निजी क्षेत्रमा पनि चुनावी रन्को: महासंघको नेतृत्वका लागि प्यानल बनाउन दौडधुप

Feb 23, 2026 02:00 PM merolagani



मुलुक आगामी फागुन २१ गते हुने संघीय प्रतिनिधि सभाको निर्वाचनको तयारीमा होमिएका बेला निजी क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) मा पनि चुनावी माहौल उत्कर्षमा पुगेको छ। आगामी चैत २८ र २९ गते हुने महासंघको ६० औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ। 

महासंघको सातौँ संशोधित विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ चैतपछि स्वतः अध्यक्षको जिम्मेवारीमा पुग्नेछन्। अध्यक्ष पद निर्विरोध हुने सुनिश्चित भएपनि अन्य पदाधिकारी पदहरूका लागि भने कडा प्रतिस्पर्धा हुने देखिएको छ। महासंघमा प्यानल नै बनाएर चुनाव लड्ने पुरानो परम्परालाई यो वर्ष पनि व्यवसायीहरूले निरन्तरता दिने तयारी गरेका छन्।

महासंघको निर्वाचनमा सबैभन्दा आकर्षण र प्रतिस्पर्धाको केन्द्र 'वरिष्ठ उपाध्यक्ष' पद रहने गर्दछ। यस पदमा जित्ने व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्थाका कारण यसलाई रणनीतिक पद मानिन्छ। आगामी कार्यकालका लागि व्यवसायीहरूले अहिलेदेखि नै आ-आफ्नो प्यानल खडा गर्न र आन्तरिक समीकरण बनाउन सुरु गरिसकेका छन्।

वरिष्ठ उपाध्यक्षका बलिया दाबेदार मध्ये एक वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकाल हुन्। ढकाल निकट व्यवसायीहरूले सोमबार औपचारिक रूपमा आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन्। यो समूहबाट पदाधिकारीका लागि केही नामहरू तय भएका छन्। जसमा जिल्ला–नगर उपाध्यक्ष तर्फ उमेश डालमिया र कल्पना गैरे। वस्तुगत उपाध्यक्ष तर्फ नरेशलाल श्रेष्ठ। एसोसिएट उपाध्यक्ष तर्फ ज्योत्सना श्रेष्ठ। महिला उपाध्यक्ष तर्फ कमला श्रेष्ठ।

महासंघमा अर्को बलियो समूह पनि सक्रिय छ। जसले फागुन २१ को आम निर्वाचनपछि मात्रै आफ्नो टिम सार्वजनिक गर्ने रणनीति लिएको छ। यस समूहबाट वरिष्ठ उपाध्यक्षका लागि सुरकृष्ण वैद्य, रामचन्द्र संघई वा भरत आचार्यमध्ये एक जनालाई अघि सार्ने प्रयास भइरहेको छ। यो समूहमा वस्तुगत उपाध्यक्षका लागि शिवप्रसाद घिमिरे र एसोसिएट उपाध्यक्षका लागि प्रवलजंग पाण्डेको नाममा मोटामोटी सहमति भइसकेको छ। यस टिमलाई भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहने सङ्केत देखिएको छ।

यता मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको भन्दै वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले दुवै समूहलाई मिलाएर लैजाने कसरत सुरु गरेका छन्। उनले निर्वाचन लोकतान्त्रिक अभ्यास भए तापनि सकेसम्म सहमतिको नेतृत्व चयन भएमा अर्थतन्त्रका साझा एजेन्डा अघि बढाउन सहज हुने तर्क गरेका छन्। यद्यपि, दुवै प्यानल चुनावी मैदानमा उत्रिसकेकाले सहमतिको सम्भावना न्यून देखिएको छ।

यस पटकको निर्वाचन संशोधित विधान अनुसार हुने भएकाले कार्यसमितिमा केही नयाँ व्यवस्थाहरू छन्। जसमा वरिष्ठ उपाध्यक्ष हुन तीन कार्यकाल सदस्य भइसकेको बहालवाला कार्यकारिणी सदस्य हुनुपर्नेछ। जिल्ला–नगर समूहमा अब दुई जना उपाध्यक्ष रहनेछन्। कार्यकारिणी समितिमा सातै प्रदेशबाट २–२ जना सदस्यहरूको प्रतिनिधित्व हुनेछ। एसोसिएट, वस्तुगत र जिल्ला–नगर सबै समूहमा महिलाहरूको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ।

यस पटकको निर्वाचनमा महिला उपाध्यक्षको नयाँ पद सिर्जना भए पनि यो पदको निर्वाचनका लागि एउटा प्राविधिक सर्त रहेको छ। विधान अनुसार कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य पुगेमा मात्र महिला उपाध्यक्षको निर्वाचन हुनेछ। यसका लागि साधारण सभाबाट कम्तीमा १० जना महिला सदस्य निर्वाचित हुनुपर्नेछ र अध्यक्षले थप २ जना मनोनीत गरेपछि मात्र यो पदको चुनावी प्रक्रिया सुरु हुनेछ।




सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Feb 18, 2026 10:52 AM

फागुन ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।