
मल्लकालदेखि नै पोतेको बजार भनेर चिनिएको काश्मिरी बजार नेपालको एकमात्र सबैखाले पोते पाइने ठाउँ हो । ३२ वर्षदेखि काश्मिरी बजारमा पोते बेचिरहेका रजा खान भन्छन् हिन्दु नारीहरुको सौभाग्य बाँड्ने समय हो अहिले, सौभाग्य साटासाट गर्दा ब्यापार उकासिएको छ ।’
सामान्य अवस्थामा भन्दा पोतेको ब्यापार तीज नजिकिँदै गर्दा चार गुणा बढीले बढेको छ । श्रीमानलाई अफिस पठाएर र छोराछारीलाई स्कूल छोडेर आउने गृहणीहरुले गर्दा बिहान एघार बजेदेखि साँझ चार बजेसम्म ब्यापार बढी हुने खान बताउँछन् ।

इन्द्र चोकको काश्मिरी बजारमा पोते बनाउने र बिक्री गर्ने ३८ वटा पसलहरु छन् । यो नेपालको एक मात्र पुरानाे पोते बजार समेत हो । डिजाईन र लाक्षी अनुसार काश्मिरी बजारमा एक सयदेखि पाँच हजार रुपैयाँसम्मको पोते पाइन्छ । नेपाली बजारमा तीजको समयमा छड्के तिलहरी र नौगेडीका लागि पोतेका लाक्षीहरुको बिक्री बढेको ब्यापारीहरु बताउँछन् ।

यूरोपमा बनेको पोते लगाउँछन नेपाली महिला
पछिल्लो ९ वर्षदेखि काश्मिरी बजारमा पोतेको ब्यापार गर्दै आएका मेहताब तिमिल्सिनाका अनुसार नेपाली बजारमा अहिले पाईने पोतेको धेरै हिस्सा युरोपेली मुलुक चेक रिपब्लिकले ओगटेको छ । चेक रिपब्लिकको ओप्लेटालोभामा रहेको प्रिसियस ग्रुपले उत्पादन गर्ने पोते नेपाली बजारमा उपलब्ध छन । जापानमा बन्ने पोते महँगो हुने र चीनमा बनेका पोते गुणस्तरीय नहुने भएकाले नेपाली बजारमा चेकको पोते फष्टाएको ब्यापारी तिमिल्सिनाले बताए ।

केन्द्रीय कारागारमा बन्छ पोते
हामीले बजारमा देखेको लाक्षीमा उनेर बिभिन्न डिजाईनमा झुण्याईएको पोते बिदेशबाट नै त्यसरी आउने होईन । बिदेशबाट प्लास्टिकको प्याकेटमा पोतेका दाना आउँछन । त्यही भिन्न प्रकारको दानामा रङ्ग खेलाएर काचो दागोमा उनिन्छ । यो काम केन्द्रीय कारागारमा बन्दी जीवन बिताइ रहेकाले गर्दछन ।
काश्मिरी बजारको पुरानो चलन अनुसार पोतेको दानालाई काँचो धागोमा उन्ने जिम्मा केन्द्रीय कारागार बागदरबारका बन्दीलाई दिईन्छ । त्यहाँ नहुने भए मात्रै अन्यत्र व्यवस्था गर्ने गरिन्छ । अहिले पोतेको अन्य डिजाईन र रुपहरु काश्मिरी बजारमै बन्छन् ।

भन्सारमा बिजक पहिचान नहुँदा एकीन कारोबार तथ्याङ्क छैन
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा अदर्स स्मलग्लास वेयर नाममा बिजक भएर चेक रिपब्लिकबाट ६ करोड ७० लाख बराबरको १ लाख १६ हजार १४८ के.जी., भारतबाट १ करोड ९ लाख ६७ हजार रूपैयाँ बराबरको ५८ हजार ६५७ के.जी जापानबाट, १ करोड १५ लाख ७८ हजार रूपैयाँ बराबरको १९ हजार ३३९ के.जी. र चीनबाट २ करोड ८७ लाख ११ हजार बराबरको ४ लाख ५२ हजार ६०५ के.जी. अदर्स स्मलग्लास नेपाल भित्रिएको देखिएको छ ।
अदर्स स्मलग्लास वेयर नाममा भन्सार विभागमा बिजक भएको उक्त वस्तु पोते मात्रै नहुने भन्सार विभागका सूचना अधिकारी बताउँछन । तर ब्यापारीहरु आफूहरुले बिक्री गरिरहेको पोते २ प्रतिशत हाराहारी जापानको र बाँकी सबै चेक रिपब्लिक कै भएको दाबी गर्छन । बिजक तोक्ने सम्बन्धीत भन्सारका कर्मचारीले गलत नाम तथ्याङ्कमा उल्लेख गर्दा आयातको तथ्याङ्क नै एकिन हुन सकेको छैन ।
