ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Nov 22, 2026 01:22 PM Merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणमा जाने भएपछि श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो ।

प्रधानमन्त्रीको वरियताक्रममा दोस्रो स्थानमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने भएकाले श्रेष्ठले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलसहित आइतबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणमा निजी क्षेत्रका ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा सहभागी हुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट, राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । उनले महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जलीसमेत अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाह मङ्सिर ७ गते साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।