हिउँदमा साढे ४ सय मेगावाट बिजुली अपुग हुने, सरकारले कसरी व्यवस्थापन गर्दैछ?

Nov 18, 2026 11:03 AM Merolagani



हरिप्रसाद शर्मा

नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन कम हुने र बाढीका कारण क्षतिग्रस्त आयोजनाहरू सञ्चालनमा आउन नसक्दा यस वर्ष विद्युत् अभाव हुने अनुमान गरिएको हो ।

 

नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा करिब साढे ४ सय मेगावाट विद्युत् अपुग हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार हिउँदयाममा स्वदेशी मागअनुसार विद्युत् आपूर्ति गर्न प्राधिकरणले आवश्यक तयारी गरिरहेको छ ।

यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाहरू अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । बाढीका कारण करिब ३ देखि ४ सय मेगावाट विद्युत् उत्पादन क्षमता प्रणालीबाट बाहिर रहेको छ । ती आयोजनाको पुनर्निर्माण तथा मर्मतसम्भारमा ढिलाइ हुँदा हिउँदयाममा विद्युत् आपूर्तिमा थप दबाब पर्ने देखिएको छ ।

भोटेकोशीसँगै कालीगण्डकी नदीमा आएको बाढीले पनि जलविद्युत् आयोजनाहरूमा क्षति पुर्‍याएको थियो । प्रभावित आयोजनाहरूको पुनर्निर्माण पूरा हुन नसक्दा तिनको विद्युत् उत्पादन कहिलेदेखि नियमित हुन्छ भन्ने अनिश्चित छ । यसले आगामी हिउँदको विद्युत् व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ ।

हिउँदयाममा नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूले वर्षायामको तुलनामा निकै कम विद्युत् उत्पादन गर्छन् । हाल प्राधिकरणको ग्रिडमा करिब ४ हजार ३०० मेगावाट विद्युत् जडित क्षमता रहे पनि हिउँदमा यसको ठूलो हिस्सा उपयोग गर्न सकिने अवस्था हुँदैन ।

उपलब्ध तथ्यांकअनुसार हिउँदयाममा जलविद्युत् उत्पादन घटेर कुल जडित क्षमताको करिब एक तिहाइमा सीमित हुने अनुमान छ । यस आधारमा स्वदेशी उत्पादन करिब १ हजार ४५० मेगावाट हाराहारीमा रहने देखिन्छ । तर, जाडो बढेसँगै विद्युत् खपत बढ्ने र बिहान तथा बेलुकाको पिक आवरमा माग १ हजार ९०० देखि २ हजार मेगावाटसम्म पुग्ने प्राधिकरणको अनुमान छ ।

विशेषगरी बिहान र बेलुकाको समयमा घरायसी प्रयोजनका लागि विद्युत् खपत बढ्ने गर्छ । खाना पकाउने, पानी तताउने, हिटरलगायत विद्युतीय उपकरणको प्रयोग बढ्दा हिउँदमा विद्युतकाे माग उच्च हुने गरेको छ । यस्तो अवस्थामा स्वदेशी उत्पादनले मात्रै माग धान्न कठिन हुने देखिएको छ ।

अपुग हुने विद्युत् व्यवस्थापनका लागि प्राधिकरणले भारतबाट विद्युत् आयात गर्ने विकल्पलाई प्राथमिकतामा राखेको छ । त्यस्तै, सोलार तथा अन्य नवीकरणीय ऊर्जा स्रोतको उपयोग बढाएर पनि आपूर्ति व्यवस्थापन गर्ने तयारी गरिएको छ । तर, भारतबाट आवश्यक परिमाणमा विद्युत् आयात गर्न उपलब्धता, प्रसारण पूर्वाधार र आयात अनुमति महत्त्वपूर्ण हुनेछन् ।

यसरी हेर्दा आगामी हिउँदयाममा नेपालको विद्युत् प्रणाली वर्षायामको तुलनामा बढी आयातमा निर्भर हुनुपर्ने देखिन्छ । बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण समयमै हुन नसकेमा र विद्युत् माग अपेक्षाभन्दा बढी बढेमा आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्छ ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।