तिहारको झिलिमिलीमा पटाकाको धन्दा : चीनबाट सुरु भएको आतिसबाजी भारत हुँदै नेपालमा प्रवेश, कसरी बन्यो अवैध व्यापारको ठूलो बजार ?

Nov 10, 2026 05:12 PM Merolagani



तिहारलाई उज्यालोको पर्व भनिन्छ । घरघरमा दीप प्रज्वलन,लक्ष्मीपूजा,देउसीभैलो र रंगोलीले वातावरण उत्सवमय हुन्छ।

तर पछिल्ला वर्षहरूमा तिहारको अर्को परिचय पनि थपिएको छ– पटाकाको आवाज, आकाशमा देखिने आतिसबाजी र विस्फोटक पदार्थको कारोबार।

रोचक कुरा के छ भने, पटाका पड्काउने चलन हिन्दू धर्मको मूल धार्मिक परम्परासँग अभिन्न रूपमा जोडिएको प्राचीन अभ्यास होइन । यसको इतिहास बारुदको आविष्कार, चीनबाट अन्य मुलुकमा फैलिएको आतिसबाजीको प्रविधि, भारतका राजदरबार र पछि दीपावलीको उत्सवसँग जोडिन्छ।

नेपालमा भने पटाका उत्पादन, आयात र बिक्रीवितरणमा कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि प्रत्येक वर्ष तिहार र छठलाई लक्षित गरेर ठूलो परिमाणमा अवैध कारोबार हुने गरेको छ। यसले एउटा अनौठो आर्थिक विरोधाभास देखाउँछ– राज्यले प्रतिबन्ध लगाएको वस्तुको माग भने हरेक वर्ष चाडपर्वसँगै बढिरहेको छ।

पटाकाको इतिहास : चीनबाट भारत हुँदै दीपावलीसम्म

पटाका र आतिसबाजीको इतिहास बुझ्न बारुदको इतिहास बुझ्नुपर्छ। बारुदको प्रारम्भिक विकास चीनमा भएको मानिन्छ। चीनमा धार्मिक समारोह, उत्सव र दुष्ट आत्मा भगाउने विश्वासका साथ आवाज निकाल्ने बाँस तथा बारुदजन्य सामग्री प्रयोग गरिन्थ्यो। पछि त्यही प्रविधि विकसित हुँदै विभिन्न प्रकारका आतिसबाजीमा परिणत भयो।

व्यापार, युद्ध र सांस्कृतिक सम्पर्कका माध्यमबाट बारुद तथा आतिसबाजीको प्रविधि एसियाका अन्य भागमा फैलियो।

भारतीय इतिहासकार पीके गोदेले सन् १९५० मा प्रकाशित आफ्नो अनुसन्धान History of Fireworks in India between 1400 and 1900 मा भारतमा दीपावलीका अवसरमा पटाका पड्काउने चलन सन् १४०० पछि विकसित भएको उल्लेख गरेका छन्।

नेपालमा पटाका पड्काउने चलन कसरी भित्रियो ?

नेपालमा परम्परागत रूपमा तिहारको समयमा दीप प्रज्वलन, देउसीभैलो, भैलो, भजनकीर्तन र विभिन्न सांस्कृतिक गतिविधि गर्ने चलन थियो। पटाका पड्काउनु नेपाली तिहारको पुरानो मौलिक परम्परा थिएन।

पुराना सामाजिक चलनमा काठमाडौंमा तोप पड्काएर र कतिपय ठाउँमा इजाजतप्राप्त बन्दुक पड्काएर उत्सवको सुरुवात वा विशेष अवसरको संकेत दिने प्रचलन रहेको विवरण पाइन्छ। तर त्यसलाई अहिलेको बजारमा पाइने पटाकासँग एउटै परम्परा मान्न मिल्दैन।

भारतको दीपावलीमा आतिसबाजी गर्ने चलन विस्तार हुँदै जाँदा सीमावर्ती नेपाली क्षेत्रमा पनि त्यसको प्रभाव परेको देखिन्छ। विशेषगरी तराईका सहर र बजारबाट सुरु भएको पटाका प्रयोग पछिल्ला दशकमा काठमाडौंलगायत पहाडी सहरहरूमा समेत फैलिएको छ।

यसमा भारतीय बजारमा सहज उपलब्धता, मनोरञ्जनको नयाँ शैली, बालबालिकाको आकर्षण र सामाजिक प्रतिस्पर्धाले भूमिका खेलेका छन्।

आज कतिपय परिवारले तिहारमा पटाका नपड्काए उत्सव अधुरो भएको ठान्न थालेका छन्। तर यसको आर्थिक, वातावरणीय र स्वास्थ्यसम्बन्धी मूल्यबारे भने पर्याप्त बहस भएको छैन।

नेपालमा पटाकाको कारोबार : प्रतिबन्धित वस्तुको आकर्षक अवैध बजार

नेपालमा पटाकाको कारोबारको सबैभन्दा रोचक पक्ष यसको कानुनी अवस्था र वास्तविक बजारबीचको अन्तर हो। नेपालमा पटाकाको आयात, ओसारपसार, भण्डारण, बिक्री र प्रयोगलाई सामान्य उपभोग्य वस्तुको कारोबारजस्तो खुला अनुमति छैन। विस्फोटक पदार्थसम्बन्धी कानुनी व्यवस्थाले यसलाई नियन्त्रण गरेको छ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा १३९ ले इजाजतपत्रबिना विस्फोटक पदार्थको खरिद, बिक्री, भण्डारण, ओसारपसार, प्रयोग, आयात र निर्यात गर्न निषेध गरेको छ। पटाका तथा आतिसबाजीलाई सामान्य विस्फोटक पदार्थको वर्गमा राखिएको छ। यस्तो कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

कति रुपैयाँको कारोबार हुन्छ ?

पटका पड्काउँदा केही सेकेन्डमै पैसा धुवाँ र आवाजमा परिणत हुन्छ। तर विश्व अर्थतन्त्रमा यही धुवाँ र आवाजसँग जोडिएको एउटा ठूलो व्यापार छ। चीनका कारखानादेखि अमेरिकाका बजारसम्म, भारतको दीपावलीदेखि युरोपको नयाँ वर्षसम्म पटका र आतसबाजीको कारोबार अर्बौँ डलरमा फैलिएको छ।

रोचक कुरा के छ भने नेपालमा पटका पड्काउने सांस्कृतिक चलन व्यापक भए पनि यसको वैध आयात निकै न्यून देखिन्छ। अर्कोतर्फ, हरेक तिहार र छठमा सीमावर्ती नाकाबाट पटका भित्रिने, प्रहरीले बरामद गर्ने र बजारमा बिक्री हुने क्रम रोकिएको छैन। यसले नेपालमा पटका बजारको वास्तविक आकार सरकारी आयात तथ्यांकले देखाएभन्दा निकै ठूलो हुन सक्ने संकेत गर्छ।

विश्वको पटका बजार

विश्व बजारको आकारबारे IndexBox को अध्ययनले सन् २०२४ मा उपभोग मूल्य करिब २.५ अर्ब अमेरिकी डलर र उत्पादन परिमाण करिब ६.४१ लाख टन अनुमान गरेको छ। सन् २०३५ सम्म विश्व आतसबाजी बजार ३.३ अर्ब डलर पुग्न सक्ने IndexBox को अर्को प्रक्षेपण छ।

विश्वको पटका बजारमा चीनको प्रभुत्व निकै ठूलो छ। विशेषगरी हुनान प्रान्तको लिउयाङ (Liuyang) सहरलाई विश्वकै प्रमुख आतसबाजी उत्पादन केन्द्र मानिन्छ।

चीनको सरकारी हुनान प्रान्तीय वेबसाइटमा प्रकाशित विवरणअनुसार लिउयाङले चीनको निर्यात हुने पटका तथा आतसबाजीको करिब ७० प्रतिशत उत्पादन गर्छ।

सन् २०२४ मा लिउयाङको आतसबाजी उद्योगको निर्यात मूल्य ६ अर्ब ५८ करोड चिनियाँ युआन पुगेको थियो। अघिल्लो वर्षको तुलनामा यो २४.९ प्रतिशत बढी थियो।  त्यहाँबाट अमेरिका, युरोप, रुस, मलेसिया र अन्य देशमा आतसबाजी निर्यात हुन्छ।

अमेरिका : अमेरिकामा जुलाई ४ को स्वतन्त्रता दिवस आतसबाजी उद्योगको सबैभन्दा ठूलो व्यावसायिक अवसरमध्ये एक हो। नयाँ वर्ष, खेलकुद प्रतियोगिता र अन्य सार्वजनिक समारोहमा पनि यसको प्रयोग हुन्छ।

World Bank को WITS तथ्यांकअनुसार सन् २०२५ मा अमेरिकाले ५२ करोड १८ लाख अमेरिकी डलर मूल्यका पटका आयात गरेको थियो। परिमाणका हिसाबले १४ करोड ९ लाख केजी थियो।

युरोप : जर्मनी, नेदरल्यान्ड्स, पोल्यान्ड, इटाली र बेलायतमा नयाँ वर्षको आतसबाजीको ठूलो बजार छ। जर्मनीमा नयाँ वर्षको अवसरमा हुने आतसबाजी विशेष लोकप्रिय छ। तर ध्वनि प्रदूषण, पशुपन्छीको सुरक्षा र वातावरणीय प्रभावका कारण विभिन्न सहरमा यसको प्रयोग नियन्त्रण गर्ने बहस पनि चलिरहेको छ।

सन् २०२५ मा जर्मनीले करिब २० करोड ३५ लाख डलर बराबरको पटका आयात गरेको WITS तथ्यांक छ।

भारत : भारतमा दीपावली पटका उद्योगका लागि सबैभन्दा ठूलो मौसमी बजार हो। दीपावलीबाहेक विवाह, धार्मिक उत्सव, नयाँ वर्ष र विभिन्न सार्वजनिक समारोहमा पनि आतसबाजी प्रयोग हुन्छ।