पन्तको यही जिज्ञासा मेट्ने गरी हालै नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले लगानीकर्ताको हितमा हुने गरी सबै ब्रोकर कम्पनीलाई कडा निर्देशन दिएको छ। नेप्सेले अब आउने दिनमा कुनै लगानीकर्ताको रकम ब्रोकर कम्पनीमा कुनै पनि कारणले रहन गएको भए त्यसको ब्याज सहित फिर्ता गर्न निर्देशन दिएको हो।

कुनै पनि व्यक्तिले शेयर कारोबार गर्नको लागि टिएमएस खाता खोल्दा ब्रोकर कम्पनीले ३९ बुँदाको एक सम्झौता पत्रमा हस्ताक्षर गराउने गरेका छन्। जुन सम्झौता पत्रको ढाँचा नेपाल स्टक एक्सचेन्जले तयार गरेको हुन्छ। तर यस अघि नेप्सेले तयार गरेको उक्त ढाँचालाई तोड मोड गरेर ब्रोकर कम्पनी नै माथि हुने गरी फरक फरक ब्रोकरले आ-आफ्नै तरिकाले सम्झौता पत्र तयार गरेको पाइयो। सोही अवस्थालाई मध्यनजर गर्दै हालै नेप्सेले सबै ब्रोकरले गर्ने सम्झौता पत्रमा एकरूपता ल्याइ आ-आफ्नो वेभ साइटमा प्रकाशित गर्दै उक्त ढाँचाको एक प्रति नेप्सेलाई समेत उपलब्ध गराउन ब्रोकर कम्पनीलाई नेप्सेले निर्देशन दिएको छ। निर्देशनमा लगानीकर्ताको हितमा रहेको प्रमुख बुँदालाई जस्ताको त्यस्तै राख्न समेत भनेको छ। यस अघि ब्रोकरले सोही बुँदा लगायत अन्य बुँदाहरू आफू अनुकूल बनाएको पाएपछि नेप्सेले सो निर्देशन दिएको जनाएको छ। “टिएमएस खाता खोल्दा गर्ने जुन सम्झौताको ढाँचा नेप्सेले तयार गरेको छ। त्यो ढाँचा अनुरूप नभएर ब्रोकर कम्पनी पिच्छे फरक देखिए पछि त्यसमा एकरूपता ल्याउन भन्दै हामीले सबै ब्रोकर कम्पनीलाई निर्देशन दिएका छौ। सम्झौता पत्रमा लगानीकर्ताको हितको लागि एक प्रमुख बुँदा राखिएको छ। त्यो बुँदा जस्ताको त्यस्तै राख्न हामीले निर्देशन दिई सकेका छौ,” नेप्से सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले मेरो लगानी सँग भने।
उक्त सम्झौता पत्रमा भएको प्रमुख बुँदा “कारोबार सदस्य र ग्राहक बिच लेनादेना रकमको दायित्व र प्रतिफलको प्रतिशत नियमानुसार समान हुने गरी तोकी” भन्ने छ। जसमा कानुनी भाषा प्रयोग गरिएकोले आम सर्वसाधारणले बुझ्न कठिन हुन्छ। तर उक्त शब्दको भाव गिरीले यसरी प्रस्ट्याए "त्यसलाई सरल भाषामा भन्नु पर्दा कुनै पनि व्यक्तिले ब्रोकर कम्पनीबाट पाउनु पर्ने रकम समयमा भुक्तानी नपाए ब्रोकर कम्पनीले भुक्तानी दिनु पर्ने व्यक्तिलाई ब्याज सहित दिनु पर्ने छ। यसअघि पनि त्यो व्यवस्था थियो। तर यो कार्यान्वयनमा आउन सकेको थिएन। केही ब्रोकर कम्पनीले ग्राहकबाट ढिलो भुक्तानी पाए ग्राहकसित ब्याज सहित रकम असुल्ने गरेको पाइयो। तर ग्राहकलाई ढिलो दिँदा भने उनीहरूले नदिएको अवस्था देखियो। सोही कारण ब्रोकर कम्पनीलाई सो निर्देशन दिइएको हो। कुनै पनि लगानीकर्ताको कुनै पनि कारणले ब्रोकर कम्पनीमा पैसा रहन गएको भए त्यसको ब्याज दाबी गर्ने सक्ने छन्। जस्तै शेयर बिक्री गरेको भुक्तानी ढिलो भएमा ब्याज दावी गर्न सकिने नै भयो त्यसका अतिरिक्त लिमिट लिनको लागि २५ प्रतिशत रकम दिएको छ। तर उक्त रकम नचलाएमा समेत सो रकमको पनि ब्याज दावी गर्न सकिने छ । लगानीकर्ताले ब्याज दाबी गर्नु भन्दा पहिले नै ब्रोकरलाई ब्याज सहित दिन सो निर्देशन दिइएको हो।”
कुनै पनि लगानीकर्ताले आइतबार शेयर किनेको भए बुधवार भुक्तानी पाउने छ। तर बुधवार नदिए जति दिन ढिला हुन्छ। त्यति नै दिनको ब्याज सहित रकम ब्रोकरले फिर्ता दिनु पर्ने छ। तर ब्याज नै दिने हो भन्दै धेरै दिन भुक्तानी रोक्न ब्रोकरले पाउने छैन। यदि ब्रोकर कम्पनीले धेरै दिनसम्म भुक्तानी रोकेर राखे वा ढिलो भएको दिनको ब्याज नदिए लगानीकर्ताले उक्त ब्रोकरको गुनासो नेप्सेमा गर्न सक्ने समेत बताइएको छ।