सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM merolagani



सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ। 

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुग्यो। त्यस्तै, बिहीबार ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भए। जसमा सबैभन्दा बढी कित्ता शेयर साना कम्पनीका भएका छन्। यस दिन सबैभन्दा बढी कित्ता शेयर आँखुखोला जलविद्युत कम्पनीको भयो। जसको मूल्य बढेर २४४ रुपैयाँ पुगेको छ। त्यस्तै दोस्रोमा लिबर्टी इनर्जी छ। जसको मूल्य २१९.९० छ। दोस्रो बजारमा उकालो लाग्दै गरेका सस्ता कम्पनीहरूको मूल्यले बजारमा नयाँ तरङ्ग पैदा गरिरहेका छन्। 

यसरी सस्ता कम्पनीले  बजारमा नयाँ तरङ्ग पैदा गर्नुको  मुख्य कडी आसन्न निर्वाचन र त्यसले बजारमा पठाएको अर्बौं रुपैयाँको नगद प्रवाहसँग जोडेर विश्लेषण हुन थालेको छ।  विशेष गरी दुई सय देखि तीन सय रुपैयाँ प्रतिकित्ता मूल्य भएका जलविद्युत्, फाइनान्स र केही वाणिज्य बैंकका शेयरहरूमा साना लगानीकर्ताको आकर्षण बढ्नुको पछाडि थोरै पैसामा धेरै कित्ता शेयर प्राप्त गर्ने मनोविज्ञानले काम गरेको छ। एक हजार रुपैयाँभन्दा बढी मूल्य भएका 'ब्लु चिप' कम्पनीहरूको एक हजार कित्ता शेयर खरिद गर्न कम्तीमा १० लाखदेखि २० वा ३० लाख रुपैयाँसम्म पूँजी आवश्यक पर्छ, जुन रकम जुटाउन आम साना लगानीकर्ताका लागि निक्कै ठूलो विषय हो। तर, त्यही १० लाख रुपैयाँले दुई सय रुपैयाँ मूल्य भएका कम्पनीको ५ हजार कित्ता शेयर खरिद गर्न सकिन्छ भने एक–दुई लाख रुपैयाँ मात्र हुनेले पनि ५ सयदेखि १ हजार कित्तासम्म शेयर आफ्नो नाममा पार्न सक्छन्। धेरै कित्ता शेयर हुँदा भविष्यमा मूल्यमा हुने थोरै वृद्धिले पनि राम्रो प्रतिफल दिने आशमा साना लगानीकर्ताहरू सस्ता कम्पनीतिर मोडिएको विश्लेषण भइरहेको छ।

यसरी साना लगानीकर्ताहरू सस्ता शेयरमा झुम्मिने आधार उनीहरूको बढेको 'क्रय शक्ति' ले तयार पारेको हो। बजारमा पछिल्लो समय देखिएको यो आर्थिक उत्साहको मुख्य स्रोत भनेको आसन्न निर्वाचनका लागि भइरहेको अर्बौंको खर्च हो। निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा पैसाको प्रवाह तीव्र बनेको छ, जसले सर्वसाधारण र तल्लो तहका कार्यकर्ताहरूको हातमा नगद पुर्‍याएको छ। निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्च र सरकारले गर्ने प्रशासनिक लगानीले बजारमा तरलता बढाएसँगै मानिसहरूको क्रय शक्तिमा उल्लेख्य सुधार आउने निश्चित छ। जब मानिसहरूको हातमा अतिरिक्त आम्दानी पुग्छ, उनीहरूले त्यसलाई सुरक्षित र नाफामूलक क्षेत्रमा लगानी गर्ने बाटो खोज्छन्। अहिलेको अवस्थामा धेरैका लागि त्यो सबैभन्दा सहज र छिटो प्रतिफल दिने क्षेत्र दोस्रो बजार बनेको छ। निर्वाचनका क्रममा परिचालन भएर वा विभिन्न व्यावसायिक माध्यमबाट प्राप्त गरेको पैसालाई थप बढाउने उद्देश्यले नयाँ र पुराना साना लगानीकर्ताहरू धमाधम शेयर बजार छिर्न थालेका छन्।

यो चुनावी खर्चको आकारलाई हेर्ने हो भने यसले अर्थतन्त्रको चक्र नै बदल्न सक्ने सामर्थ्य राख्दछ। आधिकारिक रूपमा मात्रै पनि यो निर्वाचनमा करिब २९ अर्ब २३ करोड रुपैयाँ परिचालन हुने निश्चित देखिएको छ। सरकारले निर्वाचन सम्पन्न गर्न १९ अर्ब १२ करोड रुपैयाँको विशाल बजेट विनियोजन गरेको छ, जसमध्ये निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड ६६ लाख, सुरक्षा व्यवस्थापनका लागि गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड र रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड रुपैयाँ निकासा दिइसकिएको छ। यो त भयो राज्य कोषबाट हुने आधिकारिक खर्च। यसका अतिरिक्त ३ हजार ४ सय ८७ जना उम्मेदवारहरूले गर्ने खर्चको पाटो झन् ठूलो छ। निर्वाचन आयोगले भूगोल अनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्मको खर्च सीमा तोके पनि व्यवहारमा यो सीमाभन्दा ३ गुणा बढी अर्थात् प्रति उम्मेदवार औसत ८० देखि ९० लाख रुपैयाँसम्म खर्च हुने अनुमान बजारमा छ। यदि ३ हजार ४ सय ८७ जना उम्मेदवारले यसरी खर्च गर्ने हो भने उम्मेदवारहरूको मात्रै कुल खर्च ३० अर्ब रुपैयाँको हाराहारीमा पुग्ने देखिन्छ। यसरी सरकार र उम्मेदवार दुवैको खर्च जोड्दा यो निर्वाचनमा करिब ५० अर्ब रुपैयाँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बजारमा परिचालन हुने देखिन्छ।

निर्वाचनको यो ५० अर्ब रुपैयाँ केवल ठूला सहरमा मात्र सीमित छैन। उम्मेदवारहरूले गर्ने यो खर्च कार्यकर्ता परिचालन, घरदैलो, आमसभा, प्रचार सामग्री छपाइ, यातायात र खानपानका माध्यमबाट तल्लो तहका मानिसहरूको हात हातमा पुग्ने छ। गाउँका साना छापाखाना, होटेल व्यवसायी, सवारी चालक र स्थानीय कार्यकर्ताहरूले यो समयमा राम्रो आम्दानी गरिरहेका छन्। यसरी तल्लो तहसम्म पुगेको यो 'चुनावी पैसा' नै अहिले शेयर बजारमा साना लगानीकर्ताको इन्धन बनेको छ। धेरैजसो नयाँ लगानीकर्ताहरू जोसँग थोरै पूँजी छ, उनीहरूले एकै पटक धेरै कित्ता आउने सस्ता कम्पनीहरू रोजेर आफ्नो लगानीको  सुरुवात गरिरहेका छन्। उनीहरूले प्राप्त गरेको यो अतिरिक्त पैसालाई थप वृद्धि गर्न दोस्रो बजारलाई एउटा भरपर्दो प्लेटफर्मको रूपमा प्रयोग गरिरहेका छन्। 

साना लगानीकर्ताको यही प्रवेशले गर्दा बजारमा कारोबार रकम (भोल्युम) समेत बढ्न थालेको छ, जसले समग्र नेप्से सूचकलाई नै सकारात्मक दबाब दिइरहेको छ। गत महिना पुसमा ३ देखि ६ अर्ब रुपैयाँको दैनिक कारोबार भइरहेको बजारमा माघ लागेदेखि लगातार कारोबार रकम बढिरहेको छ। अर्को रोचक पक्ष के छ भने उम्मेदवारी दर्ता पछि त झनै बढी कारोबार रकममा उछाल देखिएको छ। पछिल्लो समय मात्रै दोस्रो बजारमा झन्डै १२ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भयो। अहिले पनि ८/९ अर्बको दैनिक कारोबार भइरहेको छ। जलविद्युत् र वाणिज्य बैंक  जस्ता क्षेत्रहरू, जहाँ धेरैजसो सस्ता मूल्य भएका कम्पनीहरू छन्, त्यहाँ साना लगानीकर्ताको आकर्षणले गर्दा बजारको 'भोल्युम' बढाउन मद्दत पुगिरहेको छ। समग्रमा, निर्वाचनको ५० अर्ब रुपैयाँले साना लगानीकर्ताको हातमा पुगेको पैसाले सस्ता शेयरको माग बढाएर बजारलाई गतिशील बनाउन थालेको छ।

निर्वाचनमा हुने खर्चले शेयर बजारका विभिन्न सेक्टरहरूमा पनि स्पष्ट प्रभाव पार्ने देखिन्छ। सोही कारण पनि लगानीकर्ता शेयर बजार तर्फ मोडिएको अनुमान आइरहेका छन्। सबैभन्दा पहिले,  सकारात्मक प्रभाव बैंकिङ र वित्तीय क्षेत्रमा पर्ने अनुमान छ। निर्वाचनका बेला बजारमा आउने नगद अन्ततः बैंकमै जम्मा हुने हुनाले बैकहरूको निक्षेप बढ्छ, जसले अनौपचारिक अर्थतन्त्रमा रहेको ठुलो धनराशिलाई औपचारिक च्यानलमा फर्काउन ठूलो मद्दत पुग्छ। अर्कोतर्फ, निर्वाचनका बेला हुने अर्बौँको कारोबारलाई व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। उनीहरूको कमिसन आम्दानी र निक्षेप परिचालन बढ्ने हुनाले बैंकिङ समूहको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढ्न सक्छ।  निर्वाचनका बेला उपभोग्य वस्तुहरूको माग ह्वात्तै बढ्ने हुनाले उत्पादनमूलक क्षेत्रका कम्पनीहरू जस्तै युनिलिभर नेपाल, बोटलर्स नेपाल तथा अन्य खाद्यान्न र पेय पदार्थसँग सम्बन्धित कम्पनीहरूको व्यापार बढ्छ। त्यस्तै, चुनावी प्रचारप्रसारका क्रममा टेलिफोन र इन्टरनेटको खपत बढ्ने हुँदा नेपाल टेलिकम जस्ता ठूला कम्पनीहरूको आम्दानीमा वृद्धि हुन्छ। जब यी कम्पनीहरूको नाफा बढ्छ, त्यसको प्रत्यक्ष प्रतिफल शेयर मूल्यमा देखिन थाल्छ। यसरी हेर्दा निर्वाचनमा हुने खर्चले दोस्रो बजारका विभिन्न क्षेत्र (सेक्टरलाई) लाई प्रत्यक्ष फाइदा पुर्‍याउने देखिन्छ, जसले समग्र बजारको मनोबल उच्च बनाउन सहयोग गर्ने छ।  सोही कारण होटेल र जलविद्युत् जस्ता क्षेत्रका सस्ता शेयरहरूमा साना लगानीकर्ताको 'बल्क' खरिदले यी क्षेत्रको कारोबारलाई थप रोमाञ्चक बनाइरहेको छ।

अन्ततः निर्वाचनको यो आर्थिक चक्रले मुलुकको राजनीति मात्र होइन, पूँजी बजारको स्वरूपलाई पनि परिवर्तन गरिरहेको छ। सरकार र उम्मेदवारले गर्ने ५० अर्बको लगानीले एकातिर बजारमा नगद प्रवाह बढाएर आम नागरिकको क्रय शक्ति वृद्धि गरेको छ भने अर्कोतिर त्यही पैसालाई पुँजीमा बदल्न साना लगानीकर्ताहरू शेयर बजारमा ओइरिएका छन्। सस्ता कम्पनीहरूमा देखिएको यो आकर्षण केवल रहर मात्र नभई, कम जोखिममा धेरै स्वामित्व ग्रहण गर्ने एउटा रणनीतिक लगानी पनि हो। निर्वाचनले सिर्जना गरेको यो तरलता र लगानीकर्तामा आएको नयाँ उत्साहले आगामी दिनमा शेयर बजारमा नयाँ रेकर्डहरू कायम हुन सक्ने आधारहरू तय भइरहेका छन्। यसरी मतपत्र र नोटको यो अनौठो सम्बन्धले नेपाली अर्थतन्त्र र शेयर बजारलाई एउटा नयाँ र गतिशील मोडमा पुर्‍याएको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।