कुनै पनि पण्डितले शेयर मार्केट प्रेडिक्ट गर्न सक्दैनः शशिकान्त अग्रवालसँगकाे अन्तर्वार्ता

Jul 25, 2025 04:55 PM merolagani



शशीकान्त अग्रवाल नेपालका एक प्रतिष्ठित उद्योगपति हुन् । उनी मेरियट हाेटलका अध्यक्ष हुन् भने  एमएस ग्रुप, रिलायन्स स्पिनिङ मिल्स, एभरेस्ट सुगर मिल्स उनकै कम्पनीहरू हुन्।  बैंक तथा वित्तीय संस्थामा संस्थापक शेयरधनीकाे रूपमा उनकाे नाम अग्रपंक्तिमा आँउछ ।

अहिले शेयर बजार बुलतर्फ उन्मुख छ । शेयर बजारमा समेत नजिकबाट नियाल्ने उनै उद्याेगपति अग्रवालसँग मेराेलगानीका उप सम्पादक  सुवास निराैलाले समसामयीक बिषयमा सम्वाद गरेका छन् ।

होटेल व्यवसाय अहिले कस्तो चलिरहेको छ ?

होटेल व्यवसाय नचलेको त भन्न मिल्दैन तर जति चल्नु पर्ने हो त्यति चलेको छैन्। व्यवसायी साथीहरूसँग भेट हुँदा हाम्रो भन्दा तिम्रो होटेल राम्रो चलेको छ भन्छन्। त्यो कुरा मैले पनि स्वीकार गर्छु। काठमाडाैंमा नयाँ खुलेको होटेल भएर पनि हुन सक्छ र यो प्राइम लोकेसनमा पनि छ। फेरि यसको नाम  म्यरिएट भएकोले  धेरै ग्राहक आउँछन्। त्यसले गर्दा पनि काठमाडाैंमा भएका अरू होटेल भन्दा राम्रो नै चलेको छ। अहिले जति होटेल  काठमाडाैंमा  छन्। तिनीहरू कम्तीमा पनि ९० देखि ९५ प्रतिशत अकुपेन्सीमा चल्नु पर्ने थियो। तर गएको तीन महिनादेखि अकुपेन्सी रेट निक्कै घटेको छ। गेस्ट कम आएको र अर्कोतर्फ चर्को प्रतिस्पर्धाका कारण अहिले रेट पनि घटेको छ। यसले गर्दा अहिले दुईतर्फी मार परेको छ। एका तर्फ अकुपेन्सि घट्नु र अर्को तर्फ रेट पनि घट्नु। चल्दै नचलेको होइन। तर चल्नु पर्ने जति चलेको छैन।

अकुपेन्सी अहिले कति छ ? 

अकुपेन्सी भन्नलाई मासिक औसत निकाल्नु पर्छ। आजको दिनको हेर्ने हो भने अहिले ४० देखि ४५ प्रतिशत छ। मासिक एभरेज गर्ने हो भने यो महिना हाम्रो ५० प्रतिशत नाघ्दैन। गएको महिना पनि त्यस्तै ४८ प्रतिशत जति थियो। काठमाडाैंमा होटेलबाट नाफा गर्न कम्तीमा पनि ८० प्रतिशत भन्दा बढी अकुपेन्सी हुनुपर्छ। किनकि ६० देखि ६५ प्रतिशत भनेको हाम्रो ब्रेक इभन नै हो।  ब्रेक इभनमा मात्रै राखेर पुग्दैन। बैंकको ऋण पनि तिर्नु पर्‍यो लगानीकर्ताले पनि केही पाउनु पर्‍यो।

पर्यटक नै कम आएर हो कि होटेल नै बढी भएर अकुपेन्सी घटेको हो ?

नेपालको राजधानीमा यति होटेल हुनु भनेको त्यति धेरै ठुलो करा होइन। किनकि यहाँ यति धेरै पर्यटकीय स्थलहरू छन् कि सबै घुम्न कम्तीमा पनि एक हप्ता समय दिनु पर्ने हुन्छ। धार्मिक सांस्कृतिक सबै किसिमका पर्यटकीय स्थल काठमाडाैंमा छन्। त्यसकारण पनि काठमाडाैंमा होटेल बढी भएर होइन। हामी कहाँ पर्यटक नै कम आएर हो।

पर्यटक कम आउनुको कारण के देख्नहुन्छ ?

सबैभन्दा पहिले त हाम्रोमा अन्तर्राष्ट्रिय एयरलाइन्स साह्रै कमजोर छ। हाम्रो डोमेस्टिक एयरलाइन्स जम्मा अढाई वटा छ भन्ने गरेको छु। किन भन्दा चारवटा छन् तर चारवटामा एउटा त अक्सर खराब नै हुन्छ। तीन वटा चल्नेमा एउटा कहिले कहाँ गएर बिग्रिन्छ कहिले कहाँ बिग्रिन्छ त्यसको टुङ्गो हुँदैन। त्यसले गर्दा मैले साढे दुई वटा भन्ने गरेको हो। जम्मा साढे दुई वटाले कसरी यत्रो पर्यटक उद्योग धान्न सक्छ ? उदाहरणकै कुरा गर्ने हो भने इथोपिएन एयरलाइन्स १० वर्ष अघि दुई कि तीन वटा प्लेन थियो। अहिले एक सय ८० वटा प्लेन छ। त्यो हो डेभलपमेन्ट। ल हामीले १८० वटै खोज्दैनौ तर कम्तीमा पनि राष्ट्रिय ध्वजा बाहक २० वटा त हुनु पर्छ।

अहिले नेपालीहरू संसारका धेरै जसो कुनमा छन्। उनीहरू वार्षिक रुपमा आफ्ना आफन्त नाता गोता भेट्न नेपाल आउने जाने गरिरहन्छन्। उनीहरूले आउन जान निक्कै दुख गरिरहेका छन्। नेपालको कम्तीमा २० वटा प्लेन भइदिएको भए उनीहरू नेपाली प्लेनमा नै आतेजाते गर्ने थिए। उनीहरूलाई पनि गर्व हुने थियो। तर त्यस्तो हुन सकेको छैन।

हामीले धेरै पटक प्लेन बढाउनु पर्‍यो भनी सकेका छौ। नेपाल एयरलाइन्सलाई निजीकरण गर्नु पर्छ। ५० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय जहाज कम्पनीलाई दिएर भए पनि यसलाई अघि बढाउनु पर्छ भनेका छौ। तर त्यस्तो हुन सकेको छैन। यस्ताे हुन नसक्नुमा केही राजनीतिक कारण होला।

सरकारले पछिल्लो समय होटेल व्यवसायलाई प्राथमिकतामा राख्दै उद्योग सरहको मान्यता दिएको छ। त्यसले गर्दा केही परिवर्तन वा फाइदा देखिएको छ कि छैन ?

विडम्बना के थियो भने  पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग भन्दा पनि कम प्राथमिकतामा राखेर सुविधा दिने गरिएको थियो। तर अहिले बल्ल आएर पर्यटनले पनि उद्योग सरहको मान्यता पाएको छ। अहिले प्रत्यक्ष रुपमा हेर्दा दुईवटा फाइदा हुन्छ। अहिले होटेलले पनि बिजुलीमा आम सर्वसाधारणले तिरे जस्तै गरी महसुल तिर्नु परिरहेको थियो। अहिले हामीलाई उद्योग सरह मान्यता दिएपछि अब उद्योगले जुन मूल्यमा बिजुली पाइरहेका छन्। त्यही मूल्यमा होटेलले पनि पाउने भए।

अहिले घटिसक्यो कि घट्न बाँकी छ ?

बिद्युत् प्राधिकरणले साउनको बिलदेखि गर्ने भनेको छ। अहिले साउनको बिल आएको छैन। त्यसकारण घटिसकेको अवस्था छैन। मलाई चाहिँ के लाग्छ भने बजेट भाषण आउने बित्तिकैदेखि लागु हुनु पर्ने हो। तर साउन देखि लागु हुने भनिएको छ।

कति जति छुट पाइएला ?

छुट भन्दा पनि त्यसको दर नै फरक हुने हो। उत्पादनमूलक उद्योग र घरायसी प्रयोजनको दरमा २० देखि २२ प्रतिशत जतिको फरक छ। सायद त्यही २० प्रतिशत जति घटेर आउँछ कि भन्ने अनुमान गरेका छौ।  

तपाइले बिचैमा प्रश्न गर्नु भयो त्यसको जबाफ दिएँ। अर्को चाहिँ हामीलाई आयकरको  फरक छ। उत्पादनमूलक उद्योगलाई २५ प्रतिशत कर लाग्छ। तर हामीलाई भने पहिले ३० प्रतिशत कर लाग्ने गरेको थियो। अब त्यो पनि २५ प्रतिशतमा नै झर्छ होला। यो भनेको निक्कै सकारात्मक कुरा हुन्। पर्यटन उद्योग प्रति पनि राज्यको जिम्मेवारी रहे छ भन्ने बोध गरायो।

पछिल्लो समय बजेट पनि सार्वजनिक भयो। त्यसलगत्तै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पनि सार्वजनिक गर्‍यो। कस्तो लाग्यो तपाईलाई दुवै नीति  ?

यसपालीको बजेटमा उत्पादनमूलक उद्योगहरूलाई केही न केही स्टुमुलेट गर्ने तत्त्वहरू समावेश भएकै मैले महसुस गरेको छु। सधैको भन्दा यसपालीको बजेट राम्रै नै आएको छ। राम्रो भन्दा भन्दै पनि बजेटको कार्यान्वयन पक्ष निक्कै कमजोर छ।

यस पालीको मौद्रिक नीति पनि राम्रो आएको छ। नीतिले उध्योगको कष्ट अफ फण्ड पनि कम गराउन सहयोग गर्छ। उद्योगले तिर्दै आएको ब्याज पनि थोरै घट्छ। कोभिडको मारबाट कति उद्योग निस्कन पनि सकिरहेका थिएनन्। तिनीहरूलाई पनि सहुलियत नै गरिदिएको अवस्था छ। कोभिडको मारमा परेका उद्योगहरूको ऋण लाई रिसेड्युल गर्ने मौका दिएको छ। ऋण पुनरसंरचना हुँदा बैंकको खराब कर्जा पनि घट्छ। मौद्रिक नीति कै कारणले अहिले शेयर बजारमा पनि उत्साह देखिएको छ। समष्टिगत रुपमा भन्नु पर्दा यस पटकको बजेट र मौद्रिक नीतिले उद्योग व्यवसायलाई राम्रो नै गर्ने अपेक्षा गर्न सकिन्छ। तर फेरि पनि भन्छु कार्यान्वयन पक्षले नै परिणाम के हुने देखाउने छ।

मौद्रिक नीतिले कर्जाको ग्रोथ लक्ष्य १२ प्रतिशत राखेको छ। तर अहिले पनि भने जस्तो गरी ऋण जान सकिरहेको छैन। किन होला ?

उद्योगहरूले उत्पादन गरेपछि त्यो उत्पादन खपत हुनु पर्छ। तर उद्योगले उत्पादन गरेको बस्तु नै खपत हुन सकिरहेको छैन। कन्जुमर साइड कमजोर हुँदै गइरहेको छ। मेरो बिचरामा क्रय शक्ति त घट्नु नपर्ने हो। किनकि जति पनि रेमिटेन्स आउने क्रम छ त्यो त बढी नै रहेको छ। त्यो त नयाँ पैसा आएको हो। त्यो पैसा त नागरिकहरूसँगै छ। त्यस कारण क्रय शक्ति नघट्नु पर्ने हो भन्ने लाग्छ। अहिले धेरै नागरिक बाहिर गएका छन्। धेरै मानिस बाहिर गएकै कारणले माग घटेको हो कि ? अथवा सरकारी खर्च घटेर हो कि ? सरकारी बजेट समयमा नै खर्च नभएको कारणले माग सिर्जना नभएको हो की ? जबसम्म उद्योगले उत्पादन गरेको समान बिक्दैन तबसम्म उद्योगमा भाइब्रेसन आउँदैन। चाहे त्यो निर्माण उद्योग हुन् वा कन्जुमर आइटम नै किन नहोस्। ती सबैमा माग बढ्नै पर्छ।

कन्जुमर आइटमको कुरा गर्दा म चिनी उत्पादक पनि हो। जति चिनी नेपालमा उत्पादन हुन्छ। त्यतिले नेपाली उपभोक्तालाई नै नपुग्नु पर्ने हो। तर अचम्म के छ भने हाम्रो उत्पादन नै कम बिक्री भइरहेको छ। पहिलो समस्या भनेको डिमाण्ड नै हो। अर्को ठुलो समस्या भनेको तस्करी नै हो।

माग बढेको छैन। जसले गर्दा उद्योग फस्टाउन सकेन। माग नबढेको जस्तो पनि लाग्दैन। तर बढेको माग फुलफिल तस्करीले गरिरहेको छ। त्यसकारण समग्र माग नै बढाउन सरकारले तस्करीलाई मात्रै रोक्न सक्यो भने अटोमेटिक माग बढ्छ। माग बढ्ने बित्तिकै उत्पादन बढ्छ। उत्पादन बढ्ने बित्तिकै ऋणको माग पनि अटोमेटिक्लि बढ्छ जस्तो लाग्छ।

चिनीको कुरा आइहाल्यो खासगरि नेपालमा चाड पर्वका बेला चिनीको अभाव हुने गर्छ। यस पटक अभाव हुने सम्भावना छ कि छैन ?

गएको तीन चार वर्षदेखि कसैले चिनी नपाएको र अत्यधिक सर्टेज भएको गुनासो आएको छैन। यद्यपि नेशनल डिमाण्ड अनुसार चिनीको उत्पादन छैन। तैपनि अभाव हुँदैन। किनकि सरकारले पछिल्लो समय ३० प्रतिशत रहेको भन्सार दर घटाएर १५ प्रतिशतमा झारेको छ। त्यसले गर्दा पनि सर्टैज हुँदैन होला।

तपाईले भन्नु भयो हाम्रो उत्पादनले नेशनल डिमाण्ड फुलफिल गर्दैन। तर फेरि तपाई नै भन्नु हुन्छ चिनीको खपत भएन। आफ्नै उत्पादन नबिकिरहेको अवस्थामा आयातित चिनीले बजार ओगट्दै जानु भनेको समस्या होइन ?

हो। आयातित चिनीले हामीलाई काफी समस्यामा पारेको छ। हाम्रो उत्पादन नै कम भएको कारणले हाम्रो सबै उत्पादन बिकी सक्नु पर्ने थियो। तर तस्करीको चिनी र आयातित चिनीका कारण हाम्रो उत्पादन समयमा नै नबिकेको हो। अर्कोतर्फ नेपालको चिनीमा लागत खर्च नै बढी छ। आयातित अलि सस्तो पनि छ।

नेपाली शेयर बजारमा तपाई लङ टर्म इन्भेष्टर भनेर चिनिनु हुन्छ। अहिले शेयर बजार बिस्तारै बढिरहेको छ। तपाईको लगानीमा कत्तिको फरक परिरहेको छ ?

नेपालको स्टक मार्केटमा पक्कै पनि मेरो नाम आउँछ। तर त्यस विषयमा खुसी नै छु। तर कस्तो छ भने म दैनिक ट्रेडिङ चाँहि गर्दिन। भन्नुको अर्थ म दोस्रो बजारबाट शेयर किन्दै नकिन्ने होइन। तर दैनिक कारोबारी चाँहि म होइन। मैले राम्रै लगानी संस्थापक शेयरहरूमा गरेको छु। मैल आफ्नो सबै परिवारको नाममा शेयर किनेको छु। शेयर बजार बढ्दा बैंक वित्तीय संस्था र इन्स्योरेन्सको शेयर पनि बढ्छ नै। मैले संस्थापक शेयर बिक्री नगरे पनि मार्केट क्याप त बढ्छ नै। शेयर बजार बढ्दा उत्साह त पक्कै पनि हुन्छ नै। खुसी त लागि हाल्छ।

संस्थापक शेयरमा बढी लगानी गर्नु भएको छ। त्यो पनि बैंक वित्तीय संस्थाको बढी संस्थापक शेयर छन्। अहिले बैंक वित्तीय संस्थाको लाभांश बैंक ब्याज जति पनि आउँदैन। दोस्रो बजारमा पनि भने जस्तो मूल्य छैन। यस्तो अवस्थामा लगानीले प्रतिफल दिएन भन्ने चिन्ता लाग्दैन ?

चिन्ता नलाग्ने कुरै हुँदैन। कसैले पनि कुनै चिजमा लगानी गर्ने भनेको नै प्रतिफलको लागि नै हो। हामीले संस्थापक शेयरमा लगानी गर्न सुरु गरेको २० वर्ष जति भयो। यस अवधिमा क्रमिक रुपमा पोर्टफोलियो बढाउँदै लगियो। सुरुका दिनमा निक्कै राम्रो थियो। एकपछि अर्कोमा पनि गरौँ अनि फेरि अर्कोमा थप्दै अहिले लगानी बढेर यति भएको हो। एकै दिनमा लगानी गरेर भएको होइन। अहिले तीन चार वर्षदेखि शेयर बजारमा लगानी नगरेको भए हुन्थ्यो। लगानी बित्थामा गयो। बरु नगरेको भए हुन्थ्यो। आफूलाई निरीह जस्तो फिल भइरहेको छ। त्यो पैसा मुद्दती निक्षेपमा नै राखेको भए वा घरजग्गामा नै लगानी गरेको भए यस भन्दा धेरै गुणा प्रतिफल आउने थियो।

बैंक वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्ने अहिले आएर धेरै नोक्सानमा परे। किन भन्दा कारोबार गर्न पनि कडाइ छ। कुनै बैंकमा ५ प्रतिशतको हाराहारीमा नै तपाईको शेयर लगानी छ। तर तपाई त्यो बैंकको डाइरेक्टर वा अध्यक्ष हुनुहुन्न भने तपाईलाई त्यो बैंक भित्र छिर्न पनि इजाजत हुँदैन। आफ्नै बैकसँग कारोबार गर्न पनि पाइएन। अर्को तर्फ प्रतिफल पनि आएन। दोहोरो मारमा परियो।

भनेपछि तीन चार वर्ष अघि जति गरियो त्यतिमा नै सीमित छ कि अहिले पनि संस्थापकमा गर्नु हुन्छ ?  

कहाँ गर्नु अहिले त आँट नै गर्न सकिँदैन। पहिले गरेको लगानी नै खतरामा पुगिसक्यो। झन् नयाँ गर्ने भन्ने त कुरै आउँदैन।

अहिले बैंक र व्यवसायी छुट्टाउने भनिँदै छ। तपाईलाई छुट्टाउनु पर्छ जस्तो लाग्छ कि लाग्दैन ?

म अघिकै प्रश्नमा केही कुरा जोड्न चाहन्छु। मेरो कुनै बैंकमा संस्थापक शेयर छ। एक प्रतिशत वा त्यो भन्दा बढी होला । मलाई त्यो बैंकमा एक्सेस नै छैन। म त के भन्छु भने कुनै पनि मानिससँग त्यो बैंकको १ प्रतिशतदेखि लिएर जति बढी शेयर छ। तर उ त्यो बैंकको कुनै लाभको पदमा छैन भने उसलाई त्यो बैंकमा कारोबार गर्न बन्देज गर्नु हुँदैन।

अब तपाईले गर्नु भएको प्रश्नमा आउँछु। अब बैंक र व्यवसायी छुट्टाउने जुन कुरा आएको छ। त्यसमा म के भन्छु भने जुन बेला बैंक वित्तीय संस्थामा लगानी गरियो त्यति बेला प्रचलित कानुन बमोजिम नै गरिएको हो। कुनै गैर कानुनी लगानी गरिएको होइन। त्यसकारणले अहिले आएर राज्यले छुट्टाउनु नै पर्ने भनेर नीति ल्यायो भने उसले पनि केही निकास देला नै। उसले ल ठिक छ अब तपाइहरूको शेयर पब्लिक गरिदिन्छु भन्ला वा अरू कुनै निकास देला । व्यवसायी पनि यही मुलुकका जनता हुन्। राज्यले जनता मार्ने काम त पक्कै नगर्ला। यसमा हामी ढुक्क छौ। केही न केही निकास पक्कै देला। राज्यले पनि केही सोचेरै गर्छ होला। बैंक र व्यवसायी छुट्टाउने काम राज्यले सोचेरै गर्छ होला।

भनेपछि बैंक र व्यवसायी छुट्टाउँदा केही फरक पर्दैन ?

 हैन हैन मैले छुट्टाउनु पर्छ वा पर्दैन भनेर भनेकै छैन। त्यो अझै बहसको विषय हो। मैले अघि के भने भने मेरो कुनै बैंकमा संस्थापक शेयर छ। तर म त्यस बैंकको लाभको पदमा छैन भने छुट्टाउनु पर्छ भन्ने कुनै आवश्यकता नै छैन जस्तो लाग्छ। तर पनि राज्यले निर्णय गरेपछि त गर्‍यो गर्‍यो। राज्यले छुट्टाउने नै भयो भने पनि कुनै निकास दिएरै त गर्ने हो। त्यसमा हामी ढुक्कै छौ। त्यसमा कुनै विमति नै छैन।

पछिल्लो केही दिन यता स्टक मार्केट हेरिरहनु भएको छ ?

हेर्छु नि नहेर्ने कुरै हुँदैन। अहिले राम्रै लयमा गइरहेको छ।

कति सम्म जाला ?

शेयर मार्केट भनेको त अनप्रेडिक्टेवल चिज हो। मत अझ अर्थशास्त्री पनि होइन। संसारको ठुलो ठुलो अर्थ विज्ञले पनि यतिमा जान्छ भनेर प्रेडिक्ट गर्न सक्दैन। कहिलेकाहीँ ब्रोकर साथीहरूसित कुरा हुन्छ। उसले फलानो कम्पनी बढ्छ अरे भन्छ भरे त्यही कम्पनीको मूल्य घटिरहेको हुन्छ। त्यस कारण कुनै पण्डितले शेयर मार्केट प्रेडिक्ट गर्न सक्दैन। गर्न सक्ने भए त उसैले आफ्नो घर बेचेर पनि शेयर मार्केटबाट पैसा कमाइहाल्थ्यो नि हैन। 

पूरा भिडियाे हेर्नुहाेस्




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।