वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य रहेको बताएका छन्। विमान अमेरिकी निर्मित सी–१३० हर्कुलस थियो, जुन सेना ढुवानीका लागि प्रयोग गरिन्थ्यो।
बीबीसी हिन्दीका अनुसार, पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको हो। त्यहाँ पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्।
रक्षामन्त्री पेड्रो सान्चेजले लकहिड मार्टिन हर्कुलस सी–१३० यातायात विमान सुरक्षा बलका सैनिकहरू बोकेर प्यूर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा दुखद दुर्घटनामा परेको बताएका छन्। उनले पेरुभियन सीमाना नजिकै भएको घटनालाई ‘देशका लागि धेरै दुःखद दिन’ भनेका छन्। विमानमा आगलागीका कारण भित्र भण्डारण गरिएको गोलाबारुद पनि विस्फोट भएको छ।
स्थानीय मिडियाले स्थानीय बासिन्दाहरूले घाइते सैनिकहरूलाई दुर्घटना स्थलबाट साना मोटरसाइकलमा अस्पताल पुर्याएको पनि देखाएका छन्। राष्ट्रपति गुस्ताभो प्योर्टोले एक्समा भनेका छन्, ‘यो भयानक दुर्घटना हुनुहुँदैनथ्यो।’
आफ्नो लामो पोस्टमा उनले सशस्त्र बलका उपकरण र विमानलाई आधुनिकीकरण गर्ने आफ्नो योजनामा ढिलाइ हुनुमा ‘नोकरशाही समस्याहरू’ लाई पनि दोष दिएका छन्।