हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

Nov 08, 2026 06:30 AM Merolagani



हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।

कम्पनीको आईपीओमा अब स्थानिय बासिन्दाहरुले मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै जुनसुकै समयमा पनि सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सोमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको २० मेगावाटको साँगु खोला जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष रहेको छ। यस आयोजनामार्फत कमपनीले २०८२ असोज २५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।

त्यस्तै, ५.५ मेगावाटको साँगु खोला १ जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.५६ वर्ष रहेको छ। यस आयोजनामार्फत कम्पनीले २०८२ साउन ८ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालय तथा लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।