रास्वपाले वरिष्ठ नेता बालेन शाह भावी प्रधानमन्त्रीका रुपमा अघि बढाएको छ । उनी नै अबको प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनेछन् । आम जनताबाट ताजा जनादेश पाएर आएको रास्वपाले आफ्नो वाचापत्रअनुसार सरकारमा रहँदा काम गर्नुपर्ने चुनौती उत्तिकै छ ।
यसैबीच, निर्वाचनको प्रत्यक्षतर्फको मत परिणाम सकिए लगत्तै रास्वपाले सरकारको नेतृत्व गर्दा उसले वाचापत्रअनुसार काम गर्न सक्ला ? त्यो भविष्यले देखाउला । तर, अहिले निजी क्षेत्रका ऊर्जा व्यवसायीहरु भने अब बन्ने रास्वपा सरकारप्रति निकै आशावादी रहेको बताएका छन् ।
विगतमा निजी क्षेत्रका ऊर्जा व्यवसायीले माग्दै आएका विषयहरु रास्वपाले आफ्नो वाचापत्रमा समेटेको र सरकारमा पुगेपछि कार्यान्वयन हुने ठूलो अपेक्षा बोकेर ऊर्जा व्यवसायी बसिरहेका छन् ।
खासगरी, विगतमा निजी क्षेत्रका ऊर्जा व्यवसायीले उठाउँदै आएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खोल्नुपर्ने, विद्युत् उत्पादन अनुमतिपत्र(लाइसेन्स) अवधि ३५ बाट ५० वर्ष पुर्याउनु पर्ने, वन, रुखलगायत प्रकृयागत हुने कामहरु एकद्धार प्रणालीमार्फत गर्ने र निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण तथा वितरण प्रणालीमा सहभागीता सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका थिए ।
रास्वपाले आफ्नो चुनावी वाचापत्रअनुसार ती मागहरुलाई यथोचित सम्बोधन गरेकाले अब बन्ने रास्वपा सरकारबाट ऊर्जा व्यवसायीले ठूलो आशा लिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए ।
उनले यसपालीको चुनावमा रास्वपालाई नै जनताले अत्याधिक मतका साथ सरकारको नेतृत्व गर्न पठाएको र ५ वर्ष स्थिर सरकार बन्ने भएकाले पनि ऊर्जा क्षेत्रमा केही नयाँ हुने अपेक्षा गरिएको बताए ।
उनले एकल बहुमत प्राप्त सरकारले ऊर्जा क्षेत्रका समस्या समाधान गर्दै ऊर्जा क्षेत्र मार्फत मुलुकलाई समृद्धिको दिशामा लैजानु पर्ने चुनौती रहेको बताए ।
‘अबको सरकारले ऊर्जा क्षेत्रका विगतका समस्या र हामीले माग गरे अनुसारका चुनौतीहरु आफ्नो वाचापत्रमा समावेश गरेको छ,’ उनले भने, ‘जनताले पनि बहुमत दिएर पठाएका छन् । यो सरकारलाई वाचापत्र अनुसार काम नगरे कुनै विकल्प छैन् ।’ उनले अब बन्ने सरकाप्रति ऊर्जा व्यवसायीको ठूलो आशा रहेको बताए । ‘हामी ऊर्जा व्यवसायीहरु पनि ठूलो आशा बोकेका छौं । पुराना सरकारले जसरी दुःख दिनुभएन्,’ उनले भने।
उनका अनुसार,वन तथा वातारण सम्वन्धि प्रकृयागत कुराहरु एकद्धार प्रणालीमार्फत गर्नेदेखि लाइसेन्स अवधि ५० वर्ष पुर्याउने र निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा सहभागी गराउने वाचा रास्वपाले लिएको छ ।
रास्वपाले पनि विद्युत् उत्पादनसँगै खपतमा जोड दिएको छ । जुन,देशका लागि राम्रो कुरा हो । रास्वपाले आगामी दश वर्षमा ३० हजार मेगावाटको जडित क्षमता पुर्याउने, पीपीए अनुमति खुला गर्नेलगायतका विषयहरु वाचापत्रमा समेटेको छ ।
वाचापत्रअनुसार रास्वपाले काम गरेमा नेपालको ऊर्जा क्षेत्रले अर्को ऐतिहासिक फड्को मार्ने कार्कीले बताए । उनले भने, ‘फाइल बुझाएको कति दिनमा काम हुने हो त्यसको तालिका दिनुपर्यो । यो सरकारले केही न केही गर्छ भन्ने विश्वास छ । राम्रा विषयमा कांग्रेस जस्ता पार्टीले पनि साथ दिएर जानुपर्यो ।’
उनले ऊर्जासम्वन्धी वाचापत्रमा उल्लेख गरिएका विषय रास्वपाले सरकारमा पुगेर काम गर्नुपर्ने जनमत रहेको उनी बताउँछन् । ती माग पूरा भएमा स्वदेशमै रोजगारी र लगानीको वातावरण समेत बन्ने उनको तर्क छ ।