सार्वजनिक वित्तीय विवरण अनुसार, माघ मसान्तसम्ममा २० वाणिज्य बैंकहरूले कुल ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो। गत वर्ष माघसम्म बैंकहरूको कुल नाफा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ मात्र थियो।
पछिल्लो तथ्याङ्क अनुसार नबिल बैंकले अन्य बैंकहरूलाई निकै पछाडि छाड्दै आफ्नो अग्रतालाई थप बलियो बनाएको छ। नबिलले माघ महिनालसम्म ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३४.२१ प्रतिशतको वृद्धि हो। नबिल बैंकको यो नाफा समग्र बैंकिङ क्षेत्रकै उच्च हो। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले पनि ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ कमाउँदै आफ्नो स्थान सुरक्षित राखेको छ।
यस वर्षको माघसम्मको तथ्याङ्कमा सबैभन्दा बढी चर्चा कुमारी बैंकको छ। कुमारी बैंकले आफ्नो नाफामा ३२९.८६ प्रतिशतको चामत्कारिक वृद्धि गर्दै ३ अर्ब १७ करोड ५१ लाख रुपैयाँ पु-याएको छ। गत वर्ष सोही अवधिमा बैंकले मात्र ७३ करोड ८६ लाख रुपैयाँ कमाएको थियो। त्यस्तै, सिद्धार्थ बैंकले पनि आफ्नो नाफा झन्डै दोब्बर (९९.५७ प्रतिशत) ले वृद्धि गरी १ अर्ब ७० करोड ६६ लाख रुपैयाँ पुर्याएको छ। राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकको नाफामा पनि उत्साहजनक सुधार देखिएको छ।
८ बैंकको नाफामा गिरावट
समग्र बजारमा नाफा बढेको देखिए पनि २० मध्ये ८ वटा बैंकको नाफा भने घटेको छ। नाफा घट्ने बैंकहरूमा लक्ष्मी सनराइज बैंक सबैभन्दा अगाडि छ। यो बैंकको नाफा ८४.७३ प्रतिशतले घटेर मात्र २४ करोड २७ लाख रुपैयाँमा खुम्चिएको छ।यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (३६.१८ प्रतिशत), सिटिजन्स बैंक (३६.०९ प्रतिशत), प्रभु बैंक (२५.६६ प्रतिशत) र नेपाल बैंक (२४.४० प्रतिशत) को नाफामा पनि उल्लेख्य गिरावट आएको छ। एभरेष्ट बैंक र एनआईसी एशिया बैंक जस्ता ठूला बैंकहरूको नाफामा पनि सामान्य गिरावट देखिएको छ।
बैंकरहरूका अनुसार खराब कर्जाको व्यवस्थापन र ब्याज आम्दानीमा भएको वृद्धिले केही बैंकको नाफा बढाउन सहयोग गरेको छ। तर, अर्थतन्त्रमा अझै पूर्ण सुधार नभएका कारण केही बैंकहरूले प्रोभिजनिङ (नोक्सानी व्यवस्था) मा बढी रकम छुट्टाउनुपर्दा नाफामा संकुचन आएको हो।