के शेयर बजारले निर्वाचनको उत्साहलाई 'प्राइस–इन' गरिसकेको हो ? के हो 'प्राइस–इन' ?

Feb 05, 2026 06:00 AM merolagani



सुवास निरौला

नेपालको शेयर बजारमा यति बेला एउटा गम्भीर र पेचिलो प्रश्नले लगानीकर्ताको दिमाग खलबल्याएको छ। के बजारले निर्वाचनको उत्साहलाई यसअघि नै 'प्राइस–इन'  गरिसकेको हो ?

निर्वाचन आउनुअघि बजार बढ्ने र निर्वाचनका बेला तरलताको खोलो बगेर नेप्सेले नयाँ उचाइ लिने आम अपेक्षाका बीच पछिल्ला केही दिनको सुस्तता र घट्दो कारोबारले लगानीकर्तालाई यही प्रश्न गर्न बाध्य बनाएको छ। 'प्राइस–इन' को सिद्धान्त अनुसार कुनै पनि सकारात्मक घटना वा समाचारको प्रभाव वास्तविक समयमा भन्दा धेरै अगाडि नै बजारको मूल्यमा प्रतिबिम्बित भइसकेको हुन्छ। यदि नेप्सेको पछिल्लो ६ महिनाको यात्रा र विशेष गरी जनवरी महिनाको आक्रामक वृद्धिलाई हेर्ने हो भने बजारले निर्वाचनको खबरलाई  पचाइसकेको त होइन भन्ने संशयलाई बल पुग्छ।

बजारको पछिल्लो तथ्याङ्कलाई केलाउँदा एउटा स्पष्ट 'कन्ट्राडिक्सन' (अन्तर्विरोध) देखिन्छ। केही साताअघि सम्म दैनिक १६ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार हुँदै सूचकले २८०० को मनोवैज्ञानिक बिन्दुलाई चुनौती दिन खोजेको थियो। तर, माघ २२ गतेसम्म आइपुग्दा सूचक २,६८१.५० को बिन्दुमा सुस्ताएको छ। कारोबार रकम घटेर ७ अर्ब ४५ करोडमा सीमित भएको छ। यो ५० प्रतिशतभन्दा बढीको कारोबार गिरावट हो। 

जब बजारमा कुनै ठुलो इभेन्टको चर्चा चल्छ। बाठा लगानीकर्ताले पहिले नै शेयर उठाउँछन्।  जब सर्वसाधारणले निर्वाचनकै कारण अब बजार बढ्छ भनेर शेयर किन्न थाल्छन्। तब 'स्मार्ट मनी' नाफा सुरक्षित गरेर बाहिरिन्छ। नेप्सेको ह्यान्डल चार्टमा देखिएका पछिल्ला केही दिनका राता क्यान्डलहरूले यही नाफा सुरक्षित गर्ने  प्रवृत्तिलाई झल्काइरहेका छन्।

प्राविधिक रूपमा ह्यान्डल चार्टलाई विश्लेषण गर्दा बजारले २,८०० को बिन्दुमा 'डबल टप'  जस्तो आकृति बनाउन खोजेको देखिन्छ। चार्टको माथिल्लो खण्डमा बनेका क्यान्डलहरूका लामो टुप्पाहरूले स्पष्ट रूपमा 'प्राइस रिजेक्सन' को सङ्केत दिएका छन्। यसको अर्थ हुन्छ—बजार २,७५० भन्दा माथि जाने प्रयास त लगातार गरिरहेको छ। तर त्यहाँ पुग्ने बित्तिकै विक्रेताहरू यति धेरै सक्रिय हुन्छन् कि उनीहरूले मूल्यलाई थिचेर तल झारिदिन्छन्। साना शरीर भएका र लामा स्याडो भएका क्यान्डलहरू बन्नुले बजारमा क्रेताहरू थाकेको र निर्वाचनको उत्साह अब केवल गफमा मात्र सीमित हुन थालेको हो कि भन्ने सङ्केत गर्छ। भोल्युमको घट्दो ट्रेन्डले पनि नयाँ मागमा खडेरी परेको पुष्टि गर्छ।

'प्राइस–इन' को एंगलबाट हेर्दा, लगानीकर्ताले बुझ्नुपर्ने कुरा के हो भने बजारले वर्तमानलाई होइन, भविष्यलाई हेरेर चल्छ। निर्वाचन भएपछि प्रणालीमा पैसा आउँछ भन्ने कुरा सबैलाई थाहा छ।  जनवरी १८ देखि २५ सम्मको त्यो छोटो तर तीव्र वृद्धिलाई हेर्नुहोस्। जहाँ कारोबार रकम ८ अर्बबाट सिधै १६ अर्ब पुगेको थियो। त्यो समय नै वास्तवमा निर्वाचनको प्रत्याशित गरिएको खरिद थियो। अहिले जब निर्वाचनको मिति नजिकिँदै छ। बजारमा 'सेल अन न्युज' को अवस्था सिर्जना भएको छ। लगानीकर्तामा देखिएको कौतुहलता र संशयको मुख्य जड यही हो। उनीहरू निर्वाचनको दिन कुरिरहेका छन्।

आगामी दिनका लागि बजारको दिशा कता होला त ? चार्टमा अहिले २,६४० देखि २,६६० को क्षेत्र एउटा महत्त्वपूर्ण समर्थन विन्दुको रूपमा देखिएको छ। यदि बजारले यो विन्दुलाई जोगाउन सकेन भने संशय झन् बढ्नेछ। तर, यदि बजारले निर्वाचनको खबरलाई पूर्ण रूपमा प्राइस–इन गरिसकेको हो भने। अब बजारले नयाँ 'ट्रिगर' खोज्नेछ। त्यो ट्रिगर निर्वाचन अघिको दलहरूको आर्थिक एजेण्डा, ब्याजदरको थप गिरावट वा सूचीकृत कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण हुन सक्छ। 

चार्टमा पछिल्लो समय बनेको 'स्पिनिङ टप' क्यान्डलले बजार अहिले 'कन्सोलिडेसन' मोडमा रहेको देखाउँछ। बजारले अहिले आफ्नो जग बलियो बनाउन खोजिरहेको छ। १६ अर्बको भोल्युमबाट ७ अर्बमा झर्नुले बजारमा 'प्यानिक सेल' नभएको त देखाउँछ। तर ठुला लगानीकर्ताहरू तत्कालै नयाँ 'एन्ट्री' गर्न डराइरहेको पनि प्रस्ट पार्छ।

लगानीकर्ताका लागि अहिलेको सबैभन्दा ठुलो चुनौती भनेको बजारको यो सुस्ततालाई 'बुल मार्केट' भित्रको एउटा स्वस्थ करेक्सनको रूपमा लिने कि 'ट्रेन्ड रिभर्सल' को रूपमा बुझ्ने भन्ने हो। निर्वाचन पूर्वको यो 'साइडवेज' मुभमेन्टले एउटा कुरा भने पक्का गरेको छ। चार्टमा देखिएको आरएसआई (RSI) बिस्तारै ७०-८० को 'ओभरबट' क्षेत्रबाट तल झरेर ५०-६० को सन्तुलित क्षेत्रमा आउनुले बजारले फेरि एक पटक श्वास फेर्न खोजेको देखाउँछ। यदि बजारले २,६४० को टेवामा उभिएर पुनः २,७२० को प्रतिरोधलाई बलियो भोल्युमका साथ तोड्यो भने 'प्राइस–इन' को भ्रम चिरिनेछ र बजारले नयाँ यात्रा तय गर्नेछ। 

अन्त्यमा, शेयर बजारको सुन्दरता र कुरूपता दुवै यसको अनिश्चिततामा लुकेको हुन्छ।  १६ अर्बको कारोबार ७ अर्बमा खुम्चिनु र सूचक २,८०० को नजिक पुगेर ठोक्किएर फर्किनुले बजारमा एउटा 'रेजिस्ट्यान्स' पर्खाल खडा भएको छ। संशय र कौतुहलताको यो समयमा लगानीकर्ताले ह्यान्डल चार्टको हरेक 'क्लोजिङ' लाई सूक्ष्म रूपमा नियाल्न आवश्यक छ।  हालका लागि भने लगानीकर्ताले भावनामा बहकिएर होइन,  बजारको वास्तविक मागलाई बुझेर मात्र आफ्नो लगानी रणनीति तय गर्नु श्रेयस्कर हुनेछ। बजार अहिले थकित छ। तर यो थकान एउटा नयाँ दौडका लागि विश्राम हो वा दौडको अन्त्य, त्यो आगामी केही कारोबार दिनले तय गर्ने नै छन्।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।