प्राधिकरणले फिक्स्ड विङ (जहाज) तर्फ डाँफे एयरलाइन्स र रोटर विङ (हेलिकोप्टर) तर्फ सगरमाथा हेलिकोप्टर तथा हेली नेपाललाई 'नो अब्जेक्शन सर्टिफिकेट' (एनओसी) दिएको हो । यो अनुमतिसँगै अब मुलुकको घरेलु हवाई बजारमा प्रतिस्पर्धीको सङ्ख्या थपिने भएको छ । हाल आन्तरिक उडानमा ७ जहाज र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् ।
प्राधिकरणका अनुसार एनओसी सेवा सञ्चालनको प्रारम्भिक चरण मात्र हो। एनओसी पाएपछि कम्पनीहरूले जहाज वा हेलिकोप्टर अर्डर गर्ने बाटो खुल्छ। अनुमति पाएको एक वर्षभित्र उनीहरूले सेवा सञ्चालनमा ल्याउनुपर्ने व्यवस्था छ। नियमित उडान सुरु गर्न यी कम्पनीहरूले अझै ५ चरणको कडा नियामयकीय प्रक्रिया पूरा गर्नुपर्नेछ। अन्तिम प्रमाणीकरणपछि मात्र उनीहरूले 'एयर अपरेटर सर्टिफिकेट' (एओसी) प्राप्त गर्नेछन् ।

नयाँ अनुमति पाएको डाँफे एयरलाइन्सले एटीआर ७२–६०० सिरिजका ३ ओटा जहाजबाट सेवा सुरु गर्ने तयारी गरेको छ । पछिल्लो समय नेपाली आकाशमा एटीआर जहाजप्रति सेवा प्रदायकको झुकाव बढ्दो देखिएकाले डाँफेले पनि सोही मोडेल रोजेको हो ।
हेलिकोप्टरतर्फ सगरमाथा हेलिकोप्टरले एयरबसको एएस–३५० मोडलका ३ ओटा हेलिकोप्टर ल्याउने योजना बनाएको छ भने हेली नेपालले एयरबसकै एउटा हेलिकोप्टर ल्याउने तयारी गरेको छ । विशेष गरी चार्टर, उद्धार र पर्यटकीय उडानमा केन्द्रित हुने गरी यी कम्पनीले अनुमति लिएका हुन् ।
नयाँ कम्पनीहरू थपिँदै गर्दा आन्तरिक हवाई बजारको तथ्याङ्क भने उत्साहजनक छैन । सन् २०२५ मा आन्तरिक उडान गर्ने यात्रुको सङ्ख्या ४५ लाख ६० हजार पुगे पनि वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा मात्र २.२० प्रतिशत छ । सन् २०२४ मा ७.७२ प्रतिशत रहेको वृद्धिदर २०२५ मा आउँदा एकल अंकमा खुम्चिएको हो । विमानस्थलको सीमित क्षमता, पर्यटकीय आगमनमा देखिएको सुस्ती र तराई क्षेत्रमा हुने वायु प्रदूषणका कारण उडान प्रभावित हुँदा वृद्धिदरमा धक्का लागेको प्राधिकरणको विश्लेषण छ ।
बजारमा अग्रणी रहेको बुद्ध एयरले २०२५ मा २५ लाख ६३ हजार यात्रु बोकेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३.२२ प्रतिशतले कम हो। यता यती एयरलाइन्सले ६.१४ प्रतिशत वृद्धिसहित १० लाख ९ हजार यात्रु उडाउँदै १० लाखको सीमा पार गरेको छ। श्री एयरलाइन्सले भने आक्रामक २५.३६ प्रतिशत वृद्धिसहित ८ लाख ७० हजार यात्रु बोकेको छ। दुर्गम रुटमा समिट एयर र तारा एयरको यात्रु सङ्ख्यामा पनि सुधार देखिएको छ। समिटले झन्डै ५० प्रतिशतको वृद्धि हासिल गर्दा तारा एयरको यात्रु सङ्ख्या १३.४९ प्रतिशतले बढेको छ ।
नयाँ कम्पनीको प्रवेशलाई लिएर हवाई क्षेत्रका सञ्चालकहरूबिच दुई थरी धारणा देखिएको छ। यती एयरलाइन्सका प्रवक्ताका अनुसार खुला बजारमा नयाँ कम्पनी आउनुलाई सकारात्मक हो। जसले राम्रो सेवा दिन्छ, उसैले बजार लिने हो, प्रतिस्पर्धाले सेवाको गुणस्तर बढाउँछ।
तर, वायुसेवा सञ्चालक संघका अनुसार नेपाली आकाशमा 'ओभर सप्लाई' (मागभन्दा बढी जहाज) भइसकेको छ। नयाँ कम्पनी थपिनु सङ्कटको सङ्केत हो। अहिले नै धेरै कम्पनीहरू संकटोन्मुख छन्। सडक यातायातको स्तरोन्नति भइरहेका बेला नयाँ जहाज थप्नु भनेको जोखिम निम्त्याउनु हो। अहिले नेपाली हवाई कम्पनीहरूले न्यूनतम भाडामै उडान भर्नुपरेको र नयाँ सेक्टरहरू नखुलेका कारण लगानी जोखिममा पर्न सक्ने उसको चेतावनी छ।