जिल्लाको सिलीचोङ गाउँपालिका–१ मा हुँदै बग्ने सिसुवाखोलाबाट १६.५ मेगावाटको सिसुवा जलविद्युत् आयोजना निर्माण गर्ने प्रक्रिया अघि बढेको हो ।
आयोजना निर्माण गर्न अहिले वित्तिय व्यवस्थापन र अन्य प्रक्रियागत कामहरु अघि बढिरहेका छन् । आवश्यक पूँजीको व्यवस्थापनमा निजी क्षेत्रका ऊर्जा प्रवर्धकहरू लागि परेका छन् । आयोजनामा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको मुख्य लगानी गदैछ । कम्पनीले आफ्नो अधिकृत पूँजीको ५१ प्रतिशत सेयर लगानी गर्ने निर्णय गरेको छ ।
हालै कम्पनीको १४ औं वार्षिक साधारणसभामा पनि उक्त आयोजना निर्माण गर्न लगानी गर्ने निर्णय गरेको भएको अपर हेवाखोला हाइड्रोपावर कम्पनीका प्रवन्ध निर्देशक निशा केसीले बताइन् । उनका अनुसार, आयोजनाको अधिकृत पूँजीको ५१ प्रतिशत लगानी गर्ने निर्णय भएको उनले बताइन् ।
‘संखुवासभामै १६.५ मेगावाटको सिसुवा जलविद्युत् आयोजना बनाउँदैछौं । त्यसमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीले ५१ प्रतिशत लगानी गर्ने निर्णय गरिसकेको छ । अघिल्लो वार्षिक साधारणसभाले उक्त प्रस्ताव उपर निर्णय गरेको हो ।’ उनले भनिन्, ‘कम्पनीले आयोजना अघि बढाउन विद्युत् नियमन आयोगबाट राइट्स सेयर जारी गर्ने पूर्वस्वीकृति लिएपछि आयोजनाको काम अघि बढ्छ ।’
अघिल्लो वार्षिक साधारणसभाले उक्त निर्णय गरेको बताए । कम्पनीले १ः१ को रेसियोमा राइट्स शेयर जारी गर्ने प्रक्रियामा छ । विद्युत् नियमन आयोगबाट यसको पूर्वस्वीकृति आउने वित्तिकै आयोजना निर्माणको काम अघि बढ्ने उनको भनाइ छ ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २०६८ सालमा ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्दै आइरहेको छ । कम्पनी नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सूचीकृत भइ जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छ ।
१६.५ मेगावाटको सिसुवाखोला जलविद्युत् आयोजना निर्माण गर्न ३ अर्बभन्दा बढी लगानी आवश्यक पर्ने कम्पनीको दाबी छ । बाँकी पूँजीका लागि बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर आयोजना निर्माण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले अन्य विभिन्न जलविद्युत् आयोजना निर्माणमा समेत लगानी गरिरहेको छ ।