शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Mar 01, 2026 10:42 AM Merolagani



शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (फागुन १७ गते), आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ।

 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशतले हुन आउने ३२ करोड रुपैयाँबराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख २२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा ४४ हजार ४०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको १८ करोड ४२ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले आज (फागुन १७ गते) देखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि चैत १ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख ८४ हजार २६० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

इक्रा नेपालले कम्पनीलाई २०८२ मंसिर २५ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ बैशाख मंसिर २४ गतेसम्म रहने छ।

कस्तो कम्पनी हो?

नेपालमा रहेको अपार जलस्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने अभिप्रायले कम्पनीले प्रचलित कानुन बमोजिम २०७१ साल भदौ २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७९ साल असार ८ गतेदेखि पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आईरहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. १०, खरीबोटमा रहेको छ भने कम्पनीको जलविद्युत उत्पादन केन्द्र (पावर हाउस) बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं ७ मा रहेको छ। आवश्यकतानुसार स्वीकृित लिई अन्य स्थानहरुमा पनि रजिष्टर्ड कार्यालय सार्न वा शाखा कार्यालय खोल्न सकिनेछ ।

यस कम्पनीले बागलुङ जिल्लाको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना उत्पादन तथा सञ्चालन गर्न विद्युत उत्पादनको अनुमतिपत्र नेपाल सरकार, उर्जा मन्त्रालयबाट २०७६ पुस २९ गते प्राप्त गरेको थियो। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २९.०८ वर्ष बाँकी रहेको छ।

सो आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहेको छ। उक्त आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यवसायिक उत्पादन भइरहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागिएको हो। निष्काशनबाट प्राप्त रकम कम्पनीले 󠄧आफ्नो 󠄧स्थायी चालु कर्जा भुक्तानीका लागि प्रयोग गर्ने मुख्य उद्देश्य रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

कम्पनीले यस निष्काशनबाट प्राप्त हुने कुल ३२ करोड रुपैयाँमध्ये ८ करोड रुपैयाँ निर्माण सम्पन्न भई व्यवसायिक उत्पादन शुरु गरेको भिमखोला साना जलविद्युत आयोजना (४.९६) को कर्जा भुक्तानी गर्नको लागि प्रयोग गर्नेछ यस्तै कम्पनीको नाउँमा नेपाल सरकार, विद्युत विकास विभागबाट उत्पादन अनुमती प्राप्त गरेको लोअर भिमखोला क्यास्केड जलविद्युत आयोजना (६.०५ मे.वा.) को निर्माण कार्यमा २४ करोड रुपैयाँ लगानी गर्नेछ ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित मुनाफा १ करोड ८८ लाख ५० हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ कमाउने प्रक्षेपण गरिएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ८० पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ५ जना सञ्चालकहरु रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमा संस्थापक शेयरधनीहरुबाट ३ जना, सर्वसाधारण शेयरधनीहरुबाट १ जना र स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालक १ जना रहनेछन्।

हाल कम्पनीमा ५ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नारायण प्रसाद उपाध्याय रहेका छन्। त्यस्तै, कम्पनीको प्रबन्ध निर्देशन हेमराज आचार्य रहेका छन् भने अन्य सञ्चालकमा सरोज प्रसाद दाहाल, नम्रता के.सी. र अभय सिंह पाण्डे रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा कम्पनीलाई एक अग्रणी रुपमा स्थापित गर्ने रहेको छ। त्यस्तै, कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि सार्वजनिक निष्काशनबाट प्राप्त हुन आउने रकमबाट अर्को आयोजना ६.०५ मेगावाटको लोअर भिमखोला क्यासकेड जलविद्युत आयोजनामा आगामी २०८४ आश्विनभित्र निर्माण गरी कम्पनीलाई आर्थिक रुपमा मजबुत बनाउने योजना बनाएको छ। बैंक तथा वित्तीय संस्थाको ऋण तोकिएको समय वि.सं. २०९३ चैत्रभित्र भुक्तानी गर्ने, नयाँ आयोजना निर्माण तथा अन्य कम्पनीहरुको शेयरमा लगानी गर्नको लागि कम्पनीले आर्जन गरी सञ्चित गरेको नाफा तथा थप पुँजी जुटाई उपयुक्त आयोजना निर्माण तथा अन्य कम्पनीको शेयरमा लगानी गर्ने र नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी विद्युत उत्पादन गर्ने सम्बन्धमा इन्जिनियरिङ्ग सेवा उपलब्ध गराउने योजना पनि कम्पनीले बनाएको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।