आइतबार नेप्से परिसूचक ४.४५ अंक बढेर २८२४.९० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेकस ०.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।
नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। गत बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको १ लाख २४ हजार ४९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँबराबरको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सोलु हाइड्रोपावर र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८१ करोड १ लाख २१ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब ६८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८३ प्रतिशत बढेको छ। अरु बढेको उपसमूहहरुको वृद्धिदर भने सामान्य रहेको छ। यस दिन होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।