नेपालमा यस दिनलाई धन्वन्तरी दिवसका रूपमा पनि मनाइन्छ। सामान्यतया धनतेरसलाई सुनचाँदी, भाँडाकुँडा र नयाँ वस्तु किनमेल गर्ने दिनका रूपमा बढी चिनिन्छ। तर यसको धार्मिक र सांस्कृतिक महत्त्व सम्पत्तिको खरिदबिक्रीमा मात्र सीमित छैन। यो दिन स्वास्थ्य, चिकित्सा विज्ञान र मानव जीवनको रक्षासँग जोडिएको एउटा विशिष्ट परम्पराको स्मरण गर्ने अवसर पनि हो।
धन्वन्तरीलाई हिन्दू धर्मशास्त्रमा आयुर्वेदका देवता तथा चिकित्सा विज्ञानका अधिष्ठाता मानिन्छ। रोगबाट मुक्ति, स्वस्थ जीवन र दीर्घायुको कामनासँग उनको नाम जोडिएको छ।
समुद्र मन्थनबाट प्रकट भएका धन्वन्तरी
हिन्दू पुराणहरूमा वर्णित कथाअनुसार देवता र असुरबीच अमृत प्राप्तिका लागि समुद्र मन्थन गरिएको थियो। मन्दराचल पर्वतलाई मदानी र वासुकी नागलाई नेती बनाएर गरिएको समुद्र मन्थनबाट क्रमशः विभिन्न रत्न, वस्तु तथा दिव्य शक्तिहरू प्रकट भएका थिए।
त्यही समुद्र मन्थनका क्रममा हातमा अमृतले भरिएको कलश लिएर धन्वन्तरी प्रकट भएको धार्मिक विश्वास छ। उनलाई विष्णुको अंश वा अवतारका रूपमा समेत वर्णन गरिएको पाइन्छ। उनको हातमा रहेको अमृतको कलशले जीवन, आरोग्यता र अमरत्वको प्रतीकात्मक अर्थ बोकेको छ।
धन्वन्तरीको यो कथाले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ– मानव जीवनमा धनसम्पत्तिभन्दा स्वास्थ्यको महत्त्व ठूलो छ। सम्पत्ति भएर पनि स्वस्थ जीवन छैन भने त्यसको उपभोग सम्भव हुँदैन। त्यसैले धनतेरसको दिन स्वास्थ्यका देवताको पूजा गर्ने परम्परा विकास भएको मानिन्छ।
धन्वन्तरीको वास्तविक पहिचान : देवता कि ऐतिहासिक वैद्य ?
धन्वन्तरीलाई बुझ्दा धार्मिक आख्यान र चिकित्सा इतिहासलाई छुट्याएर हेर्नुपर्छ। हिन्दू धर्मग्रन्थहरूमा उनी देवताका चिकित्सक र आयुर्वेदका जनकका रूपमा चित्रित छन्। तर ऐतिहासिक दृष्टिले धन्वन्तरी एउटै व्यक्तिको नाम हो वा आयुर्वेदको लामो विकासक्रममा स्थापित भएको चिकित्सा परम्पराको प्रतीक हो भन्ने विषयमा पूर्ण एकमत छैन।
विशेषगरी आयुर्वेदको प्राचीन ग्रन्थ सुश्रुत संहितामा धन्वन्तरीलाई शल्यचिकित्साको ज्ञान दिने आचार्यका रूपमा प्रस्तुत गरिएको छ। काशीका राजा दिवोदास र धन्वन्तरीसँग सम्बन्धित परम्परागत विवरणहरू पनि पाइन्छन्। सुश्रुतले धन्वन्तरीबाट चिकित्सा ज्ञान प्राप्त गरेको वर्णनले उनलाई प्राचीन शल्यचिकित्सा परम्पराको महत्त्वपूर्ण गुरुका रूपमा स्थापित गरेको छ।
आयुर्वेद र शल्यचिकित्सामा योगदान
धन्वन्तरीको सबैभन्दा ठूलो योगदानको चर्चा गर्दा आयुर्वेदको विकास र शल्यचिकित्साको ज्ञान परम्परालाई छुटाउन मिल्दैन। आयुर्वेदको अर्थ जीवनसम्बन्धी ज्ञान हो। यसले रोग लागेपछि उपचार गर्ने मात्र होइन, रोग लाग्न नदिने जीवनशैली, खानपान, निद्रा, व्यायाम र मानसिक सन्तुलनलाई पनि महत्त्व दिन्छ।

धन्वन्तरीसँग जोडिएको सुश्रुत परम्पराले शल्यचिकित्साको विकासमा विशेष स्थान ओगटेको छ। सुश्रुत संहितामा शल्यक्रिया, घाउको उपचार, शरीरको बनावट, हड्डी तथा जोर्नीसम्बन्धी समस्या, शल्यक्रियाका उपकरण र नाकको पुनर्निर्माणजस्ता विषयमा विस्तृत चर्चा गरिएको छ।
त्यससमयको चिकित्सा ज्ञानमा शल्यक्रियाका लागि विभिन्न उपकरणको प्रयोग, घाउको व्यवस्थापन र शल्यक्रियापछिको हेरचाहलाई महत्त्व दिइएको थियो। यसले प्राचीन दक्षिण एसियामा शल्यचिकित्सासम्बन्धी व्यवस्थित ज्ञान विकास भएको देखाउँछ। तर यी सबै उपलब्धिलाई धन्वन्तरी नामका एउटै ऐतिहासिक व्यक्तिको व्यक्तिगत आविष्कार भन्न मिल्दैन। यो पुस्तौँदेखि विकसित चिकित्सा ज्ञानको परिणाम पनि हो।
त्यस्तै, आयुर्वेदको अर्को महत्त्वपूर्ण आधार चरक संहिता हो। यसमा औषधि, रोगको निदान, शरीरको प्रकृति, खानपान र उपचार पद्धतिबारे विस्तृत व्याख्या छ। चरक र सुश्रुतसँग सम्बन्धित चिकित्सा परम्पराले आयुर्वेदलाई व्यवस्थित ज्ञान प्रणालीका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
धन्वन्तरी र औषधीय वनस्पतिको महत्त्व
धन्वन्तरीको चर्चा गर्दा जडीबुटी र औषधीय वनस्पतिको प्रसङ्ग पनि जोडिन्छ। आयुर्वेदले प्रकृतिमा पाइने वनस्पति, खनिज तथा अन्य प्राकृतिक स्रोतलाई औषधि निर्माणको आधार बनाउँदै आएको छ।
नेपालजस्तो जैविक विविधताले सम्पन्न देशका लागि यो विषय अझ महत्त्वपूर्ण छ। हिमालदेखि तराईसम्म पाइने जटामसी, यार्सागुम्बा, चिराइतो, टिमुर, गुर्जो, अश्वगन्धा र अन्य औषधीय वनस्पतिमा आधारित उद्योग विकास गर्न सकिने सम्भावना छ।
आज विश्वभर प्राकृतिक चिकित्सा,पोषण,जीवनशैली र रोकथाममुखी स्वास्थ्य सेवाप्रति चासो बढिरहेको छ। यस्तो अवस्थामा आयुर्वेदको परम्परागत ज्ञानलाई आधुनिक वैज्ञानिक अनुसन्धानसँग जोड्नु आवश्यक छ। प्रमाणित उपचारलाई प्रोत्साहन गर्ने र अप्रमाणित दाबीबाट मानिसलाई जोगाउने काम पनि उत्तिकै महत्त्वपूर्ण छ।
नेपालमा पनि आयुर्वेदलाई केवल उपचार पद्धतिमा सीमित नगरी औषधीय वनस्पतिको खेती, प्रशोधन, अनुसन्धान, औषधि उद्योग, जडीबुटी निर्यात र ग्रामीण उद्यमसँग जोड्न सकिन्छ। यसबाट स्वास्थ्य सेवा विस्तारसँगै किसानको आम्दानी र रोजगारी सिर्जना गर्ने अवसरसमेत प्राप्त हुन सक्छ।