एकल बहुमत प्राप्त गरेर नयाँ सरकार बनाउने तयारी गरेकाे रास्वपाले सार्वजनिक यातायात क्षेत्रको सुधार कसरी गर्ला ?

Mar 09, 2026 01:24 PM merolagani



हरिप्रसाद शर्मा

देशभर प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम करिव अन्तिम चरणमा पुगेको छ ।

पछिल्लो प्राप्त मतपरिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत प्राप्त गर्ने निश्चित छ । हालसम्म रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी भएको छ

हालसम्म नेपाली कांग्रेसले १७ स्थानमा, नेकपा एमालेले ८ स्थानमा, नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा, श्रम संस्कृति पार्टीले ३ स्थानमा र स्वतन्त्र अन्यमा २ स्थानको परिणाम सार्वजनिक भइसकेको छ । हालसम्म प्रत्यक्षतर्फ १६३ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

जसमा रास्वपाको एकल बहुमत पुग्ने स्थिति छ । प्रत्यक्षतर्फ १२५ स्थान र समानुपाति गरेर कुल १३८ सिट ल्याउने दलले बहुमतको सरकार गठन गर्न सक्नेछ । यसर्थ, प्रतिनिधि सभा निर्वाचनमा अब पाँच वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित जस्तै भएको छ ।

रास्वपाले अब बन्ने सरकारको नेतृत्व गरिरहँदा पार्टीले वाचा पत्र अनुसार काम गर्नुपर्ने चुनौती समेत उत्तिकै छ । यसैबीच नयाँ सरकारले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि के कस्ता योजना अघि बढाउला भन्ने चासो बढेको छ ।

भीडभाड, कोचाकोच र अस्तव्यस्त रहेको नेपालको सार्वजनिक यातायातको क्षेत्र सुधार गर्न रास्वपाले केही महत्वपूर्ण वाचाहरु गरेको छ । प्रतिनिधि सभा निर्वाचन हुनुअघि नै रास्वपाले सार्वजनिक गरेको चुनावी वाचा पत्रमा सार्वजनिक यातायातको क्षेत्र सुधार गर्न केही महत्वपूर्ण विषयहरु समेटिएको छ । वाचा पत्रमा उल्लेख भएका विषयहरु कार्यान्वयन हुन सकेमा नेपालको सार्वजनिक यातायात क्षेत्र व्यवस्थित हुनेछ ।

वाचा पत्रमा के छ ?

रास्वपाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि वाचा पत्रमा केही मूलभूत विषयहरु उल्लेख गरेको छ । जुन, आगामी पाँच वर्षका लागि बन्ने सरकारले कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ । सडक सुरक्षालाई प्रविधिसँग जोड्दै सार्वजनिक यातायातका साधनको जीपीएस ट्याकिङलगायत एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली, गति र लेन अनुशासनमा कडाइ गर्दै पहिलो वर्षमै दुर्घटना दरमा भारी गिरावट लक्ष्य रास्वपाले वाचा पत्रमा गरेको छ ।

त्यस्तै, लामो दूरीका बस सेवामा सिन्डिकेट र कार्टेलिङलाई पूर्ण रुपमा अन्त्य गरी नागरिकलाई स्वस्थ प्रतिष्पर्धा र सुरक्षित गुणस्तरीय सेवा दिने रास्वपाको वाचा पत्रमा उल्लेख छ । त्यस्तै, ठूला सहरी क्षेत्रमा नगर बस सेवालाई चुस्त, सुरक्षित र आरामदायी नागरिकमैत्री ग्रिन बेल्ट र सार्वजनिक पार्क क्रमिक रुपमा विस्थापित गरिनेछ ।

त्यस्तै, नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनको आधारमा रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना बनाउने रास्वपाले वाचा गरेको छ । मेची महाकाली विद्युत्तीय रेलमार्गलाई यात्रु र माल ढुवानीको मेरुदण्ड बनाउने रास्वपाको वाचा पत्रमा समावेश छ ।

वाचा पत्र होला कार्यान्वयन ?

 वाचा पत्रमा ल्याएका सार्वजनिक यातायात सुधारका योजनाहरु रास्वपा सरकारमा गएपछि कार्यान्वयन गर्नुपर्ने चुनौती छ । एकल बहुमत प्राप्त सरकारले वाचा पत्रमा लेखिएका कुरा पूरा गर्न त्यति कठिन नहोला । तर, वाचा पत्र कार्यान्वयनको चरणमा भने सरकार गम्भीर हुनु नै पर्छ । हुन त विगतमै गर्नुपर्ने कतिपय सार्वजनिक यातायातका विषयहरु यसपाली रास्वपाले वाचा पत्रमार्फत सुधार गर्ने आसा जगाएको छ ।

सार्वजनिक सवारी साधनमा जीपीएस ट्याकिङ गर्ने विषय विगतका सरकारले योजनामा ल्याए पनि कार्यान्वयन भएन् । अब बन्ने रास्वपा सरकारले पूरा गर्ने अपेक्षा गरिएको छ ।

लामो दूरीका बसको सिन्डिकेटको अन्त्य गर्ने वाचा पत्रको विषय पनि कार्यान्वयन गर्न सकिने किसिमकै छ । काठमाडौं, पोखरा, चितवन, विराटनगरजस्ता ठूला सहरमा नगर बस सेवा चुस्त र सुरक्षित रुपमा सञ्चालन गर्न सकिन्छ ।

विगतमा केही मुख्य सहरमा पनि नगर बसको अवधारणा कार्यान्वयनमा आइसकेको छ । अब बन्ने रास्वपाको सरकारले इमान्दार भएर सार्वजनिक यातायात क्षेत्रको सुधार गर्नतर्फ लाग्न सक्यो भने आम नागरिकले भरपर्दो र सहज यातायातको सेवा प्राप्त गर्नेछन् ।




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।