लगानी समूहका ७ कम्पनी, कुन कम्पनी के मा अगाडि ?

Feb 24, 2026 06:48 AM Merolagani



चालु आवको पहिलो ६ महिनामा लगानी समूहका कम्पनीहरुको नाफामा भने गिरावट देखिएको छ । कुल ७ वटा सूचीकृत लगानी समूहका कम्पनीमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडबाहेक सबै कम्पनी नाफामै देखिए पनि तीन वटा कम्पनीको नाफा भने गत वर्षको तुलनामा घटेको छ ।

तथ्यांक अनुसार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट (एचआईडीसीएल), नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट (एनआरएन) को खुद मुनाफा गत वर्षको तुलनामा घट्दा इमर्जिङ नेपाल, सीइडीबी होल्डिङ्स लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल र नागरिक लगानी कोषको नाफा भने गत वर्षको पुस मसान्तको तुलनामा बढेको छ । धेरै नाफाको हिसाबले नागरिक लगानी कोष अगाडि देखिए पनि नाफा धेरै वृद्धि गर्नेमा भने इमर्जिङ नेपाल लिमिटेड अगाडि देखिएको छ ।

इमर्जिङ नेपालले गत आवको पहिलो ६ महिनामा ९३ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेकोमा चालु आवको पहिलो ६ महिनामा यो बढेर १ करोड ७० लाख ८० हजार रुपैयाँ पुगेको छ जुन ८१.९३ प्रतिशतको वृद्धि हो । त्यस्तै सीइडीबी होल्डिङ्स लिमिटेडको नाफा गत वर्ष पहिलो ६ महिनामा २० करोड ९४ लाख रुपैयाँ रहेकोमा चालु आवको पहिलो ६ महिनामा ५०.६५ प्रतिशतले बढेर ३१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै हाथवे इन्भेष्टमेन्टको गत वर्षको तुलनामा ३०.३० प्रतिशतले नाफा बढेर १ करोड ९४ लाख ४३ हजार पुगेको छ भने नागरिक लगानी कोषको ६.९२ प्रतिशतले बढेर ६६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । एनआरएनले चालु आवको पहिलो ६ महिनामा ५२ लाख ९३ हजार रुपैयाँ खुद नोक्सानीमा गएको छ भने निफ्रा ३६ प्रतिशत र एचआइडीसीलको नाफामा २३ प्रतिशतले गिरावट आएको छ ।

चुक्ता पुँजी कसको कति ?

लगानी समूहका ७ वटा कम्पनीमध्ये एचआइडीसीएलको चुक्ता पुँजी २४ करोड ९२ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट १.५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी वृद्धि गरेको थियाे । निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोडमा स्थिर रहँदा एनआरएनले ४० प्रतिशतले चुक्ता पुँजी वृद्धि गरी १ अर्ब ७९ करोड ७१ लाख २१ हजार रुपैयाँ पुर्याएकाे छ । त्यस्तै नागरिक लगानी कोषले ५ प्रतिशतले चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ पुर्याउँदा हाथवे नेपालले १२ प्रतिशतले पुँजी वृद्धि गरेर १ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ पुर्याएकाे छ ।

प्रति शेयर आम्दानीमा को अगाडि

प्रति शेयर आम्दानीमा अग्रस्थानमा भने सीइडीबी होल्डिङ रहेकाे छ । कम्पनीको ६ महिनाको प्रति शेयर आम्दानी ६१.०३ रुपैयाँ रहेको छ भने दोस्रो धेरै प्रति शेयर आम्दानी नागरिक लगानी कोषको १९.५५ रुपैयाँ छ भने अन्य लगानी समूहका कम्पनीको प्रति शेयर आम्दानी नगन्य रहेको छ। इमर्जिङ नेपालको ६.१५ रुपैयाँ, हाथवे नेपालको प्रति शेयर आम्दानी १.२३ रुपैयाँ, एचआइडीसीएलको ३.२३ रुपैयाँ तथा निफ्राको ३.८० रुपैयाँ छ ।

नेटवर्थमा भने नागरिक लगानी कोष अगाडि

त्यस्तै लगानी समूहका कम्पनीहरुको नेटवर्थमा भने नागरिक लगानी कोष अगाडि देखिएको छ । कम्पनीको कोषको नेटवर्थ २८०.४६ रुपैयाँ छ भने दोस्रो सीइडीबी होल्डिङसको २४०.८७ रुपैयाँ छ । त्यस्तै एनआरएनको १७४.४९ रुपैयाँ नेटवर्थ रहँदा एचआइडीसीएलको ११२.०२ रुपैयाँ, निफ्राको ११४.७५ रुपैयाँ र इमर्जिङ नेपालको ११०.४६ रुपैयाँ रहेको छ । अंकित मूल्य ५० रुपैयाँ रहेको हाथवे इन्भेष्टमेन्ट नेपालको नेटवर्थ भने ७३.१५ रुपैयाँ रहेको छ।

 

 




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।