चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
वित्तीय खर्च घटेपनि विद्युत बिक्री आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १६.९३ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८८ करोड ९१ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १८.९० प्रतिशत र खुद सञ्चालन मुनाफा २७.०४ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ४१ करोड ९६ लाख रुपैयाँबाट घटेर ३१ करोड ६८ लाख रुपैयाँमा झरेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ६१ पैसा घटेर १० रुपैयाँ ८६ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.३३ गुणा रहेको छ।
३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ५१ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।
