यसदिन ९ अर्ब ६८ करोड रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने मिति नजिक आएको छ । मौद्रिक नीतिले नीतिगत सहजता ल्याउने अपेक्षासहित शेयर बजारमा उत्साह देखिएको हो । विगतमा मौद्रिक नीतिकै कारण प्रभावित भएको थियो । केही अप्ठेरा व्यवस्थाहरु केन्द्रिय बैंकले खुकुलो गरिसकेको छ । बाँकी भएका व्यवस्थालाई सहजीकरण गर्ने र भएको तरलता परिचालित गर्ने गरी सहज मौद्रिक नीति लिने विश्वाससहित लगानीकर्ताहरु विश्वस्त भएका हुन ।
साथै, आजको बजारमा बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढेको देखियाे । वाणिज्य बैंक समूह ३ प्रतिशत भन्दा बढीले बढ्दा विकास बैंक र लघुवित्त समूहमा पनि लगानीकर्ताको घुईचो लागेको हो ।
समग्र अवस्थाले बजारमा बुलको सुरुवात भएको संकेत गरेको देखिन्छ । बुलको बजारमा लगानीकर्ताले धैर्य भएर कारोबार गर्दा राम्रो आम्दानी गर्ने सीबीआईएल सेक्यूरिटज्का प्रमुख कार्यकारी सीए मनिष अर्यालले बताए । बजारमा ब्रोकरको लिमिटमा कारोबार गर्ने परिपाटी छ । ब्रोकरको लिमिट भन्दा आफ्नो पूँजी बजारमा लगानी गर्नेले राम्रो आम्दानी गर्ने अर्याल बताउँछन् ।