राजनीति झन भद्रगोल, हरेक पार्टीहरु विवादको भूमरीमा फस्दै

Jul 13, 2025 06:21 PM mero lagani



एकतर्फ भिजिट भिसा प्रकरणदेखि प्रधानमन्त्रीको स्पेन भ्रमण र सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस मागेको विषयले संसद तताइरहेको छ ।

अर्काेतर्फ यहीबेला हरेक पार्टीहरु आन्तरिक विवादले उत्कर्षको रुप लिँदै गैरहेको छ । विवादको भूमरीमा ठूला र पुराना भनिएका राजनीतिक पार्टीहरु मात्र छैनन्, उनीहरुको विकल्प बन्छौं भनिरहेका नयाँ दलहरु पनि परिरहेका छन् ।

संसद भित्रको विवाद ‘संसदीय प्रकृयाबाटै’ टुंगो लाग्ला तर, राजनीतिक पार्टीहरु भित्रको विवादले कसरी निकास पाउला र त्यसको समग्र परिणाम के होला ? त्यो भने यसै भन्न सकिने अवस्था छैन । किनकी अहिले सबै राजनीतिक दलहरु यसरी विवादको भूमरीमा फसिरहेका छन् कि कुनै पनि राजनीतिक पार्टी भित्रका असन्तुष्ट नेता कार्यकर्ताले ‘यो भन्दा त्यो ठीक रहेछ’ भनेर विकल्प खोज्ने अवस्था समेत छैन ।

केही समय अगाडि पूर्व राजा ज्ञानेन्द्रको सत्ता फर्काउने अभियानले राजावादीहरुलाई एक ठाउंमा ल्याएको थियो भने त्यसको विरुद्ध राजनीतिक पार्टीहरु पनि एक ठाउंमा उभिने अवस्था आएको थियो । तर, जब जेठ १५ गतेबाट शुरु भएको ‘राजा फर्काउने अनिश्चितकालिन सडक आन्दोलन’ असफल भयो, तब राजावादी शक्तिहरु मात्रै छिन्नभिन्न भएनन्, अहिले संसदको पाँचौ ठूलो दलको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत विभाजन हुने खतराबाट जुग्रिरहेको छ ।

साना ठूला हरेक राजनीतिक पार्टी भित्र उकुस मुकुस भएपनि ‘यो छोडेर कहाँ जाने ?’ भन्ने अवस्थाले राजनीति झन गन्जागोल भएको छ ।

यहाँ कुन राजनीतिक राजनीतिक पार्टी भित्र कसरी विवाद झांगिइरहेको छ भन्ने बारेमा सर्सती जानकारी दिने प्रयास गरिएको छ ।

नेपाली कांग्रेसः विवादका आधा दर्जन कडी

हाल संसदमा रहेका मध्ये सबैभन्दा पुरानो र सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भित्र गुटको झगडालाई आश्चर्यको विषय मानिदैन । तर, केही दिन अघि साढे २ वर्ष अगाडिको आम निर्वाचनमा भएको अन्तरघातलाई निहुँ बनाउँदै झण्डै २ दर्जन नेता कार्यकर्तालाई कारवाही गरिएपछि सो पार्टी भित्रको विवाद झन बढेको छ । आगामी महाधिवेशनमा देउवा फेरि सभापति उम्मेद्वार बन्ने कि नबन्ने ? ८४ को आम चुनाव अगाडि महाधिवेशन हुने कि नहुने ? चुनावमा कुन पार्टीसंग गठबन्धन गर्ने कि नगर्ने लगायत पार्टीका भातृ संगठनहरुको अधिवेशनहरुको विषयलाई लिएर समेत उक्त पार्टी भित्र आन्तरिक विवाद चुलिंदै गइरहेको छ ।

यस्ले पार्टीको समग्र राजनीति कसरी अगाडि बढ्ला र २०८४ को चुनावमा पार्टीले कस्तो परिणाम ल्याउला यसै भन्न सकिदैन ।

नेकपा एमालेः विद्या भण्डारी ‘फ्याक्टर’ले चर्काएकाे

केही महिना अगाडिसम्म पार्टीभित्र निर्विकल्प नेता मानिएका एमाले अध्यक्ष केपी ओली पूर्व राष्ट्रपति विद्या भण्डारीको कारण एकाएक रक्षात्मक अवस्थामा पुगेका छन् । पार्टीकै पूर्व उपाध्यक्ष भण्डारीले जब पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा सुविधा त्यागेर एमाले राजनीतिमा सक्रिय रहने घोषणा गरिन्, त्यसले एमाले पङित मात्र होइन, अन्य पार्टीलाई समेत तरङिगत बनायो ।

एमालेका नेता कार्यकर्ताहरु त राजनीतिमा फर्किने भण्डारीको घोषणापछि स्पष्टरुपमा दुई भागमा बाँडिएका छन् । र, एक अर्काप्रति भाषणदेखि लिएर सामाजिक संजालमा समेत कटुतापूर्णरुपमा आरोप प्रत्यारोपमा उत्रिरहेका छन् । निश्चित छ अगामी दिनमा यो प्रवृत्ति अझै बढ्ने छ ।

एमाले राजनीतिमा भण्डारीको प्रवेशले ओली र उनको गुटको पेलाइमा परेका नेता कार्यकर्ताहरुलाई संरक्षकत्व प्राप्त भएको छ । तर, यो विवाद र गुटवन्दी पार्टीको आउँदो महाधिवेशनमा मात्रै होइन २०८४ को आम चुनावमा समेत घात अन्तरघातमा परिणत नहोला भन्न सकिन्न । त्यसो भयो भने त्यो चुनावमा पार्टीको अवस्था के होला ? संभवतः एमाले नेता कार्यकर्ताहरुले समेत अनुमान गर्न सकेका छैन ।

नेकपा माओवादीः प्रचण्डको एकाधिकारलाई प्रभाकरले दिएको ‘चेक’

झण्डै ४ दशकदेखि अविच्छिन्न नेतृत्व गरिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)सहितका नेता कार्यकर्ताहरुले संगठितरुपमा प्रतिवाद भोगिरहेका छन् । युद्धकाल र त्यसपछि पनि प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य लगायतका नेताहरुबाट बेला बेलामा चुनौति भोग्ने गरेका थिए । तर, ती चुनौतीहरु पार्टीको केन्द्रिय स्तरमा मात्रै थिए, कार्यकर्ता तहमा पुगेका थिएनन् । तर, पछिल्लो समयमा प्रभाकरको बढ्दो प्रभावले पार्टीका हरेक कमिटी र जनसंगठनहरुमा प्रचण्ड र उनी निकटको समुहले चुनौति पाइरहेको छ । त्यसले गर्दा माओवादी भित्रको विवाद भुसको आगो झैं हुर्र हुने र निभ्ने होइन कि ‘गुँइठाको आगो झैं’ भित्रभित्रै फैलिरहेको पार्टीकै नेता कार्यकर्ताहरु बताउँछन् । २०६४ को आम चुनावमा देशकै सबैभन्दा ठूलो पार्टी बनेको माओवादी त्यसयता घट्दै घट्दै तेस्रो पार्टी बनेको छ र संख्यात्मकरुपमा कांग्रेस एमाले भन्दा निकै कमजोर छ ।

पार्टी भित्रको प्रचण्ड-प्रभाकर लडाईले २०८४ को आम चुनावमा यो पार्टीको हैसियत के होला ? यसैभन्न सकिन्न ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): जन्मदा जन्मदै विवादको भुङग्रोमा

गत आम चुनावमा अनपेक्षितरुपमा २० सिट जितेर संसदको चौथो ठूलो दल बनेको रास्वपा त्यसयता निरन्तररुपमा विवादको केन्द्रमा रहेको छ । संस्थापक महासचिव डा. मुकुल ढकालको निष्कासन र सहकारी ठगी प्रकरणका कारण सो पार्टी आफैमा रुमल्लिइरहेको छ । सहकारी ठगी प्रकरणमा जेलमा रहेका सभापति रवि लामिछाने २०८४ को आम चुनाव अगाडि छुट्लान्, नछुट्लान् ? यसै भन्न सकिदैन । त्यसमाथि पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ लगायतका पार्टी नेताहरु सो पार्टी छोडेर अर्कै राजनीतिक मोर्चा वा पार्टी गठनको गृहकार्यमा लागेको बजार हल्ला पनि चलिरहेको छ ।

यी सबै कारणले रास्वपा आउँदो चुनावसम्म र चुनावपछि कुन अवस्थामा रहला यसै भन्न सकिदैन ।

नेकपा समाजवादीः रामकुमारी एक्लै काफी

गत आम चुनाव अगाडि तामझामका साथ एमाले फुटाएर कांग्रेस, माओवादीसहितको पाँच दलको गठवन्धन बनाएर चुनाव लडेको उक्त पार्टीले १० सिट जित्यो । तर, राष्ट्रिय पार्टी बन्नको लागि आवश्यक पर्ने आवश्यक मत ल्याउन सकेन ।

चुनावपछि कैयौं नेता कार्यकर्ताहरु एमालेमा फर्किसकेका छन् र त्यो क्रम निरन्तर चलिरहेको छ ।
पार्टी भित्रको शक्ति संघर्ष चलिरहेकै बेला पार्टी अध्यक्ष माधव नेपाल विरुद्ध पतन्जदी जग्गा प्रकरणमा अख्तियारले मुद्धा चलाएपछि अहिले सो पार्टी भित्रको विवाद उत्कर्षमा छ । नेता रामकुमारी झाँक्रीले ‘मरेको सिनो बोकेर पार्टी चल्दैन’ भन्दै अध्यक्ष नेपाल लक्षित टिप्पणी गरेपछि अहिले सो पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष नेपाल विरुद्धको मुद्धामा अदालतले कस्तो फैसला गर्ला, त्यो आफ्नो ठाउँमा छ,त्यसका बावजूद आफै भित्रको शक्ति संघर्षको कारण उक्त पार्टीको अवस्था आउंदो चुनावमा के होला ? कसैले कल्पना पनि गर्न सक्दैन ।

राप्रपाः राजाको नाममा आफै लड्दै

राजा फर्काउने अभियानमा रहेको संसदको पाँचौ ठूलो दल राप्रपामा केही समय अगाडिसम्म देखिएको एकता अहिले भताभुङग भएको छ । महामन्त्री धवलसमशेर राणा र अध्यक्ष राजेन्द्र लिङदेन बीचको वारपारको विवाद कहाँ पुग्ला ? यसै भन्न सकिदैन । राप्रपा भित्रको विवादले उक्त पार्टीका नेता कार्यकर्ताहरु मात्र होइन, सम्भवतः स्वंय पूर्व राजा ज्ञानेन्द्रको सत्तामा फर्किने महत्वाकांक्षालाई पनि मारिदिएको छ ।

मधेशवादी दलः रडाकै रडाको

गत आम निर्वाचनमा अनपेक्षितरुपमा राष्ट्रिय राजनीतिमा उदाएका दुई मधेशवादी दलहरु हुन्, जनमत र नागरिक उन्मुक्ती पार्टी ।

सिके राउतको जनमत र रेशम चौधरी दम्पत्तीको नागरिक उन्मुक्ति पार्टी निरन्तररुपमा आन्तरिक विवादको चपेटामा परेका छन् । जनमत पार्टीले अध्यक्ष राउतको विरोध गर्ने नेता कार्यकर्ताहरुलाई निर्ममतापूर्वक कारवाही गर्दै पार्टीबाट निस्काशन गरिरहेको छ भने नागरिक उन्मुक्तीमा श्रीमान श्रीमतीको विवादले पार्टी अस्तव्यस्त भएको छ । यी पार्टीहरुले आउँदो चुनावसम्म सग्लै रहलान् कि नरहलान् ? स्वंय तिनै पार्टीका नेता कार्यकर्ताहरु भने भन्न सक्ने अवस्थामा छैनन् ।

महन्थ ठाकुर, उपेन्द्र यादवहरुको नेतृत्वमा रहेका राजनीतिक पार्टीहरु भित्र पनि गुट, उपगुट र शक्ति संघर्षले उग्ररुप लिंदै गैरहेको छ ।

यी सबै परिप्रेक्ष्यमा २०८४ को आम चुनावमा कुन पार्टीको हैसियत कस्तो होला ? कसैले पनि अनुमानसमेत गर्न सक्दैन ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।