अमेरिकी डलर बलियो बन्दा सुनको मूल्यमा फेरि पहिरो, लगानीकर्ताहरू नाफा सुरक्षित गर्दै

Mar 24, 2026 03:29 PM merolagani



ली यिङ शान(सिएनबिसि)

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ। जसले गर्दा सुन बजारको पछिल्लो शिथिलता अझ गहिरो बनेको छ। अमेरिकी डलरको विनिमय दर बलियो हुनु र ट्रेजरीको प्रतिफलमा वृद्धि हुनुले लगानीकर्ताहरूका बिच पहेँलो धातुको आकर्षण घटाएको हो।

तथ्याङ्कअनुसार 'स्पट गोल्ड' (तत्काल खरिद-बिक्री हुने सुन) को मूल्य २ प्रतिशतले घटेर प्रति औंस ४ हजार ३ सय ३५ डलर ९७ सेन्टमा कारोबार भएको थियो।

यस्तै, अप्रिल महिनामा हस्तान्तरण हुने सुनको 'फ्युचर्स' (भाका) कारोबार अन्तिम पटक १ प्रतिशतभन्दा बढीले घटेर प्रति औंस ४ हजार ३ सय ५८ डलर ८० सेन्टमा पुगेको थियो। चाँदीको मूल्यमा पनि ठुलो गिरावट देखिएको छ। 'स्पट सिल्भर' ३ प्रतिशतभन्दा बढीले घटेर प्रति औंस ६६ डलर ९३ सेन्टमा पुगेको थियो भने 'फ्युचर्स' कारोबार २ दशमलव ६१ प्रतिशतले घटेर ६७ डलर ५४ सेन्टमा झरेको थियो।

अमेरिकी मुद्राको शक्ति मापन गर्ने 'डलर इन्डेक्स' मंगलबार शून्य दशमलव ५ प्रतिशतले बढेको थियो। डलर बलियो हुँदा अन्य मुद्रामार्फत सुन खरिद गर्ने लगानीकर्ताका लागि डलरमा मूल्य तोकिएको 'बुलियन' (सुनचाँदी) महँगो पर्न जान्छ। जसले गर्दा यसको माग र आकर्षण कम हुन्छ। गत जनवरीको अन्त्यमा प्रति औंस ५ हजार ५ सय ९४ डलर ८२ सेन्टको कीर्तिमानी उचाइमा पुगेको सुनको मूल्य त्यसयता २२ प्रतिशतभन्दा बढीले घटिसकेको छ। गत हप्ता मात्रै सुनको मूल्य करिब १० प्रतिशतले घटेको थियो। जुन सेप्टेम्बर २०११ पछिकै सबैभन्दा खराब साप्ताहिक प्रदर्शन हो। अर्कोतर्फ, युद्ध सुरु भएदेखि डलर सूचकाङ्क करिब ३ प्रतिशतले बलियो भएको छ।

बजार पर्यवेक्षकहरूका अनुसार यो गिरावटमा समष्टिगत आर्थिक सूचक र लगानीकर्ताहरूको रणनीतिले मुख्य भूमिका खेलेको छ। 'स्ट्यान्डर्ड चार्टर्ड' का वरिष्ठ लगानी रणनीतिकार रजत भट्टाचार्यले इमेलमार्फत जानकारी दिएअनुसार इरानसँगको द्वन्द्वको सुरुवातमा सुरक्षित लगानीका रूपमा सुनको माग बढे पनि अहिले त्यो क्रम उल्टिएको छ। उनी भन्छन्, "बजारमा तनाव बढ्दा लगानीकर्ताहरूले 'मार्जिन कल' (थप धरौटीको माग) तिर्न वा सम्भव भएसम्म नाफा सुरक्षित गर्न सुन बेचेर नगद संकलन गर्ने गर्छन्। डलरको हालको मजबुतीले पनि सुनको मागमा दबाब थपेको छ।"

लगानीकर्ताहरूले अमेरिकी केन्द्रीय बैंक 'फेडरल रिजर्भ' को आगामी मौद्रिक नीतिको पनि पुनर्मुल्याङ्कन गरिरहेका छन्। लगातारको मुद्रास्फीतिले गर्दा ब्याजदरमा सोचेजस्तो ठुलो कटौती हुने सम्भावना कम हुँदै गएको छ। जसले ट्रेजरीको प्रतिफललाई उच्च राखेको छ। १० वर्षे ट्रेजरीको प्रतिफल मंगलबार ५ 'आधार बिन्दु' ले बढेर ४ दशमलव ३८४ प्रतिशत पुगेको छ। ब्याज नआउने सुनभन्दा ट्रेजरीको प्रतिफल बढ्नुले सुनको आकर्षण कम गरिदिएको हो।

'ईटोरो' का बजार विश्लेषक जाभियर वोङका अनुसार सुनको मूल्य गत वर्ष ६४ प्रतिशतभन्दा बढीले बढेको थियो, त्यसैले अहिलेको गिरावटलाई 'स्वाभाविक सुधार' (करेक्सन) का रूपमा लिन सकिन्छ। उनी भन्छन्, "सुनको हालैको उच्च वृद्धि मूल्यवृद्धिका कारण मात्र नभई डलर सञ्चितिबाट विविधीकरण गर्ने केन्द्रीय बैंकहरूको नीतिका कारण भएको थियो। लामो वृद्धिपछि केही नाफा सुरक्षित गर्न सुन बिक्री हुनु (पोजिसन अनवाइन्डिङ) अपरिहार्य थियो।"

यद्यपि, दीर्घकालीन रूपमा भने विश्लेषकहरू सुनप्रति अझै आशावादी छन्। भूराजनीतिक जोखिम, वित्तीय चिन्ता र केन्द्रीय बैंकहरूको सुनप्रतिको निरन्तर माग जस्ता संरचनात्मक कारणले भविष्यमा सुनको मूल्य फेरि बढ्न सक्ने उनीहरूको तर्क छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।