय विस्तार हुन्छ र समग्र बजारप्रतिको विश्वास बलियो बन्छ।