नागरिक लगानी कोष: पूँजी बजारको भरपर्दो खम्बा

Mar 18, 2026 02:00 PM Merolagani



देब गुरागाँई

देशको आर्थिक विकासको लागि सर्वसाधारण जनतालाई समेत पूँजी बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पूँजीबजारमा गतिशीलता ल्याउने उद्देश्य राखेर नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं. २०४७ चैत्र ४ गते स्थापना भएको हो।

तीन दशक पार गरेको यो संस्थाले आज चैत्र ४ गते वार्षिकोत्सव मनाउदै गर्दा पूँजीबजारमा सूचीकृत एक संस्थाको रुपमा आम लगानीकर्तालाई यसबारे जानकारी गराउने उद्देश्यले लेखकले यो लेख तयार गरेकाे हाे।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीहरू मध्ये नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेका मुख्य कम्पनीहरूमध्येको एक हो, नागरिक लगानी कोष जहाँ नेपाल सरकारको प्रत्यक्ष २३.३४ प्रतिशत, सरकारी स्वामित्व रहेका वित्तीय संस्थाहरुको ४१.५५ प्रतिशत, अन्य बैंक तथा वित्तीय संस्थाको १५.११ र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ। १ करोड ४० लाख रूपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको कोषले आफ्नो पूँजी उल्लेख्य वृद्धि गरी हाल ६ अर्ब ८० करोड रूपैयाँ पुर्याएको छ।

'नेपालको समृद्धिको सहयात्री' मूल नारा बोकेको यो संस्थाले विभिन्न प्रकारका अवकाश योजना (कर्मचारी बचत वृद्धी अवकाश कोष, उपदान तथा पेन्सन कोष योजना, लगानीकर्ता अवकाश योजना, नागरिक पेन्सन योजना), राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कोष योजना र नागरिक एकांक योजना समेत सञ्चालन गरी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २७९.८ अर्ब रूपैयाँ रकम संकलन गरेको वित्तीय विवरणमा देखिन्छ। यसका अतिरिक्त कोषसँग चुक्तापूँजी तथा विभिन्न जगेडा कोष समेत गरी कुल फण्ड ३१९ अर्ब रूपैयाँ रहेको छ। कोषले गरेको लगानीको अवस्था हेर्दा करिब ५० प्रतिशत रकम मुद्दती निक्षेपमा, २२ प्रतिशत रकम सहभागी सापटीमा र बाँकी रकम सरकारी ऋणपत्र, ट्रेजरीबिल्स, शेयर/डिबेन्चर, परियोजना कर्जामा लगानी भएको देखिन्छ।

शेयर बजारतर्फ हेर्दा, यस संस्थाको शेयरमा गरिएको लगानीले लगानीकर्ताहरूलाई कहिल्यै निराश बनाएको छैन भन्ने कुरा उनीहरूले बताएका छन्। यदि कसैले वि.सं. २०६२ सालतिर प्रतिकित्ता २०० रूपैयाँका दरले १०० कित्ता शेयर खरिद गरी राखेको भए, हालसम्म ती शेयर बढेर ११ हजार ३४२ कित्ता पुगेका छन्। त्यसको आजको बजार मूल्य प्रतिकित्ता १ हजार ८२० का दरले गणना गर्दा जम्मा करिब २ करोड ६ लाख रूपैयाँबराबरको सम्पत्ति भएको छ। यो चक्रवृद्धिको शक्ति (Power of Compounding) को एक उत्कृष्ट उदाहरण हो। नागरिक लगानी कोष (CIT) को बोनस शेयर र नगद लाभांशको इतिहासका आधारमा सम्पत्ति वृद्धि तथा प्रतिफलको विश्लेषण यस प्रकार रहेको छ:

सम्पत्ति वृद्धि विश्लेषण

सुरुवाती लगानी १०० कित्तामा थप भएको बोनस शेयर र आर्थिक वर्ष ७६/७७ मा गरिएको 'हकप्रद शेयर' (Right Share) को माध्यमबाट निकै ठूलो मात्रामा शेयर बढेको देखिन्छ।

  • सुरुवाती लगानी: रू. २०,००० (आ.व. ६३/६४ मा)
  • अन्तिम मूल्य: रू. २०,६४३,९०२.७६ (आ.व. ८१/८२ मा)
  • कुल खुद नाफा: रू. २०,६२३,९०२.७६
  • कुल प्रतिशत वृद्धि

कुल वृद्धिको गणना यस सूत्रबाट गरिएको छ:

यो विशाल प्रतिशत वृद्धिको मुख्य कारण कित्ता संख्यामा भएको वृद्धि हो, जुन १०० कित्ताबाट बढेर ११ हजार ३४२ कित्ता पुगेको छ।

२. औसत वार्षिक प्रतिफल

यो तथ्याङ्क १९ वर्षको अवधि (आ.व. ६३/६४ देखि ८१/८२ सम्म) को हो। औसत प्रतिफल निकाल्न यहाँ चक्रवृद्धि वार्षिक वृद्धि दर (CAGR) प्रयोग गरिएको छ, जसले वार्षिक औषत वृद्धिलाई दर्शाउँछ।

CAGR को गणना

बोनस शेयरको शक्ति: सुरुवाती ७ वर्षमा बोनसको दर निकै उच्च (२५% देखि ५०%) रहेको थियो, जसले पहिलो दशकमै शेयरको संख्या करिब तेब्बर बनाइदियो।

ठूलो मोड (Pivot Point):आ.व. ७६/७७ मा ८२.८४% हकप्रद शेयर तथा करिब २ लाख ४६ हजार ९२७ को थप लगानीले शेयरको संख्या अचानक दोब्बर बनाउन ठूलो भूमिका खेलेको देखिन्छ।

हालको प्रवृत्ति: सुरुका वर्षहरूमा ३५% भन्दा बढी रहेको बोनस दर हालका वर्षहरूमा घटेर ५–७% मा सीमित भएको छ। कम्पनी परिपक्व हुँदै जाँदा र चुक्ता पूँजी बढ्दै जाँदा यस्तो हुनु स्वाभाविक मानिन्छ।

प्रक्षेपण: यदि आगामी ५ वर्ष (आ.व. ८२/८३ देखि ८६/८७ सम्म) यस संस्थाले दिने बोनस शेयर औसतमा १२% मात्र रहने हो भने पनि, उपरोक्त हिसाबमा कुल शेयर संख्या १९,९९० कित्ता पुग्नेछ। हालको बजार मूल्य प्रतिकित्ता १ हजार ८२० लाई नै आधार मान्दा कुल सम्पत्ति करिब ३ कराेड ६३ लाख ८० हजार ९६१.८१ पुग्न सक्छ, जुन करिब १ करोड ५७ लाखले वृद्धि हो। यसरी आगामी ५ वर्षमा कुल सम्पत्तिमा करिब ७६.२३ प्रतिशतले वृद्धि हुन सक्ने अनुमान गर्न सकिन्छ।

नागरिक लगानी कोषमा संकलित हुने रकम दीर्घकालिन प्रकृतिको रकम भएता पनि कोषले गरेको लगानीको ठूलो हिस्सा अझै बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा रहेको देखिन्छ। यस्तो दीर्घकालीन प्रकृतिको फण्डलाई देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने गरी सरकारका प्राथमिकताका पूर्वाधार निर्माणका परियोजना, उत्पादनशीलक्षेत्र एवम् शिक्षा र स्वास्थ्यजस्ता सेवा क्षेत्रमा सार्वजनिक-निजी तथा सार्वजनिक-सार्वजनिक साझेदारीकारुपमा आवश्यक कार्य गर्न कोषले थप सक्रियता पुर्वक काम गर्नुपर्ने देखिन्छ। नागरिक लगानी कोषले अबका दिनमा विभिन्न क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने अधारहरु छन्।

पहिलो, पूर्वाधार विकासमा लगानी विस्तार: नेपालमा ऊर्जा, सडक, रेल, शहरी विकास तथा डिजिटल पूर्वाधारमा ठूलो लगानी आवश्यक छ। नागरिक लगानी कोषले दीर्घकालीन कोष परिचालन गरी यस्ता परियोजनाहरूमा लगानी गर्न सक्छ। 

दोस्रो, पूँजी बजारको विकास: नेपालको पूँजी बजार अझै विकासको चरणमा छ। संस्थागत लगानीकर्ताको रूपमा नागरिक लगानी कोषले पूँजी बजारलाई अनावश्यक अस्थिर हुनबाट रोक्दै स्थायीत्व र विश्वास प्रदान गर्न सक्छ।

तेस्रो,नागरिकको बचत संस्कृतिको विस्तार: आर्थिक समृद्धिको आधार बचत र लगानी हो। नागरिक लगानी कोषले देशभर बचत र दीर्घकालीन लगानीको संस्कृतिलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

चौथोयुवा उद्यमशीलता र नवप्रवर्तनलाई समर्थन: नेपालमा ठूलो युवा जनसंख्या छ। यदि उनीहरूलाई वित्तीय स्रोत, तालिम र अवसर प्रदान गरियो भने उनीहरू देशको आर्थिक परिवर्तनका मुख्य चालक बन्न सक्छन्। यस दिशामा पनि नागरिक लगानी कोषले विशेष कार्यक्रमहरू सञ्चालन गर्न सक्छ।

सरकारले नागरिक लगानी कोष जस्ता संस्थाहरूलाई अझ सक्षम बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने देखिन्छ। हाल नेपालमा सामाजिक सुरक्षाको क्षेत्रमा स्थापित कोषहरुको कार्यक्षेत्रमा देखिएका द्विविधा निरोपण गर्दै सामाजिक सुरक्षा अबधारणाको पूर्ण कार्यान्वनका लागि नीतिगत तथा कानुनी व्यवस्थामा स्पष्टता कायम गर्न आवश्यक देखिएको छ। बहुकोषहरूले सञ्चालन गरेका सामाजिक सुरक्षा योजनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै दायरा विस्तार तथा तिनीहरुको दीगोपना सुनिश्चित गर्न, सामाजिक सुरक्षा योजनाका कार्यक्रममा दोहोरोपना नहुने गरी एकीकृत अवधारणाका साथ सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक प्रणालीको विकास गर्नुपर्ने देखिन्छ।

अन्त्यमा, नेपालको आर्थिक समृद्धि केवल सरकारको प्रयासले मात्र सम्भव हुदैन। यसको लागि सरकार, निजी क्षेत्र, वित्तीय संस्था, नागरिक समाज र आम नागरिक सबैको साझा प्रयास आवश्यक हुन्छ। बचत गर्ने नागरिक, लगानी गर्ने संस्था र नीति निर्माण गर्ने सरकार मिलेर मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। नागरिक लगानी कोषले आगामी दिनमा नेपालको आर्थिक विकास, नागरिकको वित्तीय सुरक्षा, लगानीकर्ताको हित र दीर्घकालीन लगानी प्रवर्द्धनमा अझ प्रभावकारी भूमिका खेल्नुपर्दछ।

(लेखक पूँजी बजार जानकार व्यक्ति हुन्)




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।