शेयर बजारमा उत्साह देखिएको छ । किन होला ?
शेयर बजार स्वभावैले उतारचढावपूर्ण हुन्छ। यो ठीक ‘कभी खुशी, कभी गम’ जस्तै हो। कहिले बजारले बहार ल्याउँछ भने कहिले निराशा पनि दिन्छ। सूचक बढ्दा लगानीकर्ताहरू खुसी हुन्छन् भने घट्दा निराश हुन्छन्। लामो समयसम्म बजार साइडवेजमा रहँदा झन् पीडा थपिन्छ।
तर शेयर बजारको चक्र पनि रातपछि दिन र दिनपछि रात आउने जस्तै हो—एकपछि अर्को अवस्था आइरहन्छ। त्यसैले अहिले देखिएको उत्साह भविष्यमा सुधारको अपेक्षासँग जोडिएको हो।
शेयर बजारमा अहिले देखिएको उत्साह कस्तो हो ? यो बढाइलाई कत्तिको दिगो मान्न सकिन्छ ?
मुलुकमा लगानीका अन्य क्षेत्रहरू खुम्चिँदै गएका छन्, जसका कारण तत्काल लगानी गर्ने उपयुक्त ठाउँको अभाव देखिएको छ। बजारमा पैसा नआएको होइन—पैसा आएको छ र बैंक तथा वित्तीय संस्थाहरूबाट मार्जिन कर्जा पनि बढेको छ। लगानीका लागि आवश्यक आधारहरू भए पनि अपेक्षित रूपमा बजारले गति लिन सकेको छैन।
यसको मुख्य कारण बजारमा अत्यधिक आपूर्ति (सप्लाई) बढ्नु हो। नेपाल धितोपत्र बोर्ड बाट आईपीओ र हकप्रद सेयरमार्फत ठूलो मात्रामा सेयर आपूर्ति गरिएको छ। तर सो अनुपातमा माग (डिमाण्ड) बढ्न सकेको छैन।
परिणामस्वरूप, सूचक बढ्न खोज्दा पनि टिक्न नसकेको र बजार निरन्तर दबाबमा परेको अवस्था देखिन्छ। यो अवस्था नयाँ होइन,यो समस्या विगत दुई–तीन वर्षदेखि नै देखिँदै आएको हो। समग्रमा भन्नुपर्दा, बजार ओभर सप्लाईका कारण थलिएको हो।
त्यसरी आउने सप्लाई निरन्तर अझै छ । अबको बजारमा सप्लाईको प्रभाव पर्दैन ?
हो, नेपाल धितोपत्र बोर्ड बाट निरन्तर सप्लाई बढिरहेको छ। तर अहिलेको अवस्थामा लगानीका अन्य क्षेत्रहरू खुम्चिएकाले धेरै लगानीकर्ताको ध्यान फेरि शेयर बजारतर्फ गएको छ।
बजार घट्नुको कारण पैसा अभाव होइन। वास्तवमा देशमा ‘आइडल मनी’ (निष्क्रिय पूँजी) प्रशस्त मात्रामा रहेको छ।आम लगानीकर्तादेखि लिएर ठूला लगानीकर्ता (बिग मनी) र संस्थागत लगानीकर्तासम्म। तर त्यो पैसा पूर्ण रूपमा शेयर बजारमा प्रवेश गर्न सकेको छैन।
यसको मुख्य कारण राजनीतिक अस्थिरता हो। राजनीतिक रूपमा देखिएको अनिश्चितताका कारण लगानीकर्तामा विश्वासको कमी देखिएको छ। जबसम्म विश्वासको वातावरण बन्दैन, तबसम्म बजारमा ठूलो पूँजी प्रवेश गर्न सक्दैन।
त्यसैले, अहिलेको बजार अवस्था पूँजी अभावको भन्दा पनि ‘विश्वास अभाव’ को समस्या हो भन्ने स्पष्ट हुन्छ।
हालै भएको प्रतिनिधि सभा निवार्चन परिणामले लगानीकर्तामा आत्मविश्वास बढाएको छ त ?
शेयर बजारमा पछिल्लो समय देखिएको सकारात्मकताको एक प्रमुख कारण निर्वाचन परिणाम हो। निर्वाचन सम्पन्न हुनु र स्पष्ट जनादेश आउनुले लगानीकर्तामा विश्वास बढाएको छ।
निर्वाचनअघि देशमा निराशावादी धारणा बलियो थियो“यो देशमा केही हुँदैन”, “देश सकियो” भन्ने हल्लाहरू फैलिएका थिए। यहाँसम्म कि चुनाव नै हुँदैन भन्ने विश्लेषण गर्नेहरू पनि थिए। तर वास्तविकता फरक देखियो।निर्वाचन सम्पन्न भयो र एउटा पार्टीले झन्डै दुई तिहाइ बहुमतसमेत हासिल गर्यो।
यसले आम जनतामा आशा र विश्वासको भावना बढाएको छ। यद्यपि केही विश्लेषकहरू अझै पनि निराशावादी देखिन्छन्, तर आम लगानीकर्ताहरूको मनोबल भने सुधारिएको छ।
यही बढ्दो विश्वासका कारण नेप्से सूचकले पनि विस्तारै सकारात्मक गति लिन सुरु गरेको देखिन्छ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) नयाँ हो । माहाैल कस्तो बन्ला ? बजारले कस्तो प्रतिकृया जनाउला ?
शेयर बजारमा राजनीतिक अस्थिरताले प्रत्यक्ष प्रभाव पार्ने गर्छ। यस्तो अवस्थामा नकारात्मक सोच राख्ने केही व्यक्तिहरूले हरेक कुरालाई नकारात्मक रूपमा व्याख्या गर्ने प्रवृत्ति देखिन्छ। तर परिवर्तन वा कुनै पनि आन्दोलनमा केही न केही क्षति हुनु स्वाभाविक हो।
भदौ २३–२४ गते भएको जेनजी आन्दोलनपछि देश नै सकियो भन्ने हल्लासमेत चलेको थियो। तर वास्तविकता त्यस्तो देखिएन। नेपालको इतिहासमै चुनावी सरकारको समयमा पनि यति शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनु सकारात्मक पक्ष हो।
मेरो दृष्टिकोणमा २०४३ सालपछि यति शान्तिपूर्ण चुनाव विरलै देखिएको छ। यस निर्वाचनमा एउटा पनि बुथमा पुनः मतदान (रिपोल) गर्नुपरेन, जसले नेपाली समाज कति शान्तिप्रिय छ भन्ने स्पष्ट संकेत गर्छ।
यस्ता सकारात्मक संकेतहरूले दीर्घकालीन रूपमा शेयर बजारमा पनि विश्वास र स्थिरता बढाउन सहयोग पुर्याउने आधार तयार गर्छन्।
यस्तो अवस्थामा नेप्सेको भविष्य कसरी देख्न सकिन्छ ?
आन्दोलनका क्रममा भएको क्षतिले निजी क्षेत्र, विशेषगरी व्यापारीहरूमा केही त्रास सिर्जना गरेको थियो। तर अहिले बन्दै गरेको नयाँ सरकारप्रति धारणा फरक देखिन थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई डेमोक्रेटिक सोच भएको पार्टीका रूपमा हेरिएको छ। यस पार्टीका नेताहरू पढेलेखेका र स्पष्ट आर्थिक एजेन्डा भएका व्यक्तिहरू मानिन्छन्। रवि लामिछाने र स्वर्णिम वाग्ले जस्ता व्यक्तिहरूका अभिव्यक्तिहरूले बजारमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ।
यसलाई निजी क्षेत्रमैत्री र अर्थतन्त्र राम्रोसँग बुझेको टिमका रूपमा पनि हेरिएको छ। यही कारणले आम लगानीकर्ताहरू उत्साहित भएका छन् र बजारमा विश्वास विस्तारै बढ्दै गएको छ।
यदि उनीहरूले आफ्नो प्रतिबद्धता अनुसार काम गर्दै गए भने, आगामी दिनमा नेप्सेको भविष्य अझ सकारात्मक हुने अपेक्षा गर्न सकिन्छ।
अब बन्दै गरेको सरकारमाथि विश्वास नगर्ने तत्वहरु बजारमा देखिन्छन । त्यस्ताको विश्लेषणले बजारलाई असर गर्ला ?
हो, बजारमा दुवै सकारात्मक र नकारात्मक प्रवृत्ति देखिन्छन्। चुनावअघि, फागुनको पहिलो साता, नयाँ पार्टीको सरकार बन्यो भने नेप्से ५ सय अंकले घट्छ भन्ने नकारात्मक हल्ला फैलाइएको थियो।
तर म मेरो अनुमानमा विश्वास गर्दै नयाँ सरकार आएपछि बजार बढ्ने आशामा ऋण लिएर, ब्रोकरको उधारो लिएर शेयर किनें। नतिजा पनि अनुमान अनुसार आयो,निर्वाचनपछि खुलेको पहिलो कारोबार दिनमा नै बजार सर्किटमा रोकियो। त्यसपछिका कारोबार दिनहरू पनि सकारात्मक रहिरहेका छन्।
यसले देखाउँछ कि बजारमा लगानीको लागि विश्वास बढेको छ। शेयर बजारले अब बन्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई स्वागत गरिसकेको छ।
बिहीबारको बजारलाई नियालेर हेर्दा कारोबार रकम सहित सूचकमा उल्लेख्य वृद्धि भयो । विगतमा हाईड्रोपावर बढ्दा बैंक बढ्दैन थियो । तर लगानीकर्ता बैंकिङ र हाइड्रोपावर दुवै सेक्टरमा आकर्षित भए । यो कस्तो संकेत हो ?
बिहीबारको बजार वृद्धिले मुख्यतया अपेक्षा र भरोसामा आधारित थियो। पहिले ठूला लगानीकर्ताहरूले पैसा निकालेर शेयर बेच्ने गरेको अवस्था थियो। तर बुधबार, रवि लामिछाने ले रास्वपा का सांसदहरूलाई दिएको निर्देशन र उनका अभिव्यक्तिले लगानीकर्तामा विश्वास थपेको छ।
त्यसको परिणामस्वरूप बिहीबार बजारमा नयाँ पैसा प्रवेश भएको देखिएको छ। पहिले बैंकिङ र विकास बैंकको सेयर बेचेर मुख्यतः हाइड्रो क्षेत्रतर्फ लगानी हुने गरेको थियो। तर अहिले, सबै सेक्टरमा लगानीकर्ताको आकर्षण बढेको छ, जसले बजारमा नयाँ फन्ड प्रवेश भएको स्पष्ट संकेत दिएको छ।
शेयर बजारलाई अझ बलियो बनाउन नया बन्ने सरकारले के गर्नुपर्छ ?
सरकार प्रतिको आम विश्वासले शेयर बजारलाई हालको लेभलसम्म अर्थात् २६ सयदेखि ३ हजारसम्ममात्र पुर्याउन सक्छ। सूचकले नयाँ उच्चाइ बनाउनको लागि बजारमा ठुलो पैसा भित्रिनु आवश्यक हुन्छ। नेपालमा पैसा अभाव छैन, तर त्यो पूँजी अघिल्ला समयमा बजारमा प्रवेश गर्न सकेको थिएन।
अघिल्लो समयमा आम लगानीकर्ताको विश्वास पनि घट्दै गइरहेको थियो। तर अहिले नयाँ सरकारप्रति लगानीकर्ताहरूको विश्वास बढ्न थालेको छ। अब अर्बपतिहरू र संस्थागत लगानीकर्ताहरूबाट ठूलो रकम बजारमा आउन सक्ने अवस्था बनेको छ।
बजारले लगानीकर्ताको वातावरण र आम लगानीकर्ताको विश्वास पर्खिरहेको छ। जब सूचक ३२ सयको विन्दु नाघ्छ, तब लगानीकर्ताहरू सक्रिय हुने सम्भावना बढ्छ। यदि सरकार र अर्थमन्त्रीले ठूला उद्योगपति र लगानीकर्तालाई नयाँ सरकारले लगानीको सुरक्षा सुनिश्चित गर्ने र कमाउने वातावरण बनाउने सुनिश्चित गर्न सके, बजारको उचाई अझ धेरै माथि जाने अपेक्षा गर्न सकिन्छ।
पुँजी बजार विस्तारित गर्न सरकारले अरु था के सुधार चाहिन्छ ?
पूँजी बजारमा सुधार गर्नपर्ने धेरै कुराहरु छन् । विगत १० वर्षदेखिका मागहरु अझै पुरा भएका छैनन् । धितोपत्र बोर्डको संरचनामा सुधार चाहिन्छ । नेप्सेको पुनर्संरचना र नयाँ प्रविधिको विकास हुनुपर्छ । दोस्रो बजारमा कारोबार गर्ने कारोबारीहरुको लागि विकल्प कम छ । अन्य औजारहरु ल्याउने वातावरण गराउनु पर्छ । अहिले हाइड्रो बेचेर बैंक किन्ने, बैंक बेचेर उत्पादनमुलक कम्पनी किन्ने बाहेक केही छैन । लगानीकर्ताले लगानीको क्षेत्रहरु खेाजेका छन । डेरिभेटिभ मार्केट,गोल्ड, सिल्भर र क्रुड आयल लगायतमा पनि लगानी गर्ने वातावरण बनाउनु पर्ने हुन्छ । सबै भन्दा पहिले अहिलेको नियामक निकाय नेपाल धितोपत्र बोडलाई सुधारेर अघि बढ्नुपर्छ ।