१२ खरी कथा प्रतियोगिताको प्रथम पुरस्कार चेतनाथ आचार्यलाई

Nov 22, 2026 03:59 PM Merolagani



बाह्रखरी मिडियाले आयोजना गरेको आठौँ संस्करणको ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगितामा चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ कथा प्रथम भएको छ ।आइतबार काठमाडौंमा आयोजित समारोहमा प्रथम भएका आचार्यले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । मधुर भट्टराईको ‘सपनाको अर्को रङ्ग’ द्वितीय हुँदै एक लाख रुपैयाँ र सरस्वती सरसको ‘अस्तित्वको अल्गोरिदम’ तृतीय हुँदै ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा नेपालसहित विभिन्न देशबाट प्राप्त १ हजार २२९ कथामध्ये उत्कृष्ट २५ कथाको छनोट गरिएको थियो । उत्कृष्ट २५ कथाको संग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ पनि समारोहमा लोकार्पण गरिएको छ ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट २५ कथाकारलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे । उत्कृष्ट २५ मा परेका प्रथम, द्वितीय र तृतीयबाहेक अन्य २२ कथाकारलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।

बाह्रखरी मिडियाले कथा लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि निरन्तर कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्षको उत्कृष्ट कथा संग्रह फाइनप्रिन्टले बजारमा ल्याएको हो । यसको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका छन् ।