एमालेसंगको गठवन्धनबाट निर्वाचन जितेको राप्रपा समानुपातिकतर्फ भने चौथो पार्टी बनेको थियो । समानुपातिक तर्फ नेपाली कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४, राप्रपाले ९ हजार १८३, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ४१, जसपाले ५ हजार २९१, लोसपाले ५ हजार ०५३, जनमत पार्टीले ३ हजार ७३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।
नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृह क्षेत्र रुपन्देही ३ बाट फेरि उनी उम्मेद्वार हुने चर्चा चलिरहेको छ । तर, उनी भुटानी शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त हुन्, जस्को विरुद्ध अदालतमा मुद्धा विचाराधीन छ । त्यसैले उनको उम्मेद्वारीको बारेमा आशंका पैदा भएसंगै प्रमोद यादव, भरत शाह, अनिता शाह, रामचन्द्र ढकालको नाम चर्चामा रहेको छ ।
नेकपा एमालेबाट भने पूर्वसांसद खिमलाल भट्टराई प्रमुख दाबेदारको रूपमा अगाडि देखिएका छन । भट्टराईबाहेक केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल, पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको नाम चर्चामा छ ।
अघिल्लो निर्वाचनमा एमालेसंगको गठवन्धनबाट चुनाव जितेको राप्रपाले पछिल्लो समय राजसंस्था पुनर्स्थापनाकाे आन्दोलन चर्काएपछि गणतन्त्रवादी दलहरु आक्रोशित छन् । त्यसैले एमाले, कांग्रेस, माओवादी, समाजवादी लगायतका दलहरुसंग राप्रपाको गठवन्धन हुने सम्भावना देखिदैन । राप्रपाबाट उक्त क्षेत्रमा स्वर्गीय दीपक बोहोराका दुई छोराहरू प्रज्वल र गौरव तथा नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापामध्येलाई अगाडि सार्ने तयारी चर्चामा छ ।
नेकपा (माओवादी केन्द्र) बाट स्थायी समिति सदस्य तथा पूर्वराज्यमन्त्री हकिकुल्ला खाँ र जिल्ला इन्चार्ज सोनिया यादवको नाम चर्चामा छ । तर, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल उम्मेदवार बने माओवादी केन्द्रले क्षेत्र छोड्न सक्ने अनुमान गरिएको छ । भुसाल २०७४ मा यही क्षेत्रबाट चुनाव जितेका थिए, तर २०७९ मा क्षेत्र नं. १ मा एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय मुक्ति पार्टी लगायतका मधेशवादी दलहरूसाझा उम्मेदवार बनाउने प्रयास गरिरहेका छन् । उनीहरुमध्ये कुन पार्टीबाट को उम्मेद्वार होला, यकिन भैसकेको छैन ।
सागर ढकाल रास्वपाको लागि ‘तातो पिँडालु’

नयाँ शक्तिका रुपमा चर्चामा रहेको रास्वपाले यो क्षेत्रमा आफ्नो उम्मेदार विजयी बनाएर ०८४ को आधार बनाउने गरी तयारी गरेको छ । रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई ‘न्याय दिलाउन’ को लागि पनि त्यो क्षेत्र जित्ने अठोट रास्वपाका स्थानीय कार्यकर्ताहरुमा देखिन्छ । तर, चुनावको दिनसम्म परिस्थिति कस्तो हुन्छ भन्न नसकिने स्वंय रास्वपाकै नेता कार्यकर्ताहरु बताउंछन् ।
गत आम निर्वाचनमा तनहुँ १ बाट निर्वाचन जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सिटमा रास्वपाले कांग्रेसकै कार्यकर्ता रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई उम्मेद्वार बनाएर सबैलाई आश्चर्यमा पारेको थियो । त्यहाँबाट अत्यधिक मतले निर्वाचित भएका वाग्ले अहिले उक्त पार्टीका उपाध्यक्ष छन् ।
अहिले रुपन्देही ३ मा पनि वाग्ले जस्तै स्थानीय बुद्धिजिवीको खोजी भैरहेको तर अहिलेसम्म कोही पनि व्यक्ति नभेटिएको रास्वपाका कार्यकर्ताहरु बताउंछन् ।
स्वर्णिम वाग्ले जस्तो वौद्धिक नभेटेपछि अहिले नेताहरु ‘मिलन लिम्बु’ जस्तै स्थानीय प्रभावशाली युवाको खोजिमा रहेको बताइएको छ । पहिले कुनै पार्टीबाट नभई स्वतन्त्ररुपमा चुनाव लड्ने घोषणा गरेका लिम्बुलाई स्थानीय नेता कार्यकर्ताहरुको विरोधको वावजुद इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेवार बनाइएको थियो । निर्वाचन प्रचारको क्रममा स्वंय लामिछानेसहितका नेता कार्यकर्ताको लावालस्कर नै लागेको थियो । त्यसका बावजूद लिम्बुको जमानत भएपछि रास्वपाका नेता कार्यकर्ताहरु निराश भएका थिए ।
तर, अहिले फेरि स्थानीय नेता कार्यकर्ताहरुको भावना विपरित रुपन्देही ३ को उप निर्वाचनमा पनि मिलन लिम्बु जस्तै अर्थात् पार्टी बाहिरका लोकप्रिय कुनै युवालाई पार्टीमा प्रवेश गराएर उम्मेद्वार बनाउने चर्चा चलिरहेको छ । त्यसक्रममा अघिल्लो आम निर्वाचनमा डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध लडेका गुल्मीका सागर ढकालले आफू उम्मेद्वार बन्न लागेको संकेत गरिसकेका छन् । उनी टिकट दिए रास्वपाबाटै र टिकट नदिए स्वतन्त्ररुपमै पनि निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।
तर, २०७९ मा पराजित उम्मेदवार जेपी गुप्ता, पार्टीका क्षेत्रीय सभापति मधु अर्यालदेखि जिल्ला अध्यक्ष बुद्धि शर्मासमेत टिकटका आकाँक्षी देखिएका छन् । उनीहरु कुनै पनि हालतमा ढकाललगायतका बाहिरियालाई टिकट दिन नहुने अडानमा छन् । यदि पार्टीका स्थानीय नेता, कार्यकर्ताको सुझाव विपरित उम्मेद्वार बनाएमा इलाममा भोगेभन्दा पनि नराम्रो परिणाम भोग्न वाध्य हुनु पर्ने चेतावनी पार्टी सभापति लामिछाने लगाएका नेताहरुलाई दिइसकेका छन् । ‘लिम्बु त इलाम क्षेत्र नं २ का स्थानीय थिए, ढकाल त यहाँको लागि टुरिष्ट हुन्, उनको लागि हामी किन बलिको बोको हुने ?’ रुपन्देहीका एक रास्वपा नेता भन्छन् ।
उनकाअनुसार ढकालले पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठसहितका रास्वपाका केही नेताहरुको आड भरोसामा चुनाव लड्ने घोषणा गरेका हुन् कि भन्ने शंका गर्न थालिएको छ । त्यसो भएमा ढकालले रास्वपाबाट टिकट पाए पनि पार्टीका स्थानीय नेता कार्यकर्ताहरु निराश भएर चुनावी परिणाम नै अपेक्षा गरिए जस्तो नआउन सक्छ, उनले टिकट पाएनन् र स्वतन्त्र रुपमै लडे भने पनि उनलाई जाने भोटको ठूलो हिस्सा रास्वपा समर्थकको नै हुने देखिन्छ । त्यसबाट पनि परिणाम रास्वपाको पक्षमा नआउने निश्चित छ । ‘वास्तवमा सागर ढकाल रास्वपाको लागि तातो पिँडालु निल्नु न ओकल्नु जस्तो बन्ने देखियो । उनलाई टिक दिए पनि समस्या, नदिए पनि समस्या । त्यसमाथि सुमना श्रेष्ठ जस्ता पार्टीका नेताहरु नै उनको पक्षमा देखिनुले पार्टीका स्थानीय नेता कार्यकर्ताहरुको मनस्थितिमा नकारात्मक असर पारिरहेको छ’ रुपन्देहीका एक रास्वपा कार्यकर्ताले मेरो लगानीसंग भने । पार्टीले उम्मेद्वारीको विषयमा कुनै टिका टिप्पणी नगर्नु भनेकोले कुनै पनि नेता कार्यकर्ताहरु अहिले खुलेर नबोल्ने उनको भनाई छ ।