अन्तर्राष्ट्रिय बजारमा बढेकाे तनावले तेलको मूल्यमा कीर्तिमानी वृद्धि, शेयर बजारमा ऐतिहासिक गिरावट

Mar 09, 2026 12:25 PM merolagani



सुवास निरौला

इरानसँगको बढ्दो अमेरिका-इजरायली द्वन्द्वका कारण होर्मुज जलडमरूबाट हुने ढुवानीमा लामो समयसम्म अवरोध आउने डर बढेपछि विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल १२० डलर नजिक पुगेको छ। यता अन्तर्राष्ट्रिय शेयर बजारहरूमा तीव्र गिरावट देखिएको  छ।  

 

इरानले आइतबार अली खामेनीको उत्तराधिकारीको रूपमा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरेसँगै द्वन्द्व थप बढ्ने सङ्केत देखिएको छ। अमेरिका र इजरायलले सप्ताहान्तमा इरानभरि नयाँ हवाई आक्रमणहरू सुरु गरे। जसमा तेल डिपोहरू निशाना बनाइए।

सीएनबीसीको रिपोर्ट अनुसार, ब्रेन्ट क्रुडको मूल्य १२० डलर प्रति ब्यारेल नजिक पुगेको छ। जुन सन् २०२२ पछि पहिलो पटक हो। यो मूल्य वृद्धि अकल्पनीय छ। किनकि यो १० दिनमा करिब ६० प्रतिशतले बढेको छ। २८ फेब्रुअरीमा द्वन्द्व सुरु भएयता ब्रेन्ट क्रुड २५ प्रतिशत भन्दा बढीले बढेर ११६ डलर प्रति ब्यारेलमा पुगेको छ। सन् २०२२ मा रुस-युक्रेन युद्धका बेला कच्चा तेलको मूल्य १०० डलर पार गरेको थियो। तर अहिलेको वृद्धिले त्यसलाई पनि उछिनेको छ।

एलएसईजी तथ्याङ्क अनुसार, तेलको मूल्यमा भएको यो वृद्धि सन् १९८८ को अन्त्यपछिको सबैभन्दा ठुलो एक दिने वृद्धि हो। हर्मुज जलडमरू,जुन विश्वको तेल आपूर्तिको लगभग पाँचौँ भागको लागि महत्त्वपूर्ण मार्ग हो। त्यहाँको यातायात लगभग ठप्प भएको छ। यसले कुवेत,इरान र संयुक्त अरब इमिरेट्स लगायत मध्यपूर्वी तेल उत्पादकहरूले तेल उत्पादनमा कटौती गरेपछि मूल्यमा थप वृद्धि भएको हो।

यता तेलको मूल्य बृद्दिलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै तेलको मूल्यमा भएको "छोटो अवधिको वृद्धि" इरानको आणविक खतरालाई नष्ट गर्न "तिर्नु पर्ने धेरै सानो मूल्य" भएको बताएका छन्। उनले "मूर्खहरूले मात्र फरक सोच्नेछन्!" भनी थपेका छन्। यो भनाइले अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने र द्वन्द्व अझै लम्बिँदै जाने सङ्केत गर्छ।

जानकारहरूको विश्लेषण अनुसार, यदि सामुद्रिक क्षेत्रमा बन्द मार्चको अन्त्यसम्म रह्यो भने, तेलको मूल्य १५० डलर प्रति ब्यारेलसम्म पुग्न सक्छ। यसले जेट इन्धन  र मल जस्ता महत्त्वपूर्ण व्युत्पन्न उत्पादनहरूको लागतमा पनि वृद्धि ल्याउनेछ। जसको सीधा असर विश्वव्यापी कृषि र यातायात क्षेत्रमा पर्नेछ। पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका अदनान मजारेईले मानिसहरूले यो द्वन्द्व चाँडै अन्त्य नहुने महसुस गरिरहेको बताएका छन्। जसले भविष्यमा अझ ठुलो अनिश्चिततालाई सङ्केत गर्छ।

विश्वव्यापी शेयर बजारमा ऐतिहासिक गिरावट

तेलको मूल्यमा भएको यो तीव्र वृद्धिले विश्वभरका शेयर बजारहरूमा ठुलो धक्का दिएको छ। भारतमा पनि यसको गम्भीर असर परेको छ। आज अर्थात् ९ मार्चमा भारतीय शेयर बजारमा ठुलो गिरावट आएको छ। सेन्सेक्स करिब २१०० अंक (२.६० प्रतिशत) घटेर ७६,८०० को स्तरमा कारोबार गरिरहेको छ। निफ्टीमा पनि करिब ७०० अंक (२.७० प्रतिशत) को गिरावट आएको छ। यो २३,८०० मा कारोबार गरिरहेको छ। आज बैंक, अटो , मेटल , इनर्जी  र एफएमसीजी शेयरहरूमा बढी बिक्री देखिएको छ। यसअघि, शुक्रवार अर्थात् ६ मार्चमा पनि सेन्सेक्स १०९७ अंक (१.३७ प्रतिशत) घटेर ७८,९१९ मा बन्द भएको थियो। निफ्टीमा पनि ३१५ अंक (१.२७ प्रतिशत) को गिरावट रही यो २४,४५० मा आएको थियो।

जापानको निक्केई २२५ सूचकाङ्क ७ प्रतिशत भन्दा बढीले घटेको छ। जुन जनवरीपछि पहिलो पटक ५२ हजार अंकभन्दा तल झरेको हो। दक्षिण कोरियाको कोस्पी सूचकाङ्क ८ प्रतिशत भन्दा बढीले घट्यो। जसले गर्दा २० मिनेटको लागि कारोबार रोकियो। यो सोमबार चौथो सत्रमा दोस्रो सर्किट ब्रेकर थियो।चिनियाँ बजारमा हङकङको ह्याङ सेङ सूचकाङ्क २.७५ प्रतिशतले गिरावट आएको छ। यता मुख्य भूमि चीनमा सीएसआई ३०० पनि १.६५ प्रतिशतले घटेको छ। अस्ट्रेलियाको एसएन्डपी/एएसएक्स २०० पहिलेको घाटा कम गर्दै ३.२ प्रतिशतले गिरावट आयो।

अमेरिकी शेयर फ्युचर्समा पनि गिरावट:

तेलको मूल्यमा भएको वृद्धिका कारण अमेरिकी स्टक फ्युचर्स पनि ओरालो लागेका छन्। डाउ जोन्स इन्डस्ट्रियल एभरेज  फ्युचर्स ८०० अंक वा १.७५ प्रतिशतले घट्यो। एसएन्डपी ५०० फ्युचर्स १.५९ प्रतिशतले घट्यो। जबकि न्यासड्याक-१०० फ्युचर्स १.६ प्रतिशतले घट्यो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको यो गम्भीर स्थितिले विश्वव्यापी अर्थव्यवस्थालाई ठुलो चुनौती दिएको छ। तेलको मूल्यमा भएको कीर्तिमानी वृद्धि र शेयर बजारमा ऐतिहासिक गिरावटले विश्वभरका उपभोक्ता, व्यवसाय र सरकारहरूलाई ठुलो दबाब दिएको छ। भू-राजनीतिक तनाव यथावत् रहेमा वा थप बढेमा यसको दीर्घकालीन प्रभाव अझ गम्भीर हुन सक्छ। नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूका लागि पनि यो अवस्था चिन्ताको विषय हो। किनकि यसले आयातित वस्तुहरूको मूल्य बढाएर मुद्रास्फीति र आर्थिक अस्थिरता ल्याउन सक्छ

 




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।