संकटलाई सुधारको बाधक बन्न दिएका छैनौँ : अर्थमन्त्री वाग्ले

Nov 20, 2026 03:53 PM Merolagani



लगानीको वातावरण सुधार, निजी क्षेत्रको मनोबल वृद्धि र उत्पादनमुखी अर्थतन्त्र निर्माण सरकारको प्राथमिकतामा

अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकले आर्थिक तथा बाह्य चुनौतीको सामना गरिरहेका बेला पनि सरकारले सुधारका कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन्। संकट र प्रतिकूलतालाई देखाएर आर्थिक रूपान्तरणको प्रयासबाट पछि हट्न नसकिने उनको भनाइ छ।

कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले तत्काल देखिएका समस्या समाधानसँगै अर्थतन्त्रका दीर्घकालीन कमजोरी सुधार्ने दिशामा सरकार अघि बढिरहेको बताए।

उनका अनुसार मुलुकको आर्थिक विकासका लागि स्थायित्व, लगानीमैत्री वातावरण र उत्पादनशील क्षेत्रको विस्तार अपरिहार्य छन्। त्यसैले सरकारले लगानीकर्तामा विश्वास जगाउने, सार्वजनिक संस्थाहरूको कार्यसम्पादन प्रभावकारी बनाउने र उत्पादनमा आधारित आर्थिक संरचना विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

लामो समयदेखि देखिँदै आएको नीतिगत अस्थिरता, प्रशासनिक जटिलता र लगानीसम्बन्धी अवरोधले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनाएको अर्थमन्त्री वाग्लेले स्वीकार गरे। यसले गर्दा व्यवसायीहरू नयाँ लगानी गर्नेभन्दा पनि परिस्थितिको मूल्याङ्कन गर्दै प्रतीक्षा गर्ने अवस्थामा पुगेको उनको विश्लेषण छ।

निजी क्षेत्रको कमजोर मनोबललाई अर्थतन्त्रको पुनरुत्थानमा चुनौतीका रूपमा लिँदै सरकारले लगानीको वातावरण सुधार र व्यवसायीको विश्वास पुनःस्थापित गर्ने प्रयास गरिरहेको उनले बताए।

अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्र आन्तरिक समस्यासँगै अन्तर्राष्ट्रिय घटनाक्रमबाट समेत प्रभावित भइरहेको उल्लेख गरे। विश्वव्यापी द्वन्द्व, ऊर्जा बजारको उतारचढाव, आपूर्ति शृङ्खलामा देखिएका समस्या र बाह्य आर्थिक दबाबले आर्थिक गतिविधिमा थप चुनौती सिर्जना गरेको उनको भनाइ थियो।

त्यसैगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढीले भौतिक पूर्वाधार, आर्थिक गतिविधि र स्थानीय जनजीवनमा गम्भीर असर पारेको उनले बताए।

सरकारका सामु अहिले तत्कालीन विपद् तथा आर्थिक संकट व्यवस्थापन गर्ने र अर्थतन्त्रभित्र वर्षौंदेखि जरा गाडेका संरचनागत समस्या समाधान गर्ने दोहोरो चुनौती रहेको वाग्लेले बताए। यी दुवै कामलाई अलग-अलग नभई समानान्तर रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ।

उनले वर्तमान चुनौतीलाई आर्थिक सुधारको अवसरका रूपमा उपयोग गर्दै मुलुकको अर्थतन्त्रलाई थप उत्पादनमुखी, प्रतिस्पर्धी र लगानीमैत्री बनाउने सरकारको प्रयास जारी रहेको संकेत गरे।