चिसो बढेसँगै विद्युत् माग बढिरहेको अवस्थामा आपूर्ति भने अनियमित हुँदा सर्वसाधारणदेखि उद्योग, व्यवसाय र कार्यालयसम्म प्रभावित भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा बिना जानकारी विद्युत् कटौती गर्ने गरेको उपभोक्ताको गुनासो छ । कहिले केही मिनेटमै विद्युत् आउने गरे पनि कहिलेकाहीँ घण्टौँसम्म आपूर्ति बन्द हुँदा दैनिक कामकाज प्रभावित हुने गरेको उनीहरू बताउँछन् ।
प्राधिकरणले विद्युत् लाइन तथा ट्रान्सफर्मर स्तरोन्नति र तार भूमिगत गर्ने कार्यका लागि सार्वजनिक सूचना जारी गरेर विद्युत् सेवा अवरुद्ध गर्ने गरेको छ । तर, पछिल्लो समय त्यस्ता कामबाहेक पनि पटक–पटक विद्युत् जाने गरेको उपभोक्ताको गुनासो छ ।
काठमाडौंको घट्टेकुलोकी सीता आचार्यले विद्युत् अनियमितताले दैनिक जीवन प्रभावित भएको बताइन् । उनका अनुसार बिना जानकारी विद्युत् काटिने र कहिले आउने भन्ने निश्चित नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।

विद्युत् झ्याप्प–झ्याप्प जाने समस्याले उद्योग, व्यवसाय तथा विभिन्न संघसंस्थामा काम गर्ने कर्मचारीसमेत प्रभावित भएका छन् । विशेषगरी बिहान र बेलुकाको व्यस्त समयमा विद्युत् अवरुद्ध हुँदा काममा बाधा पुग्ने र विद्युतीय उपकरण सञ्चालनमा समस्या हुने गरेको छ ।
विद्युत् सेवा अनियमित भइरहे पनि नेपाल विद्युत् प्राधिकरणले यसबारे स्पष्ट जानकारी नदिएको उपभोक्ताको आरोप छ । विद्युत् कटौतीको कारण, समय र आपूर्ति नियमित गर्ने योजनाबारे प्राधिकरणले उपभोक्तालाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ ।
यस विषयमा नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अच्युतबाबु घिमिरेसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन । पछिल्लो समय बढ्दै गएको विद्युत् माग र आपूर्ति व्यवस्थापनबीचको असन्तुलनले उपत्यकाको विद्युत् सेवामा समस्या देखिएको उपभोक्ताको गुनासो छ ।