तिहार र छठ पर्वको लामो बिदापछि खुलेको शेयर बजार पहिलो दिनमै घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ। बजारमा चार अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया भएपनि लामो बिदापछि खुलेको बजारमा आएको गिरावटलाई लगानीकर्ताले अर्थमन्त्रीको अभिव्यक्ति र निजी क्षेत्रप्रतिको व्यवहारसँग जोडेर हेरेका छन्।
विशेषगरी अर्थमन्त्री वाग्लेले मंगलबार राष्ट्रिय कर दिवसका अवसरमा दिएको अभिव्यक्तिले लगानीकर्तामा थप संशय पैदा गरेको उनीहरूको बुझाइ छ। अर्थमन्त्री वाग्लेले २१ बुँदे सुधार कार्यक्रमपछि शेयर बजार स्वस्थ बाटोमा अघि बढिरहेको र विगतमा अव्यवस्थित तथा अनियमितताको क्षेत्र बनेको बजारलाई सफा गर्दै नियामकीय दायरामा ल्याउने काम भइरहेको बताएका थिए। बजारलाई व्यवस्थित र पारदर्शी बनाउने सरकारको उद्देश्य सकारात्मक भएपनि त्यसलाई प्रस्तुत गर्ने भाषाशैली र समयले बजारमा फरक सन्देश प्रवाह गरेको लगानीकर्ताको बुझाई छ।
अर्थमन्त्रीले सोही कार्यक्रममा राज्यका तर्फबाट लगानीका लागि आवश्यक परिस्थिति अनुकूल बनाउँदा पनि निजी क्षेत्र उद्योग तथा व्यवसाय विस्तार गर्न हिचकिचाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। बैंकिङ प्रणालीमा पैसा हुँदासमेत लगानी गर्न डराउने प्रवृत्तिप्रति प्रश्न उठाउँदै उनले निजी क्षेत्रको व्यावसायिक आचरण र चरित्रमाथि नै प्रश्न उठाउनुपर्ने अवस्था आएको टिप्पणी गरेका थिए। सरकार गठन भएदेखि नै निजी क्षेत्रले सरकारको कार्यशैलीप्रति पूर्ण विश्वास गर्न नसकेको अवस्थामा अर्थमन्त्रीबाटै आएको यस्तो अभिव्यक्तिले लगानीकर्ताको मनोबल थप कमजोर बनाउन सक्ने आशंका लगानीकर्ताहरुले गरेका हुन्।
बजारको संवेदनशीलता आर्थिक सूचक र कम्पनीको वित्तीय अवस्थासँग मात्र जोडिएको हुँदैन। सरकारका नीति, नियामक निकायका निर्णय र जिम्मेवार पदाधिकारीका सार्वजनिक अभिव्यक्तिले पनि लगानीकर्ताको मनोविज्ञान प्रभावित गर्छन्। बजार सुधारका नाममा चालिने कदमले दीर्घकालीन रूपमा सकारात्मक परिणाम दिन सक्ने भएपनि त्यसको स्पष्ट सन्देश प्रवाह नहुँदा तत्कालीन रूपमा अन्योल सिर्जना हुने लगानीकर्ताहरुको धारणा रहेको छ।
शेयर बजारमा नेतृत्वले बोलीकै कारण धेरै पटक बजार प्रभावित भएको लगानीकर्ता छोटेलाल रौनियारले बताएका छन। शेयर बजारको संवेदनशीलता र व्यावहारिक कठिनाइबारे पर्याप्त छलफल नगरी जिम्मेवार व्यक्तिबाट अभिव्यक्ति आउने र हतारमा नीतिगत निर्णय गर्ने प्रवृत्तिले बजार अस्थिरताको सिकार हुन परेको उनको बुझाई छ। सबै कुरा बजार अनुकूल हुँदा समेत लगानीकर्ताको विश्वास स्थापित हुन नसक्नुमा जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अभिव्यक्ति र अस्तिर नीतिगत निर्णय रहेको उनको बुझाई छ।
सरकारले आर्थिक अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण रोकथाम र पूँजी बजारमा हुने चलखेल नियन्त्रणका लागि अनुसन्धान तथा कारबाही अघि बढाउनु स्वाभाविक हो। तर अनुसन्धानको शैली र प्रक्रियाले निजी क्षेत्रको व्यावसायिक वातावरणमा पार्ने प्रभावलाई पनि ध्यान दिनुपर्ने लगानीकर्ताको बुझाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन भएपछि ठूला व्यवसायीमाथि अघि बढाइएका अनुसन्धान र पक्राउका घटनाले निजी क्षेत्रमा आशंका गरिहरको अवस्था छ। अनुसन्धान हुनुमा भन्दा अनुसन्धानका क्रममा सिर्जना भएको त्रास र अनिश्चितताले लगानीको वातावरण विगारेको व्यवसायीको चिन्ता छ।
व्यवसायी पक्राउ पर्दा सम्बन्धित कम्पनीको सञ्चालन, बैंक कर्जा, आपूर्तिकर्ताको भुक्तानी र कर्मचारीको रोजगारी प्रभावित हुन सक्छ। अनुसन्धानका क्रममा सम्पत्ति तथा बैंक खाता रोक्का हुँदा कारोबारका लागि आवश्यक पूजी परिचालनमा अवरोध आउन सक्छ। आरोप प्रमाणित हुनुअघि नै सार्वजनिक रूपमा दोषीसरह व्यवहार गरिँदा व्यावसायिक प्रतिष्ठा र लगानीकर्ताको विश्वास कमजोर हुने जोखिम रहन्छ। यस्तो अवस्थाले नयाँ लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनालाई समेत प्रभावित गरेको व्यवसायीहरु बताउने गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका सभापति तथा क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिजका अध्यक्ष प्रियराज रेग्मीले अर्थमन्त्रीका अभिव्यक्तिलाई नकारात्मक रूपमा बुझ्न नहुने बताएका छन्। सरकारका तर्फबाट लगानीको वातावरण सिर्जना गर्न नीतिगत सुधारको काम भइरहेको भएपनि बजारमा लगानीको वातावरण बन्न नसकेको उनको भनाइ छ। विगतका आर्थिक तथा वित्तीय कारोबारका घटनालाई पुनः केलाउँदै व्यवसायीमाथि अनुसन्धान र नियन्त्रण बढाउँदा निजी क्षेत्रले खुलेर कारोबार गर्न नसकेको रोग्मीले बताएका छन्।
बजारमा नयाँ लगानी आकर्षित गर्न सरकारले नीतिगत सुधारसँगै निजी क्षेत्रको विश्वास जित्नुपर्नेमा रोग्मीको जोड छ। अनुसन्धानलाई निष्पक्ष बनाउँदै व्यवसायीलाई अनावश्यक त्रासबाट मुक्त गराउने र लगानीको सुरक्षा सुनिश्चित गर्ने र सरकार तथा निजी क्षेत्रबीच नियमित संवाद स्थापित गर्ने वातावरण आवश्यक रहेको रेग्मीको बुझाई छ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा शेयर बजारका लगानीकर्ता डिल्लेश्वर (रोहन) कार्कीले सरकार शेयर बजार र निजी क्षेत्रप्रति सकारात्मक रहेको बताएका छन्। सरकारले करका दर घटाउनेदेखि लगानीसम्बन्धी करिब ६० वटा नीतिगत व्यवस्था संशोधन गर्ने प्रक्रिया अघि बढाएको उनको भनाइ छ। यी सुधारले निजी क्षेत्रको लागत घटाउने, लगानीका अवरोध हटाउने र नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
त्यसैले सरकारका कुनै अभिव्यक्तिलाई मात्र आधार बनाएर आशंका गर्नुभन्दा सरकारले अघि सारेका नीतिगत सुधार र कार्ययोजनाको समग्र मूल्यांकन गर्नुपर्ने कार्कीको धारणा छ। सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिरहेको अवस्थामा निजी क्षेत्र र शेयर बजारका लगानीकर्ताले पनि नीतिगत सुधारबाट प्राप्त हुने अवसरलाई विश्वासका साथ उपयोग गर्नुपर्ने कार्कीको धारणा छ।