काराेबारमा वर्षकै 'नम्बर वान' कम्पनी बन्याे नासा सेक्युरिटीज, नयाँमा क्यापिटल म्याक्स

Jul 23, 2025 06:26 PM merolagani



सुवास निरौला

गत आर्थिक वर्ष सबैभन्दा बढी रकमको शेयर कारोबार गर्दै नासा सेक्युरिटीज नम्बर वान ब्रोकर कम्पनी बनेको छ। गत वर्ष भरिमा कुल दुई खर्ब ५८ अर्ब रुपैयाँको शेयर कारोबार गर्दै नासा नम्बर वान कम्पनी बनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

नेप्सेले गत आर्थिक वर्ष भरिको वार्षिक कारोबार विवरण प्रकाशित गरेको छ। यस पटकदेखि नेप्सेले ब्रोकर कम्पनीको कारोबार विवरण समेत प्रकाशित गर्न थालेको छ। आउने दिनमा मासिक विवरणमा समेत उसले ब्रोकर कम्पनीहरूको कारोबार विवरण प्रकाशित गर्दै जाने जनाएको छ।

गत आर्थिक वर्ष भरिमा सबैभन्दा बढी कारोबार गरेर नम्बर वान कम्पनी बनेको नासाले वर्ष भरिमा कुल एक खर्ब २९ अर्बको शेयर किनेको छ भने एक खर्ब २९ अर्बकै शेयर बिक्री गरेको देखिएको छ। नासा अघिल्लो वर्ष पनि सबैभन्दा बढी कारोबार गर्दै सबैभन्दा बढी शेयर कारोबार गर्ने कम्पनी बनेको थियो। नम्बर वानमा नै रहन उसले निक्कै बढी रकमको कारोबार गरेको छ। 

दोस्रो नम्बरमा रहेको इम्पेरियल सेक्युरिटीजको वर्ष भरिको कुल कारोबार एक खर्ब ७० अर्ब रुपैयाँ छ। जुन नासा सेक्युरिटीजले गरेको कुल कारोबार भन्दा ३४.१० प्रतिशत कम हो। 

इम्पेरियले सेक्युरिटीजले वर्ष भरिमा कुल ८३ अर्ब २२ करोडको शेयर बिक्री गरेको छ भने ८७ अर्ब रुपैयाँ शेयर किनेको छ।

एक खर्ब ५७ अर्ब रुपैयाँ शेयर कारोबार गर्दै भिजन सेक्युरिटीज तेस्रो नम्बरमा परेको छ भने चौथो नम्बरमा शनि सेक्युरिटीज परेको छ। उसले एक खर्ब ४५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ। त्यसैगरी टप टेनको सूचीको सबैभन्दा पुछारमा श्रीहरि सेक्युरिटीज परेको छ। उसले गत आर्थिक वर्ष भरिमा कुल ८४ अर्ब ३८ करोडको शेयर कारोबार गरेको छ।

यता नयाँ आएका ब्रोकर कम्पनीमा सबैभन्दा धेरै कारोबार गर्दै क्यापिटल म्याक्सले सबैलाई उछिन्दै नम्बर वानको ताज पहिरिएको छ। उसले गत वर्ष भरिमा कुल ८३ अर्ब ६६ करोड रुपैयाँको कारोबार गरेको छ। जसमा ४० अर्ब ३४ करोडको उसले शेयर बिक्री गरेको छ भने ४३ अर्ब ३२ करोडको शेयर किनेको छ। क्यापिटल म्याक्स सबै ब्रोकर कम्पनीको सूचीमा भने १२औँ स्थानमा छ। एक वर्षको अवधिमा नै १२औँ ब्रोकर बन्नु चानचुने कुरा होइन। ब्रोकर कम्पनीले गत वर्ष निक्कै मिहिनेत गरेको प्रमाणित हुन्छ।

यसैगरी नयाँ ब्रोकर कम्पनीहरूमा दोस्रो स्थान शेयरप्रो सेक्युरिटीजले हासिल गरेको छ। उसले गत वर्ष भरिमा कुल ६७ अर्ब १८ करोडको शेयर कारोबार गरेको छ। जसमा ३० अर्ब ५९ करोडको उसले शेयर बिक्री गर्‍यो भने ३६ अर्ब ५९ करोडको शेयर किनेको छ। नयाँ ब्रोकर कम्पनीहरूको टप २० को सूचीमा सबैभन्दा पुछारमा भोले गणेश सेक्युरिटीज छ। उसले कुल १५ अर्ब १६ करोडको शेयर कारोबार गर्‍यो।  

नेपालमा अहिले कुल ९२ ब्रोकर कम्पनीले कारोबार गर्ने गरेका छन्। गत बर्ष भरिमा सबै ब्रोकरले कुल २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार गरेको नेप्सेले जनाएको छ। जुन आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा कारोबार रकम १८९.२३ प्रतिशतले बढी हो। नेप्सेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको मात्रै धितोपत्रको कारोबार भएको थियो।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।